डा.केसी आमरण अनशन बस्दै

२०७३ असार २६ गते, आईतवार

काठमाडौं, २६ असार । डा. गोविन्द केसी आजदेखि फेरि आमरण अनशनमा बस्दै छन् । उनि नेपालको स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक आमरण अनशन बस्दै आएका छन् । यसअघि सात पटकसम्म गरिएको आमरण अनशन तोड्ने क्रममा सरकारले आफू र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुसँग गरेका सम्झौता कार्यान्वयन र पालना नगरेको भन्दै डा.केसी आठौं पटक आमरण अनशनमा बस्न लागेका हुन् । जनता साक्षी राखेर गरेको पटक पटकका सम्झौता कार्यान्वयन नगरेर सरकारले धोका दिएकाले फेरि अनशन बस्न आफू बाध्य भएको डा. केसीको भनाइ छ ।
यसअघि सात पटकसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरभित्र अनशन बसेका डा. केसीलाई यस पटक त्यहाँ अनशन बस्न नदिने निकै ठूलो दबाब र धम्की आएको छ ।
यसअघि उनको मागमा समर्थन जनाएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै पदाधिकारी एवं केही चिकित्सकले यस पटक सहयोग पनि नरहने र अस्पताल हातामा अनशन नगर्न भन्दै दबाब दिँदै आएका छन् ।
यस पटक डा. केसीले पूर्व सहमतिहरु कार्यान्वयनका अतिरिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसमेत गरेका छन् ।
प्रमुख आयुक्त कार्कीले अख्तियारको दुरुपयोग गरी आफ्नो भाई र आफन्तहरु संलग्न शिक्षण अस्पताललाई विद्यार्थीको कोटा बढाएको, काठमाडौं विश्वविद्यालयले लिने एमबीबीएससहित चिकित्सकीय विधाका परीक्षामा हस्तक्षेप गरी आफूनुकूलको निर्णय गराएकाले संसदले महाभियोग लगाउनुपर्ने माग उनले राखेका हुन् । शिक्षण अस्पतालभित्र अनशन गर्न नदिन र समर्थन नगर्न अस्पतालका पदाधिकारी र अरु कर्मचारीलाई अख्तियार प्रमुख कार्कीले धम्क्याइरहेको आरोप पनि डा. केसीले लगाएका छन् । कार्कीविरुद्ध महाभियोग माग गर्ने वित्तिकै अख्तियारले भने केसीलाई मानसिक रोगी भएकाले उपचार गराउनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।
उता, सत्तारुढ एमालेका सांसदहरुद्वारा लगानी र प्रवद्र्धन गरिएको भनिएको मनमोहन अस्पतालका डाक्टरहरुले डा. केसीविरुद्ध शिक्षण अस्पतालमा आफूहरुले पनि अनशन गर्ने भन्दै स्थानको माग गरेका छन् । केसीको चिकित्सकीय क्षेत्र सुधारको मागका कारण आफ्नो अस्पतालले शिक्षण अस्पतालको मान्यता नपाएको भन्दै मनमोहनका लगानीकर्ता रहेका एमालेका केही सांसद र चिकित्सकहरु लामो समयदेखि रुष्ट रहँदै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार