माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत सम्पन्न हुदै

२०७३ असार ३१ गते, शुक्रबार

काठमाडौ, ३१ असार । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए, जलविद्युत आयोजना दुई महिनाभित्र सम्पन्न हुने भएको छ । आयोजनाको अधिकांश काम सकिएकाले आगामी भदौदेखि विद्युत् उत्पादन शुरु गरिने आयोजनाले जनाएको छ । आयोजनाको बाँकी काम तीव्र रुपमा भइरहेकाले भदौसम्म उत्पादन शुरु हुने भएको हो ।
यसअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण पाँच महिना ढिला भएको हो ।
आयोजना निर्माणको जिम्मा पाएको चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो र सगरमाथा पावर कम्पनीले सुरुङ, विद्युतगृह, बाँध क्षेत्र र प्रशारण लाइनको काम अन्तिम चरणमा पुर्‍याएका छन् । अहिलेसम्म बाँधको सिभिलतर्फको ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
त्यसैगरी सुरुङको ९६ प्रतिशत, विद्युत गृहको सिभिलतर्फ ९५ प्रतिशत, मेकानिकलतर्फ ८५ प्रतिशत र इलेक्ट्रा मेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत गरी करिब १२ अर्ब रुपैयाँमा काम सम्पन्न हुने कम्पनीले जनाएको छ । २०७३ असोजदेखि व्यापारिक रूपमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएर शुरु भएको आयोजनाले नेपाल विद्युत् प्राधिरणसँग २०५२ सालमै विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत गरिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु