नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान

२०७८ फाल्गुन २१ गते, शनिबार


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि आज श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलंका प्रस्थान गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।
श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्नेछन् । नेपालले सोमबार श्रीलंका नाभी, मंगलबार श्रीलंका नाभी, बिहीबार श्रीलंका पुलिस र शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्नेछन् ।
नेपालले सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्नेछ । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् । ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रियाहरु