आज एमालेसहितका ९ दलले जनप्रदर्शन गर्ने

२०७३ पुष २२ गते, शुक्रबार

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल एमालेसहितका ९ दलले आज जनप्रदर्शन गर्ने भएका छन । संविधान कार्यान्वयन, तोकिएकै समयभित्र तीनै तहको निर्वाचन, संविधान संशोधन राष्ट्रिय हितविपरीत भइरहेको भन्दै राष्ट्रिय एकताका लागि सरकारलाई दबाब दिने उद्देश्यले जनप्रदर्शन तथा आमसभा गर्न लागिएको बताइएको छ । यस बिषयमा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा बिहीबार जारी विज्ञप्तिमा – ‘असंवैधानिक, राष्ट्र र जनविरोधी, सामाजिक सद्भाव र एकताविरुद्ध प्रस्तुत गरिएको संविधान संशोधन प्रस्तावलाई असफल पार्दै नेपाल राष्ट्र र नेपाली जनताको भविष्य सुनिश्चित गर्ने ध्येयले आयोजना गरिएको जनप्रदर्शनमा सहभागी भई जनताको सुदृढ एकता प्रदर्शनमा आम जनसमुदायमा अपिल गर्दछौं,’ भनिएको छ ।
आज विभिन्न ४० स्थानबाट जुलुस रत्नपार्क पुगी जनप्रदर्शन अपराह्न १ बजे संयुक्त रूपमा अघि बढाउने जनाइएको छ । जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हु“दै प्रदर्शनीमार्गमा सभामा परिणत हुने छ ।
त्यस्तै, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपालले पनि छुट्टाछुट्टै ठाउँमा -याली निकाल्दै प्रदर्शनीमार्ग पुग्नेछन् । -यालीपछि आयोजना हुने आमसभालाई ९ राजनीतिक दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रियाहरु