चुनावको मिति घोषणा गर्न माग

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं, २३ माघ । आजको संसद बैठकको शुन्य समयमा धारणा राख्दै सांसदहरुले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन् । सांसदहरुले नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरण भनेकै चुनाव गराउनु रहेको बताए । आगामी माघ ७ गतेभित्र तीन तहको चुनाव हुन नसके देशमा गम्भीर राजनीतिक र सम्वैधानिक संकट उत्पन्न हुने भन्दै उनीहरुले मिति घोषणा गरी चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन् ।
बैठकमा एमाले सांसद सीता गिरी ओलीले संसदबाट निर्वाचनसम्बन्धी कानून पारित भइसकेको अवस्थामा चुनावको मिति घोषणामा ढिलाई गर्न नहुने बताइन् । तत्काल चुनावको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ थियो । बैठकमा सांसद सफलदेव सुनुवारले स्थानीय निकायको चुनावको मिति घोषणामा भइरहेको ढिलाईले सरकारको नियतप्रति नै शंका गर्ने ठाउँ बनेको बताए ।
यस्तै, सांसदहरु हर्कबोल राई, सूर्यकुमार बाला राईलगायतले चुनावको मिति घोषणा गरी मुलुकलाई निकास दिन आग्रह गरे । आजको बैठकले बोनस र आकस्मिक कोष विधेयकलाई छलफलका लागि समितिमा पठाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरु