१२ उद्योगले उत्पादन गरेको तेल खान अयोग्य

२०७३ भाद्र १ गते, बुधबार

काठमाडौं, १ भदौ । देशमा विभिन्न स्थानमा रहेका १२ वटा उद्योगले मानवस्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल उत्पादन गरेको पाइएको छ । मानव स्वास्थ्यलाई हानि पुर्‌याउने गरी दूषित खानेतेल उत्पादन गरेको अभियोगमा सरकारले ती उद्योगविरुद्ध गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा कुल दुई सय ६ वटा मुद्दा दायर भएकोमा सबैभन्दा बढी खानेतेलसम्बन्धी छन् । विभिन्न प्रकारको मिसावट गरेर उत्पादन गरिएका यस्ता खानेतेलको उपभोग गर्दा मानवस्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने सम्भावना हुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले यस्ता तेलको प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्‍बन्धी रोग लाग्न सक्ने जानकारी दिए । ‘यस बाहेक तेलमा पाइने प्रतिकूल तत्वले अन्य विभिन्न प्रकारका घातक रोग लाग्न सहयोगी भूमिकासमेत खेल्ने गर्छ’, महानिर्देशक कर्णले भने, ‘निकै पुरानो तेलमा यस्ता समस्या देखिनेगर्छ ।’
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार गुणस्तरहीन खाने तेल उत्पादन गर्ने बारास्थित नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिजविरुद्ध सबैभन्दा बढी मुद्दा दायर गरिएको छ । यो उद्योगविरुद्ध क्षेत्रीय कार्यालय हेटौंडाले २०७२ चैत २६ गते १६ वटा मुद्दा दायर गरेको थियो । यसैगरी सोही दिन वनस्पति घिउविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ । उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको हो ।
प्रवक्ता वस्तीका अनुसार महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर र सनफ्लावर तेलमा भटमास र पामोलिन तेल मिसाएर बिक्री गर्ने गम्भीर प्रकृतिका समस्या देखिएका छन् । मापदण्डअनुसार तेलमा उपस्थित हुनु पर्ने तत्व पनि निकै कम र मापदण्ड विपरीत अत्यधिक परिमाणमा भेटिएका छन् ।
रिफाइन गरिएका तेलमा ०.५ भन्दा कम एसिडको भ्यालु हुनुपर्छ । यसैगरी पेरोअक्साइडको भ्यालु पनि १० मा हुनुपर्छ । ‘तर एसिड र पेरोअक्साइडको भ्यालु कुनैमा निकै कम र कुनैमा अत्यधिक परिमाणमा भेटियो’, वस्तीले भने, ‘खानै नहुने अवस्थामा तेल भेटिएपछि मुद्दा दायर गरेका छौं ।’ मुद्दा दायर गरिए पनि जुन ब्याचको अयोग्य मानिएको छ, ब्याचको उत्पादन बजारमा बिक्री हुन नदिन भने विभागले खासै चासो नदेखाएका कारण आमउपभोक्ता कमसल खानेतेल सेवन गर्न बाध्य छन् ।
मानव स्वास्थ्यलाई हानि पुर्‌याउने गरी दूषित खानेतेल उत्पादन गरेको अभियोगमा सरकारले ती उद्योगविरुद्ध गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार गुणस्तरहीन तेल उत्पादन गर्ने उद्योगका रूपमा दोस्रो नम्बरमा सीमरास्थित गणपति वनस्पति प्राइभेट लिमिटेड परेको छ । उद्योगले उत्पादन गरेको खानेतेलविरुद्ध २०७२ फागुन २० मा सातवटा मुद्दा दायर भएको छ । सोही मितिमा यस उद्योगबाट उत्पादन हुने वनस्पति घिउविरुद्ध क्षेत्रीय कार्यालय हेटौंडाले तीनवटा मुद्दा दायर गरेको छ । क्षेत्रीय कार्यालय हेटौंडाले नै बारास्थित कृष्ण आयल एन्ड रिफाइनरीद्वारा उत्पादन भएको तेलविरुद्ध एक र वनस्पति घिउविरुद्ध एकैदिन ६ वटा मुद्दा दायर गरेको छ ।
यसैगरी बारास्थित त्रिवेणी दाल एन्ड आयल इन्डस्ट्रिजविरुद्ध खानेतेलसम्बन्धी तीनवटा, जितपुरस्थित शिवशक्ति घिउ उद्योगविरुद्ध खानेतेलसम्बन्धी तीन, बाराकै अन्नपूर्ण भेजिटेवल प्रोडक्ट्सविरुद्ध खानेतेलसम्बन्धी एक, संजिव तेल मिल ललितपुरविरुद्ध एक र चितवन सहकारी चामल एन्ड तेलविरुद्ध एक मुद्दा दायर भएको छ ।
रुपन्देहीस्थित रौनक आधुनिक तेल उद्योग, धनगढीस्थित जयओम ट्रेडर्स, विराटनगरको कटहरीस्थित श्रीराम रिफाइनरी प्रोडक्ट्स र खत्री ट्रेडर्सविरुद्ध पनि गुणस्तरहीन खानेतेल उत्पादन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।
गत आर्थिक वर्षमै हेटौंडाबाट एक सय एक, विभागबाट ५४, क्षेत्रीय कार्यालय धनगढीबाट १८, विराटनगरबाट ११ र भैरहवाबाट नौवटा मुद्दा दायर गरिएको थियो । यसमध्ये तेलसम्बन्धी ३९, पानीसम्बन्धी २५, दूध र घिउसम्बन्धी १७÷१७, बेसनसम्बन्धी सात, बिस्कुटसम्बन्धी पाँच, दालसम्बन्धी चार र पाउरोटीसम्बन्धी चारवटा मुद्दा दायर भएका छन् । – राजेश बर्मा, अन्नपुर्ण पोस्टवाट

प्रतिक्रियाहरु