बीपी कोइरालाको वैचारिक अवस्थिति – खेम थपलिया

२०७३ भाद्र २२ गते, बुधबार

नेपालको इतिहासमा एक समय नेपाली काङ्ग्रेस परम्परागत सत्तालाई पल्टाउन बल प्रयोग आवश्यक पर्ने कुरामा विश्वास गर्दथ्यो । त्यसैले उसले पूर्णसिंह खवासको नेतृत्वमा मुक्ति सेनाको गठन, बाबुकृष्ण शर्माको पहलमा आजाद हिन्द सेना निर्माण भयो । वीपी कोइरालाले पूर्वी कमान्डको राजनीतिक कमिसारियट गरेका थिए । वीपी कोइरालामा कम्युनिस्टविरुद्ध उग्र–चिन्तन रहेको देखिन्छ । यो उनको राजनतिक सङ्कीर्णताको उपज थियो । वीपी कोइरालाको सङ्कीर्णता र अदूरदर्शी यतिसम्म थियो कि उनले यहुदी जातिवादी राष्ट्र इजरायललाई समर्थन गर्न पुगेका थिए । वीपी कोइराला र उनको विचारधारात्मक परिस्थितिबारे नेपाली काङ्ग्रेसका बौद्धिक नेता प्रदीप गिरि भन्छन्– “यहाँ विदेशी तत्वहरू छन्, कम्युनिस्टहरू विदेशी तत्वका आधारमा खेलिरहेका छन् । मेरो विचारमा त्यो (वीपीको) स्वस्थ विश्लेषण थिएन । त्यसले अहिलेसम्म अस्वस्थता दिएको छ । काङ्ग्रेस–म्युनिस्ट झगडा त्यसले झन् चर्कायो । पछि गणेशमानले मत्थर पार्नुभयो । त्यसको कटु अहिले पनि बाँकी छ । वीपीले अतिशयोक्ति नै गर्नुभएको छ । इन्डोनेसियामा ऐडिटले गरेजस्तै कम्युनिस्टहरू यहाँ प्रवेश गरे भन्नुभएको छ । त्यो दुर्भाग्यपूर्ण हो । ऐडिट इन्डोनेसियाको समर्पित कम्युनिस्ट नेता थिए । उनको जीवनी आफैँमा प्रेरक छ । उहाँलाई (वीपी) कसले भन्यो वा हेर्नुभयो पङ्क्तिकारलाई थाहा छैन । यसलाई हामी राजनीतिक वक्तत्व भन्न सक्छौँ तर राजनीतिक मात्र होइन, एक प्रकारको गैर–जिम्मेवार वक्तत्व पनि भन्न सक्छौँ । यसले मुलुकलाई हामी हानी पु¥याएको छ” (कान्तिपुर दैनिक, ३ साउन, २०७१) ।
वास्तवमा कतिपय सवालमा वीपीको धारणा अमेरिकी पक्षधरताबाट प्रेरित रहेको देखिन्छ । यसलाई कतिपयले वीपीको कम्युनिस्ट विरोधी धारणाको प्रकटीकरणको रूपमा पनि लिने गरेका छन् । नेपाली काङ्गे्रस र राजाको सन्दर्भ तथा वीपीको मेलमिलाप नीतिको सन्दर्भमा उठेका कतिपय सवालमा केबी खड्काको यो भनाइ प्रस्तुत गर्न उपयुक्त हुन्छ– “वीपीको मेलमिलापलाई राजासँग मिलनको रूपमा कम्युनिस्टहरूले लिने गरेका छन् तर हामी कम्ुनिस्टहरूसित नमिलेको सही हो” (२०७१ ः ६ अन्नपूर्ण दैनिक) ।
यतिखेर नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताहरू वीपी स्मृति दिवस एवम् वीपी कोइराला जन्म शताब्दी दिवस मनाइरहेका छन् । यसै सन्दर्भमा कतिपय राजतन्त्रका पक्षधर विश्लेषकहरूले वीपी कोइरालालाई राजावादीका रूपमा वकालत गर्न थालेका छन् । वीपी कोइराला अहिलेसम्म जीवित रहेका भए उनी गणतन्त्रवादी बन्ने थिए या संवैधानिक राजतन्त्रकै पक्षमा वकालत गरिरहन्थे ? यो कुराको अनुमान लगाउनु सहज छैन तर वीपीको मूल्याङ्कनका सन्दर्भमा यो विषय प्रश्न अहिले पेचिलो बनेर अगाडि आएको छ । तीसको दशकमा वीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय मेलमिलापको नीति’ लाई लिएर कतिपय राजतन्त्रका पक्षपातीहरू उनको प्रशंसा गर्दैछन् । वीपीले ‘राजाको मेरो घाँटी जोडिएको छ’ भनेर राष्ट्रिय मेलमिलापको नीति लिएका बेला बोलेको विषयलाई राजावादीहरूले सापटी लिने गरेका छन् ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काङ्ग्रेस गणतान्त्रिक भएको छ । राजतन्त्रको वकालत गर्नेहरूले यतिबेला वीपी कोइरालालाई आदर्श बताउँदै काङ्ग्रेसलाई सराप्ने नीति लिएको देखिन्छ । महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०१८÷०१९ सालमा नेपाली काङ्ग्रेसले हतियारबद्ध सशस्त्र सङ्घर्ष थाल्यो । २०३३ सालको मेलमिलापको नीति लिनुभन्दा अघिसम्म वीपीको राजतन्त्रविरुद्ध सशस्त्र सङ्घर्षको लाइन थियो । पछि पक्राउ परेर मृत्युदण्डको सजाय सुनाउने तयारी हुँदा वीपीले सशस्त्र सङ्घर्षको नैतिक जिम्मेवारीसमेत आफैँले लिएका थिए । वीपी कोइरालाकै नेतृत्वका रहेको नेपाली काङ्ग्रेसका कार्यकर्ताले विराटनगर, जनकपुरलगायतका सहरमा तत्कालीन राजामाथि बम प्रहार गरेर मार्ने प्रयास पनि गरेकै हुन् । यसक्रममा भीमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा, सरोज कोइरालालगायतका सहिदहरूको बलिदानी यसको अचूक प्रमाण हो । अनलाइन खबरमा पत्रकार अरूण बरालको टिप्पणी छ– “वीपी कोइराला बाँचेका भए, उनी अहिले गणतन्त्रवादी हुन्थे या राजासँग घाँटी जोडेरै बस्ने थिए ? राष्ट्रिय मेलमिलापको सन्दर्भमा उनले त्यतिबेला बोलेको विषय र राजाविरुद्ध बम पड्काउनसम्म तयार रहने उनको चलायमान व्यक्तित्व दुबैलाई विश्लेषण गरेपछि मात्रै अनुमान लगाउन सकिनेछ कि उनले बाँचेको भए के गर्ने थिए । जीवनभर उनको लगाव र निष्ठा कतातिर थियो, पूर्ण लोकतन्त्रतर्फ थियो या राजासँगको सौदाबाजीतर्फ केन्द्रित थियो ? यसको विश्लेषण जरुरी छ ।”
वीपी कोरालाको आदर्शबारे कुरा खोतल्दै उनका छोरा प्रकाश कोइराला भन्छन्– “वीपीको राजनीतिक धारमा अहिले नेपाली काङ्ग्रेस छैन । काङ्ग्रेससँग राष्ट्रियता छैन, प्रजातन्त्र मात्रै छ । उसले वीपीको नाम व्यर्थमा लिइरहेको छ । वीपीले राष्ट्रियता र प्रजातन्त्रलाई बयलगाडाका दुई पाङ्ग्रा बताएका थिए । मुलुक पहिले जोगाउनुपर्छ, त्यसपछि मात्रै व्यवस्था आउँछ भनेका थिए । अहिले काङ्ग्रेसले यो नीतिबाट यु टर्न लिएको छ”, (अनलाइन खबर, ६ साउन, २०७१) ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि वीपीबारे यसो भन्छन्– “वीपीले लिएको राष्ट्रियता र प्रजातन्त्रको नीति अहिले झन् सान्दर्भिक देखिएको छ । हामीले लोकतन्त्रलाई मात्रै जोड दिइराखेका छौँ । राष्ट्रियतालाई राजासँग जोडिराखेका छौँ । राजा आफैँ गएका हुन्, राजाले बुझिदिएको भए अहिलेको परिस्थिति आउने थिएन । राजाले समयको मागलाई बुझ्न सकेनन् । जहाँको राजतन्त्रले जनताको भावना बुझ्यो, त्यहाँ राजतन्त्र टिक्यो, जहाँका राजाले जनताको अधिकार आफूले लिन खोजे, त्यहाँ राजतन्त्र ढल्यो । राजाले बुझिदिएको भए नेपालमा यो परिस्थिति आउने थिएन । पटक–पटक छलफल गर्दा पनि राजाले गिरिजाबाबुलाई विश्वास नगरेपछि बाध्य भएर यो परिस्थिति आएको हो । राष्ट्रियतालाई राजासँग जोडेर हेर्नु गलत हो । राष्ट्रियतालाई राजासँग जोड्नु सान्दर्भिक हुँदैन” (अनलाइन खबर, ६ साउन, २०७१) ।
वीपी कोइरालाको आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणअनुसार उनका उत्तराधिकारीले काम गरिरहेका छैनन् । वीपीमा अलग अलग विचार थिए । गहिरिएर अध्ययन गर्दै उनको विचार परस्पर विरोधी रहेको पाइन्छ । वीपी कोइरालाका समग्र जीवनलाई हेर्दा उनमा चार प्रकारका विचार रहेको पाउन सक्छौँ । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिले एक ठाउँमा भनेका छन्– “वीपी कोइरालाको २००७ सालअघिको विचार, २००७ सालपछिको विचार, २०१७ सालपछिको विचार र मेलमिलाप नीति अँगालेपछिको विचार ।” गिरिले यो विश्लेषण मार्मिक रहेको छ । उनको यो विश्लेषणको गहिरो अर्थ छ । वास्तवमा वीपीको विचारमा खास परिस्थितिमा खास परिवर्तन आएको पाइन्छ । यसले वीपीमा वैचारिक तरलता रहेको पुष्टि गर्दछ ।
नेपाली राष्ट्रिय काङ्ग्रेसको उद्घाटन भाषणमा वीपीले भनेका थिए– “के राजनीतिक, के भौतिक, के सांस्कृतिक दृष्टिकोणले नेपाल भारतको अभिन्न अङ्ग हो ।” यो सन्दर्भले धेरै पछिसम्म पनि उनलाई भारतीय दलाल भन्ने आधार बनाइरह्यो । त्यति मात्र होइन, वीपी कोइरालाले हिन्दुस्तानको परिचय–पत्र लिएर विदेश भ्रमण गरेका थिए । यो कुरालाई उनी स्वयम्ले कमजोरी भएको स्वीकार गरेका थिए । साथै, भारतमा बस्दा उनको हिमचिम भारतविरोधीहरूसित थियो भन्ने कुरालाई विभिन्न बुद्धिजीवीहरूले लेख्ने र बोल्ने गरेका छन् । यो सन्दर्भले वीपी कोइराला वैचारिक परिस्थितिबारे गम्भीर प्रश्न उठाइदिएको छ । इन्दिरा गान्धीका प्रतिनिधि बनेर भारतीय पूर्व विदेश सचिव रसगोत्राले वीपी कोइरालालाई भनेका थिए– “तपाईं बिहार र उत्तरप्रदेशमा बसेर सरी गतिविधि गर्न पाउनुहुन्न । कि नेपाल फर्कनुस् कि दक्षिण भारतका कुनै सहरमा जानुस् ।” त्यसपछि उनी नेपाल फर्किएर भने– “मुलुकलाई दक्षिणबाट खतरा छ ।” वीपी कोइरालाले रुसलाई पनि नामै किटेर गाली गरेका थिए । यसले उनको कमजोर कूटनीतिपनको छनक दिएको छ ।
कुनै पनि वर्गका निम्ति विचार केन्द्रीय प्रश्न हो । मानिसहरू क्रान्तिकारी पक्षले मात्र विचारको कुरा गर्दछन् भनेर टिप्पणी गरेको सुनिन्छ । यो कुरा गलत हो । विचारको हिसाबले तुलनात्मक रूपमा पुँजीवादीहरू झन् धेरै प्रतिबद्ध रहेका देखिन्छन् । जनयुद्धको दमनमा नेपालका दलहरू (नेपाल काङ्ग्रेसलगायत) कसरी लागेका थिए भन्ने कुरा नै काफी छैन र ? आफ्नो वर्गको विचारको रक्षाको प्रश्नमा वीपी कोइराला निकै सचेत देखिन्छन् । त्यही सचेतनाको आलोकमा वीपी कोइरालाको वैचारिक परिस्थिति अन्तर्घुलित भएर आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु