सरकार छलकपटमामात्रै केन्द्रित -ओली

२०७३ माघ २१ गते, शुक्रबार

काठमाडौं, २१ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमामात्रै केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर–१ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए । समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्दै उनले एमाले कुनैपनि हालतमा निर्वाचन पर धकेल्ने कुनैपनि गलत कार्यविरुद्ध जाइलाग्ने चेतावनी दिए ।
सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको उनको टिप्पणी थियो । उनले भने–‘सरकार हामीसँग निर्वाचन गर्ने भन्छ अनि मधेसीसँग संशोधन पास गरेरमात्र गर्ने भनेर दोहोरो चरित्र देखाएर विचित्ररुपमा प्रस्तुत् भएको छ ।’ निर्वाचन हुन नदिने सबै चालबाजीविरुद्ध एमाले जिम्मेवार ढंगले शसक्तरुपमा प्रस्तुत् हुने भन्दै अध्यक्ष ओलीले माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक संकट आउने दाबी गरे । ‘यस्तो असहज परिस्थतिलाई रोक्न एमालेले मेचीकाली राष्ट्रिय अभियान सन्चालन गर्न लागेको’ स्पस्ट पारे । कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नपरेको बताए । – रासस

प्रतिक्रियाहरु