गणतन्त्र शब्दमा मात्र सीमित नहोस् – राजेन्द्र चिमौरिया

२०७३ जेष्ठ १५ गते, शनिबार

२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । यस हिसाबले देशमा गणतन्त्र स्थापना भएको आठ वर्ष पूरा भएको छ । यसै सिलसिलामा केही राजनीतिक दल र नेताहरुले नवौँ गणतन्त्र दिसवको अवसरमा देशमा विभिन्न कार्यक्रम गरी मनाए । तर, देशको अधिकांश दल र जनताले गणतन्त्र दिवसलाई खासै महत्व दिइएको देखिएन । किन ? यो विषयमा सरकार र सत्तासीन दलहरुले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । देशमा गणतन्त्र स्थापना भएपछि एक थान संविधान निर्माण भई जारी भएको छ । तर, त्यो संविधानले देशको संकट समाधान गर्नुभन्दा झन्झन् बढाउने काम गरेको छ । संविधान मान्नेभन्दा संविधान जलाउने ज्यादा छन् । जसका कारण देश पुनः संकटग्रस्त बन्दै गइरहेको छ । जनताले गणतन्त्रको नाममा महँगी, कालोबजार, अन्याय र अत्याचार भोग्नुपरिरहेको छ । जनताको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएको छ । जनजीविका चौपट छ । तर, सरकार र सत्तासीन दलका नेताहरु गणतन्त्रको नारा जप्दै आफ्नो दलगत र व्यक्तिगत दुनो सोझ्याउन व्यस्त छन् । गणतन्त्रपछि सत्तामा पुगेका दल र नेताहरुको क्रियाकलापले जनता वाक्कदिक्क बनेका छन् । तसर्थ, सत्तासीन दल र नेताहरुले जनतालाई गणतन्त्रको महसुस हुने गरी तत्काल जनपक्षीय कामहरु थाल्नु जरुरी छ । गणतन्त्रको नाममा केही सीमित दल र नेताहरुले पुनः निरङ्कुशता लाद्न खोजेको आमजनताले महसुस गर्न थालेका छन् । जसको फलस्वरुप अधिकांश दल र स्वाभिमानी जनतामा वर्तमान संविधान खारेजीको माग गर्दै सडकमा ओर्लिएका छन् । यस्तो अवस्थामा सरकार र सत्तासीन दलहरुले यही संविधान ठीक छ र गणतन्त्र भनेको यही हो भनी आफ्नो दल र व्यक्तिगत दुनो मात्र सोझ्याउँछन् भने त्यो स्वयम् उनीहरुको लागि आत्मघाती हुने निश्चित छ । तसर्थ, नवौँ गणतन्त्र दिवसको अवसरमा सरकार, सत्तासीन दल र नेताहरुको देशमा वास्तविक गणतन्त्र लागू गर्ने र जनतालाई गणतन्त्रको महसुस हुने कार्य गर्ने सद्बुद्धि फिरोस्, यही शुभकामना ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु