भूकम्प पिडितलाई दुई किस्तामा दुई लाख दिने तयारी

२०७३ असार १५ गते, बुधबार

काठमाडौ, १५ असार । सत्तापक्ष र विपक्षी दलको आजको बैठकले भूकम्प प्रभावितलाई दुई लाख रुपियाँ दुई किस्तामा दिने विकल्पमा सहमति गर्ने तयारी गरेको बुझिएको छ । कांग्रेस नेता डा प्रकाशशरण महतले हिजोको वार्तामा सहमति नजिक पुगेको र आज भूकम्प प्रभावितहरुलाई सहयोग दिने विश्व बैंकसँग छलmफल गरेर निस्कर्षमा पुगिने बताए । पटक–पटक संसद अवरुद्ध भएपछि वार्ताको टेबुलमा आएका सत्ता र प्रतिपक्षका नेताबीच हिजो तीन चरणका बैठकले सहमति नजिक पुराएको नेताहरुको भनाइ छ । नेपाली कांग्रेस पहिलो किस्ता डेढ लाख दिनुपर्ने र त्यो सहमति प्रधानमन्त्रीले संसद बैठकमा सम्बोधनका क्रममा उल्लेख गर्नुपर्ने पक्षमा छ ।
कार्यदलका सदस्य तथा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आज थप छलफल गरेर निचोडमा पुगिने बताए । आज बिहान प्रधानमन्त्रीले राहत रकम एकमुष्ट दिन मिल्ने नमिल्ने विषयमा थप परामर्श गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । विधि र प्रक्रियाले अप्ठ्यारो नपारे प्रधानमन्त्री सकारात्मक रहेको सचिवालयको भनाइ छ ।

प्रतिक्रियाहरु