‘ठग्न पाउँ भन्दै आन्दोलन !’

२०७३ आश्विन १२ गते, बुधबार

काठमाडौं, १२ असोज । वैशाखमा बा१ज १९०८ नम्बरको टयाक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएमएस पठाए । त्यसको केही दिनपछि सोही टयाक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुन: एक यात्रुले एसएमएस पठाए । एउटै टयाक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्‍यो ।
बा२ज १८२६ नम्बरको टयाक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो टयाक्सीका चालकलाई पनि तीनपटक कारबाही गर्‍यो । वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने टयाक्सी चालकमाथि प्रहरीले कारबाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ टयाक्सी चालक कारबाहीमा पर्ने गरेका छन् ।
तर, मंगलबार भने कुनै पनि टयाक्सी चालक कारबाहीमा परेनन् । किनभने, मंगलबार टयाक्सी चालकहरूले ट्राफिक प्रहरीले चलाएको कारबाही अभियानको विरोधमा टयाक्सी नै चलाएनन् । यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा नगई मोलमोलाई गर्ने र मिटर बिगार्नेलाई गरिएको कारबाहीमा विरोध गर्दै टयाक्सी जाम गरिएको हो । यो आन्दोलनले राजधानीका तीनकुने, सातदोबाटो, नक्साल, गोंगबु क्षेत्रमा यातायात प्रभावित भयो । टयाक्सी नचल्दा अस्पतालका बिरामी तथा विमानस्थल जाने/आउनेले बढी सास्ती भोग्नुपर्‍यो ।
उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले यात्रुलाई सहज तरिकाले गन्तव्यमा पुर्‍याउन अनुरोध गर्दा नमानेपछि कारबाही अभियान चलाएको बताउँछन् । ‘यो त ठग्न पाइएन भनेर गरेको आन्दोलन हो,’ उनले भने, ‘यात्रुलाई दु:ख नदेऊ, मिटर नबिगार, मिटरमा उठेको भाडा लेऊभन्दा आन्दोलन गर्ने कस्तो अचम्म ?’ जति आन्दोलन गरे पनि यात्रु ठग्नेलाई कडा कारबाही गर्ने उनले चेतावनी दिए । ‘नियम, कानुन नमान्नेमाथि कारबाही हुन्छ, यात्रुले गुनासो गरेपछि टुलुटुलु बस्ने कुरा हुँदैन,’ अर्यालले भने ।
उनले ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार मात्र भएको तर जरिवाना गर्न यातायात व्यवस्था विभाग पठाउने गरेको बताए । विभागले भने ऐनअनुसार ५ हजारसम्म जरिवाना गर्न सक्छ ।
टयाक्सी चालकको आन्दोलनले मंगलबार दिउँसो उपत्यकाको यातायात सेवा अस्तव्यस्त भएको उनले बताए । उनका अनुसार वैशाखयता मिटरमा जान नमान्ने, मिटर बिगार्ने २४ सय ६४ टयाक्सी चालकलाई कारबाही गरिएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी यात्रु ठग्ने चालकलाई नछाड्ने बताए । ‘व्यावसायिक तरिकाले आफ्नो व्यवसाय गरभन्दा बन्द गर्ने, यस्तो पनि हुन्छ ?’ उनले भने, ‘मनपरि भाडा असुल्नेलाई सरकारले कारबाही गर्छ ।’
काठमाडौं उपत्यकामा करिब ९ हजार टयाक्सी चल्छन् । मंगलबार दिनभर टयाक्सी चालकले आन्दोलन गरे पनि यो कसको नेतृत्व र आहवानमा भएको हो भन्ने थाहा नभएको टयाक्सी व्यवसायसम्बद्ध संगठनले बताएका छन् । टयाक्सी व्यवसायसम्बद्ध एक नेताले भने, ‘रिङरोडभित्र मिटरअनुसार टयाक्सी चलाउँ भन्ने हाम्रो पनि सुझाव थियो, तर मानेनन् अराजक शैलीले बन्द गरे ।’ – दीपेन्द्र विष्ट, कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु