पुरुष डाक्टरले प्रसुती गराए पछि …

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ, १५ जेठ । साउदी अरबको राजधानी रियादमा एक व्यक्तिले अस्पतालभित्रै प्रवेश गरेर चिकित्सकमाथि गोली प्रहार गरेका छन् ।
डाक्टरमाथि उनले आफ्नी श्रीमतीले बच्चा जन्माउने बेला त्यही रहेको आरोपमा गोली हानेका हुन् । गोली लागेको घाइते डाक्टरलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
समाचारअनुसार रियादको किंग फहद मेडिकल सिटीमा जोर्ड निवासी एक व्यक्तिकी श्रीमतीलाई प्रसुतिका लाग भर्ना गरिएको थियो । बच्चा जन्माउने बेला चिकित्सक डाक्टर मुहन्नद अल जब्न त्यही उपस्थित थिए । आरोपीले जब पुरुष चिकित्सकलाई आफ्नी श्रीमती नजिक देखे तब उनी आवेगमा आए । त्यतिबेला त केही पनि गरेनन् तर एक महिनापछि पेस्तोलसहित आएर गोली प्रहार गरे।
अस्पताल पुगेर उनले नर्ससँग आफ्नी श्रीमतीको प्रसुती गराउने चिकित्सकलाई भेटेर धन्यवाद दिन चाहेको बताए । नर्सले उनलाई लिएर चिकित्सकसामु पुगिन् । दुवैबीच कुराकानी चलिरहेको थियो । यस्तैमा आरोपीले पेस्तोल निकालेर गोली प्रहार गरे । प्रहरीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
सोधपुछका क्रममा आरोपीले कुनै पनि पुरुष डाक्टरले महिलालाई प्रसुति गराउन नहुने बताए । प्रसुतिका बेला महिला डाक्टर नै हुनुपर्ने उनको भनाइ थियो । प्रहरीले आरोपीविरुद्ध ज्यान मार्ने गरी आक्रमण गरेको मुद्दा चलाएको छ। उनीसँग हिरासतमा सोधपुछ जारी रहेको साउदी प्रहरीले जनाएको छ। – एजेन्सी

प्रतिक्रियाहरु