नेपाली बालक ‘सारेगमप लिटिल च्याम्प’मा तहल्का मच्चाउँदै

२०७६ जेष्ठ २१ गते, मंगलवार

काठमाडौं, २१ जेठ । भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदै छन् । भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसीले तहल्का मच्चाउँदै आएका छन् । अडिसन राउन्डमा सहभागी २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेका उनीहरु अहिले फाइनल राउण्डमा प्रवेश गरेका छन् ।
सुरुआती चरणमा उत्कृष्ट ३० बाट पनि उत्कृष्ट हुँदै उनीहरु अहिले ‘टप सिक्स’ अर्थात फाइनल राउण्डमा प्रवेश गरेका हुन् । हिन्दी चलचित्रका गीतहरु प्रस्तुत गर्ने क्रममा निर्णायक मण्डलको शत प्रतिशत मन जित्न सफल हुँदै आएका प्रितम र आयुषको प्रस्तुति निकै नै दमदार रहँदै आएको छ ।
कहिले नेपाली राष्ट्रिय पोशाकमा त कहिले भारतीय पहिरनमा ठाँटिएर मञ्चमा पुग्ने उनीहरुको प्रस्तुतिले भारतीय निर्णायक मण्डलको मनमात्र जितेका छैनन्, सहभागी अन्य प्रतिभालाई समेत छायामा पारिदिने गरेका छन् । कुनै पनि गीत प्रस्तुत गर्दा देखिने आयुष केसीको शालिनता र प्रितम आचार्यको गीत अनुसारको हाउभाउले रियालिटी शोको छुट्टै पहिचान बनेको निर्णायक मण्डलहरुले बताउने गरेका छन् । त्यतिमात्र होइन, यिनीहरुले गाएको गीत सुनेर हिन्दी चलचित्रका प्रख्यात कलाकार ज्याकी श्राफ भावविह्वल बनेका थिए । १३ वर्षीय आयुष भक्तपुर निवासी हुन् भने सुनसरीको इटहरीका प्रितम आचार्य ११ वर्षका छन् । १६ वर्ष मुनिका बाल कलाकार सहभागी हुन पाउने प्रतियोगिताको अडिसन राउन्डमा अरु पनि नेपाली बालप्रतिभा सहभागी भएका थिए । तर, आयुष र प्रितम यसमा छानिएर टप फाइनल राउण्डमा पर्न सफल भएका हुन् । नेपालमा रियालिटी शो सुरशालाको जुनियर आइडल बनेका आयुष र उपविजेता बनेका प्रितमको लगाव संगीतमा रहँदै आएको छ ।
भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्पका विश्वभर करोडौं दर्शक छन् । यसअघि पनि भारतीय रियालिटी शोमा करोडौं दर्शकको मन जितेर सर्वोत्कृष्ट बन्न सफल भएका थिए । यसपटक पनि यी दुई नेपाली प्रतिभामध्ये एकले लिटिल च्याम्पको उपाधि उचाल्ने अपेक्षा आम नेपालीको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु