पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

२०७३ असार २८ गते, मंगलवार

काठमाडौ, २८ असार । सरकारले आगामी साउन १ गतेदेखि लागू गर्ने गरी श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक आज राजपत्रमा प्रकाशित गरेको छ । नयाँ व्यवस्थाअनुसार श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारले न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका कामदार तथा अरु कर्मचारीहरुको न्यूनतम मासिक पारिश्रमिक १४ हजार ४ सय रुपैयाँ हुनेछ ।
अन्य संचार प्रतिष्ठानका श्रमजीवी पत्रकारको न्यूतनम पारिश्रमिक भने १४ हजार १ सय रुपैयाँ र कामदार तथा कर्मचारीको न्यूनतम पारिश्रमिक १२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको हकमा भने न्यूनतम पारिश्रमिकको सट्टा कार्यघण्टा र करारअनुसार सम्बन्धित संचार संस्थाले निर्धारण गरिने राजपत्रमा उल्लेख छ ।
यसैगरी स्ट्रीन्जर पत्रकारका लागि राष्ट्रिय मिडियातर्फ प्रतिसमाचार रेडियोमा २००, पत्रपत्रिकामा २२५ र टेलिभिजनमा ६०० तथा अन्य माध्यमतर्फ रेडियो र पत्रपत्रिकामा १५० र टेलिभिजनमा ६०० निर्धारण गरिएको छ । आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको हकमा न्यूनतम पारिश्रमिकको सट्टा कार्य घण्टा र करार बमोजिम सम्बन्धित प्रतिष्ठानले निर्धारण गरिने राजपत्रमा उल्लेख गरिएको छ ।
पत्रकार महासंघले आजै विज्ञप्ति निकालेर सरकारको यो कामको स्वागत गरेको छ । यो कार्यान्वयनका लागि मिडिया हाउसका प्रमुखहरुलाई महासंघले आग्रह पनि गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु