विवाहपञ्चमीमा राष्ट्रिय बिदा दिन माग

२०७४ बैशाख १२ गते, मंगलवार

काठमाडौं, १२ वैशाख । धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाहपञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ । जनकपुरधाममा मंगलबार बसेको सर्वपक्षीय भेलाले सो माग गर्दे जानकी नवमीलाई सरकारी र निजीस्तरबाट भव्य किसिमले मनाउनुपर्नेमा जोड दिएको छ । भेलाले ‘राष्ट्रिय विभूति सीताको जन्म र विवाहका दिनमा सरकारीस्तरबाट हालसम्म कुनै कार्यक्रम र सहयोग प्राप्त नभएका कारण जनकपुरधाम धार्मिक पर्यटकीय दृष्टिकोणले पछाडि परेकाले उक्त दुबै दिनमा सरकारीस्तरबाट पनि सहयोग र सहभागिताका लागि आग्रह’ गरेको छ ।
भेलाले यही वैशाख २१ गते हुने जानकी नवमी महोत्सव ९ दिनसम्म मनाउने निर्णय पनि गरेको छ ।
जानकी नवमीका अवसरमा बधाइगान, दूधमति शाही स्नान, जानकी जन्मोत्सव, शोभायात्रा, जानकी कथा प्रवचन, जानकी जन्मविवाह सांस्कृतिक कार्यक्रम, विशेष जानकी आरती, छठिहार र दीपोत्सव मनाउने निर्णय पनि गरिएको छ ।
भेलामा मान महन्त जगन्नाथ दास, जानकी मन्दिरका महन्त रामपतेश्वर दास, प्रजिअ दिलीप चापागाइँ, जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, संघ–संस्थाका प्रतिनिधि र सुरक्षाकर्मीले उत्सवलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सबैको सहयोगको आवश्यकतामा जोड दिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु