हायात होटल बन्द

२०७६ असार ३ गते, मंगलवार

काठमाडौं, ३ असार । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै हायात होटल बन्द भएको जानकारी गराएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत् कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकरी गराएको हो । आन्दोलनरत कर्मचारीले तलव वृद्धि, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन, विदालगायतका सुविधा र भारतीय उच्च तहका कर्मचारीको ज्यादती अन्त्य हुनुपर्ने जस्ता माग राखेका थिए ।
कानूनले दिएको अधिकार पाउनु पर्ने र यसअघि भएका सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । आन्दोलनको पाँच दिन बित्दा पनि होटल व्यवस्थापन गम्भीर नभएको भन्दै कर्मचारीले उ समस्या लम्ब्याउने र आन्दोलनलाई नै बहाना बनाएर अर्कै उद्देश्यतर्फ लागेको त छैन ? भन्ने कर्मचारीको शंका छ । कर्मचारीले आन्दोलन थालेपछि होटलको सेवा ठप्प छ । सबै बुकिङ रद्द गरेको होटलले आफ्ना पाहुना दरबारमार्गस्थित याक एन्ड यतिमा सारेको छ ।
आन्दोलनरत समूह माग पूरा नभएसम्म पछाडि नहट्ने अडानमा छ । वार्तामा बसेपनि होटल व्यवस्थापन माग पूरा गर्ने गरी लचिलोरुपमा प्रस्तुत नभएको कर्मचारीको भनाइ छ । सरकारी जग्गा र शेयरमा जालझेल गरेको आरोप खेपिरहेको र त्यसबारे अनुसन्धान भइरहेको होटलको निजी साझेदार कर्मचारी आन्दोलनको बहानामा लागेका आरोप र जारी अनुसन्धानबाट भाग्न खोजेको त होइन भन्ने प्रश्न आन्दोलनरत पक्षले नै उठाउन थालेका छन् ।
कर्मचारी आन्दोलित भएको हायात त्यही होटल हो जसले सरकारी जग्गा हडपेको आरोप खेपिरहेको छ । नेपाल सरकारअन्तर्गतको तारागाउँ विकास समितिले २०४९ सालमा १ सय ५० रोपनी जग्गा हायात होटल बनाउन दिएको थियो । त्योसँगै वर्षमा ३० लाख रुपैयाँ सरकारले पाउने गरी १४८ रोपनी जग्गा भाडामा दिइएको थियो ।
प्रतिरोपनी १० लाखका हिसाबले जग्गाको १५ करोड र अन्य भौतिक संरचनाको थप २ करोड गरी कुल १७ करोड रुपैयाँ सरकारको लगानी मानिएको थियो । हायात होटलले भोगचलन गर्दै आएको सरकारी जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँमात्र हिसाब गर्दा पनि त्यसको बजार भाउ अहिले १२ अर्ब रुपैयाँभन्दा बढी हुन्छ । तर, सरकारले पाउने सेयरको बजार मूल्य भने १७ करोड रुपैयाँ मात्रै छ ।
व्यवस्थापन सम्हालेको निजी साझेदारले स्थापनाकालदेखि अहिलेसम्म होटलमा नाफा देखाएको छैन । सरकारले यसबाट एक पैसा पनि प्रतिफल पाएको छैन । सर्वसाधारण लगानीकर्ताले पनि केही पाएका छैनन् । सरकारी जग्गा र शेयर हिनामिनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तीब्र बनाएपछि निजी क्षेत्रका सञ्चालक राधेश्याम सर्राफ कर्मचारी आन्दोलनलाई निहुँ बनाएर होटल बन्द गरेर नेपाल छोड्ने तयारीमा त छैनन् ? आन्दोलनलाई मौकामा चौका हान्ने ‘अस्त्र’ बनाउन खोजिएको त होइन ? जस्ता प्रश्न आन्दोलनरत कर्मचारीले नै उठाएका छन् । र, यस्ता प्रश्नमा सरकार बेलैमा गम्भीर हुन जरुरी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु