खै कसलाई आयो गणतन्त्र – शोभा गजुरेल

२०७३ जेष्ठ १६ गते, आईतवार

भोक प्यास , अशिक्षा गरिबी , अझ भनौ बलात्कृत अनि अकाल मृत्यु ,कसलाई सोध्ने हो , यो गणतन्त्र भनेको केहो ? कसका लागि थियो? ति १७ हजारको बलिदान के का लागि थियो ? लाखौं युवाले राहादानी बनाई खाडी मुलुक जानै को लागि हो ? हजारौ चेलीहरुको सिउदो पुछियो , कैयौ आमाको काख रित्तियो , कयौ जन्मदै टुहुरा भए , जन्मियका ति नाबालकले अनुभूति गरे त यो गणतन्त्रको ? अनि ति बिरंगनाहरु । कैयौ त सहिद बने आफ्ना बच्चा काखी च्याप्दै लडेका थिए । त्यो युद्धबाट तिनले के पाए ? कहिले तिनले झल्को समेत पाएनन त्यो गणतन्त्र के का लागि ? अनि कसका लागि आयो ? के गणतन्त्र भनेको यहि हो ? राजतन्त्रमा एउटा राजा हुन्थ्यो । उसकै हैकम चल्थ्यो ,उसकै सन्तान र आसेपासेलाई फाइदा हुने कानुन बन्थ्यो । अहिले के फरक छ त गणतन्त्रमा ? धेरै जना राजा भएका छन , देशलाई लुट्न थालेका छन । आफ्नो हाई हाई गर्नेलाई धनको बिटो फ्याक्न थालेका छन । जनता जस्ताको तस्तै उही शोषण , दमन , अत्याचार सहन बाध्य छन् । जनता भूकम्पको मारमा परे । हजारौले ज्यान गुमाए , घरबारबिहिन जनता १ वर्ष भयो खुल्ला आकाश मुनि रात कटाइ रहेका छन । के यहि हो त गणतन्त्र ? शेष घले ,धुर्मुश , सुन्तली , जस्तापात्रले बस्ति निर्माण गर्न सक्ने , उनीहरुले आफ्नो हिम्मत देखाउदा करोडौको राहत पाएका छन । तर सरकारले के गर्यो त जनताको लागि ? तिर्पाल सभासद्लाई बाडियो , जस्ता पाता मन्त्रीका आफन्तले बेचेको हल्ला सुनियो , खाधान्नहरु कति त गोदाम मै सडे । त्यहि राहत पनि सरकारले बेच्दै छ रे ? यहि हो त गणतन्त्र ? पहिलो कुरा गणतन्त्र भनेको के हो त ? यो बुझ्न जरुरि छैन र ? जनताले राहत पाउने शासनलाई होइन र गणतन्त्र भन्ने ? अनि ति जनताले के पाए त यो गणतन्त्रबाट ?
फुटबल खेलाडी बिमल , जो रास्ट्रको गौरव पनि हो । उसले के सोच्ने ? यो गणतन्त्र नै हो त ? तिनकी आमा उनि जस्ता हजारौ अरु पनि आमा छन् । जसका मुटुका टुक्रा आफनी छोरीहरु बलात्कारपछि मृत्‍यु पाएका छन् । तिनका आमालाई कहाँ आयो खै गणतन्त्र ? अनि यस्तो अबस्थामा कसरी मनाउने यो गणतन्त्र ? के देशमा शान्ति सुरक्षाको जिम्मा उठाउनु पर्ने सरकारको दायित्व होइन र यो ? हजारौ चेलीको इज्जत लुटिदा गणतन्त्र मा खुसियाली मनाउने हक सरकारलाई छ ? हिजो बिमलका आमा छोरा रुदा कसरि मनायो यो सरकारले गणतन्त्र दिवस , के ति मनिषाको लागि यो गणतन्त्र होइन र । उनले न्याय पाउनु पर्छ कि पर्दैन ? उनि मात्र होइनन , आज हजारौको संख्यामा नाघिसके बलात्कृत हुने अनि हत्या हुने चेली । के तिनलाई यो देशको गणतन्त्रमा बाच्ने हक थिएन र ? थियो भने कसरी ? ति चेलीका आमालाई अब सरकारले देखाइदिन पर्यो , गणतन्त्र के हो ? तिनले बुझ्न पाउनु पर्यो तर खै त कसरि बुझ्ने तिनले यो गणतन्त्र । के आफ्ना सन्तानको बलात्कार , हत्या अनि ति बलात्कारी खुलेआम तिनै आमाको अगाडी छाती खोलेर हिडछ ।यहि हो त ति आमाको लागि आएको गणतन्त्र । त्यसैले के का लागि मनाउने यो गणतन्त्र दिवस ? खाडीमा पसेका ति युवालाई सोध्नुस त उनलाई आयो गणतन्त्र । ४५ डिग्रिको गर्मीमा १२ घण्टा काम गर्छन , यौटा कोठामा १० जना जनावरको जस्ता कोचियर बस्छन । अनि हरेक दिन २-३ जना त बाकस मै बन्द भै नेपाल फर्किन्छन । अनि ति बाकसका लाशलाई सोध्ने कि उनका परिवारलाई सोध्नुस गणतन्त्र त्यहि हो ? अब सम्झाउनु पर्‍यो त्यो परिवारले गणतन्त्र कसरी मनाउने । त्यो पनि भन्दिने कि ? हातमा पढेको लालपुर्जा बोकी हिड्ने बेरोजगार युवालाई पनि सोधौ यो गणतन्त्र कस्तो छ । अनि कसरि मनाउन पर्छ । आखिर के यी सबै नेपालीका लागि थिएन र यो गणतन्त्र ? अनि किन त्यसको महसुश गर्न तिनले पाएनन त ? दिनभरी गिट्टी कुट्ने ति मजदुरलाई सोधु गणतन्त्र भनेको के हो ? अनि यसको जवाफ मिल्ने छ । गणतन्त्र आखिर कसलाई आयो ? अनि यो मनाउनुको अर्थ के हो ?
(हाल -फ्रान्स )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु