जो अगुवा उही बाटो… चरितार्थ नगर

२०७३ भाद्र १८ गते, शनिबार

देश अस्तव्यस्त छ । संविधान जारी भएको छ, कार्यावयन हुन सकिरहेको छैन । भूकम्प र बाढीपीडित खुला आकाशमुनि रात काट्न बाध्य छन् । महँगी, कालोबजारी, अनियमितता र भ्रष्टाचारले सीमा नाघेको छ । तर, देशका प्रमुख दल, नेता र सरकार गम्भीर बन्न सकेको छैन । जनता साँझ–बिहान हातमुख जोड्न नसकेर हैरान छन् । एउटा सिटामोल नपाएर, एक प्याकेट जीवनजल नपाएर जनता अकालमा ज्यान गुमाउन बाध्य छन् । तर, देशका ठूलाबडा नेताहरु यस्तो विषयलाई नजरबन्दाज गरेर मोजमस्ती र राजश्री ठाँट गरिरहेका छन् । यो लाजमर्दो र दुःखद् विषय हो । जनताको यस्तो दयनीय स्थिति हुँदाहुँदै पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत वरिष्ठ नेताहरुले उपचारको नाममा करोडौँ रुपैयाँ स्वाहा पार्नु लाजमर्दो विषय हो । नेताहरु त नमुना हुनुपर्ने हो । उनीहरुको जीवनशैली देखेर जनताले त्यसको अनुशरण गर्नुपर्ने हो । नेताहरु त आदर्श व्यक्ति बन्नुपर्ने हो तर नेपालका नेताहरुको कार्यशैली र जीवनशैली हेरेर लाज मान्नुपर्ने स्थिति छ । राजनीतिक दल र नेताभन्दा जनताहरु आक्रोशित बन्ने स्थिति आएको छ । आखिर किन यस्तो भयो ? यो देश प्रमुख दल र आपूmलाई राजनेताको दर्जामा उभ्याउन खोज्नेहरुले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । त्यसैले राजनीतिक दल, शीर्ष नेताहरुले ‘जो अगुवा उही बाटो….’ भन्ने उखान चरितार्थ हुने गरी कार्य गर्न तत्काल बन्द गर्नुपर्छ । अन्यथा जनता जाग्ने छन् । जनता जागे के हुन्छ त्यो वर्तमान राजनीतिक दल र आपूलाई राजनेताको दर्जामा प्रस्तुत गर्न खोज्नेहरुलाई सिकाइरहनु नपर्ला ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु