सुन तस्करीका ‘मुख्य’ अभियुक्त ‘गोरे’ समातिए

२०७५ जेष्ठ ८ गते, मंगलवार

काठमाडौं, ८ जेठ । गृह मन्त्रालयको विशेष छानबिन समितिले काठमाडौंबाट साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका मुख्य नाइके भनिएका ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाइ पक्राउ गरेको छ । उनलाई आज बिहान ५ बजेर ३४ मिनेटमा काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको छानबिन समितिले जनाएको छ । समितिले आजै गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गोरेलाई सार्वजनिक गरेको छ । सुन तस्करीका मुख्य अभियुक्त भनिएका गोरेलाई अदालतमा उपस्थित गराउन मोरङ लगिएको छ । छानबिन समितिका संयोजक ईश्वर पौडेलले गोरेलाई सूक्ष्म निगरानी गरी पक्राउ गरिएको जानकारी दिए । समितिले गोरेसँग प्रारम्भिक सोधपुछसमेत गरेको छ । त्यसक्रममा गोरेले सुन तस्करीमा संलग्न भएकाहरुबारेसमेत केही जानकारी दिएको समितिले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका कर्मचारी र प्रहरीसँग ‘सेटिङ’ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ । गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत लागेको छ । शाक्य हत्याको विस्तृत् अनुसन्धान गर्नेक्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो । सो प्रकरणमा विशेष समितिले यसअघि ३३ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ८ जना प्रहरी अधिकारी छन् । घटनामा संलग्न ३१ जना अझै फरार रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु