पत्रकार थपलिया प्रहरी नियन्त्रणमा

२०७३ मंसिर ८ गते, बुधबार

काठमाडौं, ८ मंसिर । सिरहाबाट प्रकाशित अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलियालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । गोलबजारस्थित अनुकल्प दैनिकको कार्यालयमा काम सकेर घर जाने क्रममा राति ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थपलियाका भाइ उद्धव थपलियाले बताए ।
प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले महानगरीय प्रहरी परिसर काठमाडौंको आदेशमा थपलियालाई पक्राउ गरिएको बताए । उनले के कारणले पक्राउ गरिएकाबारे आफूलाई जानकारी नभएको बताए । उनले आफूले महानगरीय प्रहरीको आदेशमा पक्राउ गरेकोले त्यही पठाउने बताए ।
थपलिया लगायतका पत्रकार मंगलबार दिनभरि इलाका प्रहरी लहान, गोलबजारमा समाचार संकलनमा रहँदा समेत पक्राउ नगरी राति पक्राउ गरेर पत्रकारहरुलाई समेत तर्साउन खोजेको हो । अनुकल्प दैनिकमा प्रहरी उपरीक्षक ज्ञवालीले जिल्लामा गरेको गलत कामको बारेमा लेख्दै आएकोले व्यक्तिगत रीसइबीका कारण दाइलाई फसाउन खोजिएको थपलियाका भाइ उद्धवले बताए । उनले राति ८ बजे नै पक्राउ गरे पनि रातभरि जिल्लाका पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दलका व्यक्तिलाई समेत प्रहरी उपरीक्षकले दाइलाई पक्राउ गरेको जानकारी नदिएकोले दाइ अपहरणमा परेको हुनसक्ने भनेर आफूहरु आतंकित भएको गुनासो पोखे ।
रातभरि स्थानीय पत्रकारहरुलाई पत्रकार थपलियालाई पक्राउ गरेको बारेमा प्रहरी उपरीक्षक ज्ञवालीले कुनै जानकारी दिएनन् तर प्रेस चौतारी नेपाल अध्यक्ष गणेश बस्नेतलाई अबेर राति प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी गराएपछि मात्रै जिल्लाका पत्रकारहरुलाई जानकारी प्राप्त भएको थियो ।
प्रहरी उपरीक्षक ज्ञवालीको सरुवा भइसकेको अवस्थामा दाइलाई पक्राउ आदेशको पत्र समेत नदिई पक्राउ गरेर कानूनको खिल्ली उडाएको गुनासो पोखे । पत्रिकाको काम सकेर शनिबार राती घर जानै लागेको समयमा इलाका प्रहरी कार्यालय गोलबजारले फोन गरेर पक्राउ गर्न खोजेका थिए ।
पत्रकार थपलियालाई रातिको समयमा गुण्डा शैलीमा पक्राउ गरी जिल्लाका पत्रकारहरुलाई तर्साउनुका साथै आतंकित पार्न खोजेकोप्रति एक्टिभ जर्नालिष्ट नेटवर्क सिरहा, प्रेस चौतारी र प्रेस युनियन सिरहाले विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । विज्ञप्तिमा पत्रकार थपलियालाई झुठा मुद्दा लगाई प्रहरी उपरीक्षक ज्ञवालीले व्यक्तिगत रीसइबी साध्न खोजेको कार्यको भत्र्सना गरेको छ । विज्ञप्तिमा पत्रकार थपलियालाई तत्काल रिहाइको माग गरेको छ । – देवनारायण साह, कान्तिपुर दैनिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु