श्रमजिवी ट्रेड युनियनमहासंघद्वारा श्रमलाई ज्ञापनपत्र

२०७३ असार २७ गते, सोमबार

काठमाडौं, २७ असार । श्रमजिवी ट्रेड युनियनमहासंघ नेपालको नेतृत्वमा श्रम तथा रोजगार मन्त्री दिपक बोहोरालाई ज्ञापनपत्र बुझाईएको छ । महासंघका राष्ट्रिय अध्यक्ष रामबहादुर तामाङको नेतृत्वमा गएको टोलीले सिंहदरबार स्थित मन्त्री बोहोराको कार्यालयमा पुगी उक्त ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा सरकारले हालै गरेको बजेट भाषण अनुसार सरकारी र राष्ट्रसेवक कर्मचारीहरुको तलब भत्तामा २५ प्रतिशत वृद्धि गरिएको तर श्रमजिवी मजदुर वर्ग र गरीब जनताहरुको लागी भने कुनै खालको कार्यक्रम नल्याएको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले ल्याएको यस्तो कार्यक्रमले सिमितवर्गको पक्षपोषण गरेपनि त्यसले महंगी आकासिने र सर्वसाधारणको चुल्हो बाल्न समेत नसकिने अवस्था आउनु दुखद हो ज्ञापनपत्रमा भनिएको छ । सरकारले ल्याएको कार्यक्रमले सरकारी कर्मचारीहरुको मात्र आवश्यकता हेरेको तर असिमित गरिखाने वर्गको बिचल्ली बनाउने कार्य गरेको भन्दै महासंघले खेद व्यक्तः गरेको छ । गतवर्षको महाबिनासकारी भूकम्पमा परी घरबार बिहिनबनेका गरीब नागरिकहरु अझैसम्म च्यातिएको पालमुनि कष्टपूर्ण जीवनयापन गरिरहेको सन्दर्भमा त्यतातिरको समस्यालाई नजर अन्दाज गरी राज्यले पहल नगरेकोमा महासंघले दुख व्यक्त गरेको छ । साथै महासंघले बुझाएको ज्ञापनपत्रमा विभिन्न १५ बुँदै माग समेत समेटिएको छ । ती मागहरुमा अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग तत्काल गठन गरिनु पर्ने, प्रत्येक संगठित तथा असंगठित मजदुरहरुको पारिश्रमिक शतप्रतिशत वृद्धि गरिनु पर्ने, श्रमिकहरुको विमा सम्बन्धित कम्पनी वा प्रतिष्ठानले गर्नु पर्ने, यस अघि श्रमजिवी ट्रेड युनियन संघ र नेपाल उद्योग बाणिज्य महासंघबीच भएको सम्झौताहरु तत्काल कार्यान्वयन गर्नु पर्ने, सबै उद्योग प्रतिष्ठानहरुमा मजदुरहरको अनिवार्य नियुक्तिपत्रको व्यवस्था गर्नु पर्ने, राशन कार्डको अनिवार्य व्यवस्था गर्नु पर्ने, श्रमजिवी मजदुर र तिनका परिवारका सदस्यहरुको निशुल्क स्वास्थ्य उपचारको व्यवस्थागर्नु पर्ने, घाईते, अपांग तथा अशक्त मजदुर परिवारको पालन पोषण र निर्वित्तिभरणको व्यवस्था गर्नु पर्ने, यातायात क्षेत्रमा कार्यरत चालक, सहचालक, वा अन्य मजदुरहरुको हकमा यातायात व्यवस्था ऐनमा उल्लेखित अनिवार्य परिचयपत्रको व्यवस्था गर्ने प्रावधान तत्काल कार्यान्वयन गर्नु पर्ने, श्रमजिवी मजदुर सम्बन्धी अन्तराष्ट्रिय मान्यता र सिद्धान्त बमोजिम ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको निती तत्काल कार्यान्वयन गर्नु पर्ने, कालोबजारी, भ्रष्टाचारी, तस्करी, गुण्डागर्दी र महंगी नियन्त्रण गर्नु पर्ने, गरीब किसानहरुको मल (खाद) बिउबिजन, प्राविधिक औजार लगायतका किसानवर्गले प्रयोग गर्ने सामाग्रीहरु निशुल्क वितरण तथा सरल रुपमा कर्जाको व्यवस्था गर्नु पर्ने, साना व्यवसायीलाई विनाधितो कर्जाको व्यवस्था गर्नु पर्ने, भूकम्प पिडितहरुको लागी तत्काल राहत र पुननिर्माणको व्यवस्था गर्नु पर्ने र भूमिहिन तथा सुकुम्बासी समस्या तत्काल समाधान गर्नु पर्ने मागहरु समेटिएका छन् । श्रम तथा रोजगारमन्त्री बोहोरालाई भेट्न महासंघका राष्ट्रिय अध्यक्ष रामबहादुर तामाङ, उपाध्यक्ष कुलबहादुर बस्नेत, महासचिव नेत्र बहादुर लिम्बु, उपमहासचिव निरज बस्नेत र सुरेश कुमार श्रेष्ठ, सहकोषाध्यक्ष मोतीराज राई लगायतका केन्द्रीय पदाधिकारीहरु सहभागी थिए । महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री बोहोराले महासंघको मागमा आफु गम्भीर भएको र यो माग मन्त्रीमण्डलसम्म लगेर आफूले छलफल गर्ने बताएका थिए । साथै मन्त्री बोहोराले आफ्ना मागहरु पुरा गराउनअन्य सम्बन्धीत निकायको पनि ध्यानाकर्षण गराउन मजदुर नेताहरुलाई आग्रह गरेकाथिए । श्रम तथा रोजगार मन्त्रालयलाई सम्बोधन गरि लेखिएको ज्ञापनपत्र उद्योग मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, श्रम विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, यातायात व्यवसायी महासंघ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरलाई बोधार्थ दिईएको छ । महासंघले आफ्ना मागहरु श्रावण महिनाभित्र पुरा नगरिए भाद्र १ गतेबाट कडा भन्दा कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत सरकारलाई दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु