केन्द्रीय प्रसारणलाइनमा ६ मेगावाट विद्युत् थपियो

२०७३ माघ ७ गते, शुक्रबार

काठमाडौ , ७ माघ । कावेली करिडोर १३२ केभी प्रसारणलाइनअन्तर्गत् फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । विहीबार साँझबाट केन्द्रीय प्रसारणलाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारणलाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
यसअघि, पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर गइरहेको थियो । १० मेगावाटमध्ये ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा थपिएको हो । झापाको दमकदेखि पाँचथर र ताप्लेजुङको सिमाना कावेलीको दुविचौरसम्म ९० किलोमिटर प्रसारणलाइन रहेको छ ।
त्यसअन्तर्गत् चारओटा सवस्टेसन रहेका छन् । फिदिमको थापाटारमा जोडिएको सवस्टेसनसँगै अहिलेसम्म तीनओटा स्टेसनको काम सकिएर केन्द्रीय प्रसारणलाइनमा जोडिसकिएको द्विवेदीले बताए । उक्त प्रसारणलाइनमा २५८ ओटा टावर निर्माण हुनेछन् । दमकदेखि गोदकसम्म ९५ ओटा टावर र गोदकदेखि अमरपुरसम्म ९५ ओटा टावर निर्माण भइसकेको छ । २०६७ जेठ १४ गतेबाटमात्रै आयोजनाको काम अघि बढेको हो । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु तीन अर्ब ५९ करोडको लागतमा सो आयोजनाको काम अगाडि बढाइएको हो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु