नक्कली चिकित्सकलाई २४ घण्टे पुर्जी

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौं, ३१ साउन । स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाणपत्रधारी आरोप लागेका चिकित्सकलाई कामबाट फिर्ता हुन २४ घण्टे निर्देशन दिएको छ । करारमा कार्यरत डाक्टरहरुसँगको सम्झौता रद्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मात्र स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नक्कली भनिएका डाक्टरलाई बिरामी जाँच्न नदिन निर्देशन दिएका थिए ।
त्यसलगत्तै मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर ती चिकित्सकलाई २४ घन्टाभित्र मन्त्रालयमा बोलाउने तथा करार र अस्थायी सरकारी चिकित्सकको करार सम्झौता भंग गर्ने निर्णय भएको हो । २४ घण्टाभित्र हाजिर हुन भनिएका सरकारी स्थायी डाक्टर तीन तथा करार सम्झौतामा कार्यरत सरकारी डाक्टर भने पाँच जना रहेको बताइएको छ ।
निजी अस्पतालमा कार्यरत चिकित्सकको भने लाइसेन्स निलम्बन गर्न नेपाल मेडिकल काउन्सिलमा पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् । प्रहरीले चलाएको अपरेशन क्वाकबाट हालै ३७ जना चिकित्सक नक्कली प्रमाणपत्रकै आधारमा यस पेशामा संलग्न भएको तथ्य फेला परेको थियो ।

प्रतिक्रियाहरु