झापामा झापा सुपर लिग : खेलाडी छनोट अक्सनमार्फत !

२०७८ चैत्र १ गते, मंगलवार

काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरकाे आयोजनामा बैशाख १ गतेदेखि ७ गतेसम्म चल्ने उक्त प्रतियोगिताकाे बिषयमा आज आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

उक्त प्रतियोगिता सञ्चालनकाे तयारीमा जुटेको आयोजकले प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै १२ लाखकाे हाराहारीमा खर्च निस्कने जानकारी दिँदै धेरै व्यवसायिक संस्था र निजी क्षेत्रहरूबाट प्रायोजनकाे आश्वासन पाएको र छिट्टै मुख्य प्रायोजक र अन्य प्रायोजककाे टुंगो लाग्ने जानकारी दिएको छ। प्रतियोगिता मेचीनगर -६ काकडभिट्टा स्थित काकडभिट्टा माविको खेलमैदानमा हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा खेलाडी छनोट अक्सन मार्फत हुने र अक्सनकाे अनलाइन फारम आज बेलुका ५ बजेपछि खुल्ने आयोजकले जानकारी दिएको छ। यो खालको प्रतियोगिता झापामा पहिलोपटक हुन लागेकाले केही कठिनाइ र चुनौतीहरू रहेकाे उल्लेख गर्दै सबै खेलप्रेमीहरूकाे साथ र सहयोगमा प्रतियोगिता सफल हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए।

उक्त प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन्, भने सहभागी ४ टिमकाे टुंगो लागिसकेको छ । प्रतियोगितामा प्रविण अग्रवाल मालिक रहेको धुलाबारी टाइगर्स , अर्पण राई मालिक रहेको भद्रपुर राइजिङ किङ्स, सुमन प्रसाईं मालिक रहेकाे विराट वारियर्स र सोभित बास्तोला मालिक रहेको बाेस्टन इगल्सकाे टुंगो लागिसकेको छ।

प्रतियोगितामा प्रत्येक टिमले प्रदेश स्तरका २ र राष्ट्रिय खेलाडी एकजना गरि ३ जना खेलाडी जिल्ला बाहिरको टिममा समावेश गर्न पाउनेछन् भने खेलाडी छनोटमा एउटा टिमले बढिमा ६० हजार रुपैयाँ सम्म खर्च गर्न पाउनेछन् । प्रतियोगिताका मार्कि प्लेयरलाई ५ देखि ८ हजार सम्मको बोली लगाउन पाइनेछ भने “A” लेबलकाे खेलाडीलाई ४ देखि ५ हजारसम्म , “बी” लेबललाई ३ हजारदेखि ४५०० सम्म र “सी” लेबललाई २ हजारदेखि ३५०० सम्म बोली लगाउन पाइनेछ । त्यस्तै प्रतियोगितामा इमेर्जिङ प्लेयरलाई १५०० देखि २५०० सम्मको बोली लगाउन पाउने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताकाे विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु. १ लाख ११ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिताकाे बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलकाे म्यान अफ द म्याचले नगद रु. २५०० प्राप्त गर्नेछन् । त्यस्तै दर्शकका लागि एकहातले छक्का क्याच गर्ने जो काेहिले १५०० रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समेत आउने र प्रतियोगिता भव्य हुने आयोजककाे विश्वास रहेको छ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय क्रिकेट टोलीका पुर्व खेलाडी तथा हालका सहायक प्रशिक्षक मनोज कटुवाल , जिल्ला क्रिकेट संघ झापाका अध्यक्ष प्रविण थापा , आयोजक लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विके , सहभागी टिमका मालिक लगायतको उपस्थिति रहेको थियोे । -प्रविण विद्रोही

प्रतिक्रियाहरु