भोटेकोसी पीडितद्वारा आन्दोलनमा उत्रने चेतावनी

२०७३ श्रावण २ गते, आईतवार

काठमाडौ, २ साउन । सिन्धुपाल्चोकका भोटेकोशी बाढीबाट पीडित बासिन्दाहरुले आफुहरुलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका सिन्धुपाल्चोक जिल्लाका ५ गाविसका पीडितहरुले आइतबार काठमाडौमा कार्यक्रम गरी सरकारले तत्काल राहत तथा पुर्नस्थापना नगरे सरकारविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । उनीहरुले आफुहरु खुल्ला आकाशमुनी बस्नु परेको र भोकभोकै बस्नुपर्ने अवस्थामा रहेपनि सरकारले राहत तथा पुनःस्थापनामा चासो नदेखाएको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको लिपिङ,गौटी,लिस्ती,मान्का र बाह्रविसेका बाढी पीडितहरुले आफुहरुको उठिबास हुदापनि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीले बाढी पीडितको लागि जिल्ला प्रशासन कार्यालयले गर्नसक्ने जति सम्पुर्ण काम गरिरहेको दावी गर्नुभयो ।
कार्यक्रममा सिन्धुपाल्चोकका विभिन्न पार्टीका नेताहरुले पीडितहरुको राहत तथा पुर्नस्थापनाको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पीडितहरुले लामो समयदेखि बन्द रहेको तातोपानी नाका खोल्न पनि सरकारसंग माग गरेका छन् । तातोपानी नाका भन्सार प्रमुख डिल्लीराज पोखरेलले नाका खोल्नको लागि प्रयास भईरहेको जनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु