कृषिमन्त्रीलाई आफ्नै भतिजीको खुलापत्र

२०७३ असार १९ गते, आईतवार

आदरणीय काका
सादर नमस्कार
कृषि प्रधान देश हाम्रो नेपाल , हामी नेपाली ९०% कृषि मै निर्भर छौ भन्दा पनि फरक नपर्ला । ठुला ठुला चारतारे होटलमा एक दिन खाएपनि दोस्रो दिन हामीलाई आफ्नै खेतको धानबाट निस्केको चामलको भात नै सबैभन्दा मिठो लाग्ने गर्छ । जति ठुला सहरका महलमा बसेपनि आफ्नै गाउको त्यो बच्चामा खेलेको धुलो माटो कै धेरै माया लाग्छ । हामी यसरि त्यो माटोसग सम्बन्ध गास्छौ कि त्योबाहेक अरुलाई माया गर्नु पाप जस्तै लाग्छ । अनि त्यति माया गरिने त्यो माटोलाई छुन किन तपाइलाई घिन लाग्छ ? मेरो काका मलाई हजुरको धेरै माया लाग्छ । मलाई साच्चै भन्नुपर्दा सानो छदा हजुरले जति माया अरु काकाहरुले गर्नु भएन होला ? हो माया त सबैले गर्नु हुन्थ्यो । म परिवारको लागि एउटा छुट्टै योगदान लिएर जन्मिएकि थिए । धेरै काका फुपुहरुकी एउटी भतिजी , हुन त म अगाडी ठुलो बुवाको छोराको जन्म नभएको होइन । तर पनि मैले धेरै माया पाए मेरो बचपनमा । त्यसैले होला काका , मैले माया गर्न सिके । यो मैले तपाईंहरुले मलाई गर्नुभएको मायाबाटै सिकेको हु । अरु काका फुपुभन्दा अलि अलग हजुरको माया थियो मेरा लागि । अरुले गर्ने मायामा माया मात्र पाउथे तर हजुरको मायामा मैले साथीको व्यवहार पाउथे । हजुरले नै मलाई दबिएर बस्न हुन्न भन्ने ज्ञान दिनु हुन्थ्यो । हामी मुक्तिको लडाइ लड्न पर्छ , यहि मलाई सिकाउनु हुन्थ्यो । मलाई अझै याद छ काका , गरिब किसानको झुपडीमा हामी जान पर्छ । तिनलाई परेको दुख्खमा हामीले साथ निभाउनु पर्छ । हामी मान्छे हौ त्यसैले तिनको निम्ति सहिद हुन परेपनि तयार हुन पर्छ । यस्ता जोसिला कुरा हजुरले नै हो मलाई सिकाउने । हामी काका भतिजी भएर ‘….बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो …..’ भन्ने गित खुब गाउने गर्थ्यौ । हो काका त्यो गित गाएको आज पनि मलाई याद छ । म हजुरकै काखमा बसी हजुरलाई गित गाउन साथ दिने गर्थे । मैले कहिले भुलिन त्यो गीतलाई , आजपनि त्यहि गितको बोलका एक-एक शब्दले मलाई जागरूप बनाउछ । ‘फालिएको रोटीले मेरो पेट भरिन्न मागीएको धोतीले मेरो लाज छोपिन्न ‘ हो काका आजपनि त्यो गितले मलाई स्वाभिमानी बन्न सिकाइदिन्छ । ‘खिएर जाउन यी हातका औला तर कसैका सामु यी हात जोडिन्नन ‘ हो काका गीतमा यो पनि थियो तर किन काका हजुरले यसलाई बिर्सिनु भयो ? मैले बिर्सिन नसकेको यो तपाइले मलाई सिकाउनु भएको गित हजुरले आज कसरि बिर्सिदिनु भयो ? हजुर त आज तिनै किसानको प्रतिनिधित्व गर्ने ठाउमा पुग्नु भयो । तर काका किन हजुरले मलाई सिकाएका कुराहरु आफैले भुल्न थाल्नु भयो ? ति किसानको हक -हितको लागि हामी मान्छे बनेर सहिद हुन पनि पछि पर्न हुन्न भनेर मलाई सिकाउने मेरो काका आज हजुरले कसरि गलैचामा गमला राखेर धान रोप्न सक्नु भयो ? ति किसानका हितका लागि जिबन बलिदान दिनपर्छ भन्ने हजुरको सोच कसरी परिबर्तन भयो काका ? यो जान्न मेरा लागि धेरै जरुरि छ आज । किसानको रहरमा तपाइको खुसि किन भएन ? उनीहरुको मेहनतमा बधाइदिन तपाइले खेतको हिलोमा जाने कस्ट किन गर्नु भएन ? रातो गलैचामाथि होइन काका खेतको गरामा हुन्छ किसानको मेहनत ,अनि तपाईंले ति किसानलाई रातो गलैचामाथि बसेर सम्मानपत्र वितरण गरेको देख्दा कता कता नमिठो अनुभूति गरे मैले । किसानको माया माटोमा हुनुपर्छ , रातो गलैचामा होइन । यदि किसानले रातो गलैचामा सम्मानपत्र थाप्छ भने के त्यो माटोले उसलाई धिक्कार्दैन र काका ? जुन माटोको कारण उसले सम्मान पायो त्यसलाई बिर्सिनु कति न्यायोचित हुन्छ ? योपनि यौटा प्रस्न होइन र काका ? यी सबै कुराहरु मैले आज लेख्न पर्दा मलाई सारै दुख्ख लागेको छ । तर मलाई खुशिपनि लागेको छ । हिजो हजुरले मलाई जुनकुरा सिकाउनु भयो, आज मैले त्यहि कुरा हजुरलाई सम्झाउदै छु ।मलाई हजुरले लगाउनु भएको ऋण सायद आज मलाई फिर्ता गर्ने मौका मिलेको छ । म ऋण मुक्त हुन पाउनु मेरा लागि खुसीको कुरा पनि हो । काका हजुरले दिनु भएको ऋणले मैले धेरै कमाए । त्यसको मैले धेरै सदुपयोग गरे । त्यसलाई डुब्न नदिएरै आज हजुरलाई फिर्ता गरे । तर काका, त्यो फिर्ता भएको मेरो मेहनतको हजुरले सदुपयोग गरिदिनु हुनेछ भन्ने बिस्वासका साथ यो पत्र कोर्दैछु । सत्ता र शक्तिको मातमा हाम्रो आमालाई बिर्सने बानीले आज हामी पछि परेको महसुस गरे काका । त्यसैले आउदा दिनहरुमा किसानका उपहार खेतको हिलो र धुलोमा कुल्चिने कस्ट उठाएरै दिने गरौ । नत्र त्यो माटोको अपमान हुनेछ । त्यो पुरस्कारको मूल्य सुन्ने हुनेछ । आमालाई बिर्सियौ यदि हामीले भने हाम्रो जन्म बेकार हुनेछ ।काका यति भन्दै आजलाई कलम बन्द गर्ने अनुमति चाहे ।
– हजुरकी आफ्नै भतिजी
शोभा गजुरेल
फ्रान्स

प्रतिक्रियाहरु