संविधान संंशोधन विधेयक संसदमा टेबल, एमाले हेरेकोहेरै

२०७३ पुष २४ गते, आईतवार

काठमाडौँ, २४ पुस । संविधान संंशोधन विधेयक व्यवस्थापिका संसदमा टेबल भएको छ । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच आज सो विधेयक संसदमा पेश भएको हो । आज संसद बैठक सुचारु भए लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो । संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे । तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् । विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत भएको घोषणा गरिन् । लगत्तै कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका छन् । संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
यसैबीच, व्यवस्थापिका संसदको आजको बैठकले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रतिक्रियाहरु