बुद्धचित्त जोगाउन रातभर बारीमै जाग्राम

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । काभ्रे बेल्देफेदिचे–२ का चन्द्रध्वज लामाको बारीमा बुद्धचित्तका २० वटा रुख छन् । सबैमा लटरम्म बुद्धचित्त फलेको छ । अबको दुई महिनाभित्र त्यो फल टिप्नुपर्ने हुन्छ । केही वर्षदेखि बुद्धचित्तको मूल्य आकाशिएपछि यसलाई जोगाउन उनलाई धौ धौ भएको छ ।
बुद्धचित्तको गेडाबाट बनेको माला बौद्ध धर्मावलम्बीले मन्त्र जप्न प्रयोग गर्दछन् । बुद्धले ध्यानका क्रममा तीन ठाउँमा छाडेकामध्ये लुम्बिनी र काभ्रेकै नमोबुद्धमा मरेर गएको तर तिमालमा भने बाँचेको किम्बदन्ती छ ।
केही वर्ष यता तिब्बत, ल्हासा र चिनियाँ बजारमा यसको माग ह्वात्तै बढेको छ । यसका जानकार सुरवीर लामाका अनुसार १०८ दानाबाट बनेको मालाको हजारदेखि १० लाख रुपैयाँसम्म गत वर्ष किनबेच भएको थियो । ४ वर्षयता बुद्धचित्तको मूल्य आकाशिएको हो । त्यही भएर रातको समयमा मूल्यवान बुद्धचित्त चोरिने डरले चन्द्रबहादुरका छोरा मासबहादुर लामा यसै सातादेखि रुखको फेदमै टेन्ट गाडेर बसिरहेका छन् । रातको समयमा मासबहादुर र उनका अर्का एक आफन्त पालैपालो निदाउँछन् ।
घरेलु हतियारसहित उनीहरु बुद्धचित्त रहेको बारीमा पहरा दिन्छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु