आज बजेट भाषण

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आज संसदमा आगामी वर्षका लागि बजेट घोषणा गर्दै छन् । यो वर्ष १० खर्ब बराबरको बजेट आउने बुझिएको छ ।
अघिल्ला वर्ष जस्तै यो वर्ष पनि राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा बढेर बजेट आउने भएको छ । आयोगले ९ खर्बको बजेटको सिलिङ तोकेको छ ।
तर, बजेटको आकार १० खर्ब १० अर्बको हाराहारीमा हुने जनाइएको छ । चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर १४ वर्षयताकै न्यून रहने विहीबार सार्वजनिक आर्थिक सर्वेक्षणले पुष्टि गरिसकेको छ । यो वर्ष भने साढे ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य सरकारको छ । यो वर्ष भूकम्प र नाकाबन्दीका कारण आर्थिक बृद्धि खुम्चिएको र आगामी वर्ष यो बृद्धिसमेत परिपूर्ति गर्नुपर्ने र पुनःनिर्माणले गति लिने दाबीकासाथ आर्थिकबृद्धि उचो रहने सरकारी विश्वास छ । तर, विश्व बैंक, एडीबी, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतले भने पूँजीगत खर्च परिचालन क्षमतामा सुधार आए साढे ४ प्रतिशतसम्म हासिल गर्न सकिने प्रक्षेपण गदै आएका छन् । संविधानमा व्यवस्था गरिएको समाजवादउन्मुख व्यवस्थालाई सुहाउने गरी बजेटको अन्तिम तयारी भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । उत्पादनलाई प्राथमिकता दिँदै कृषिको आधुनिकीकरणका लागि धेरै बजेट विनियोजन गर्ने तयारी सरकारको छ । सरकारले कर्मचारीको तलब बृृद्धि, बृद्धभत्तामा बृद्धि गर्नसक्ने जनाइएको छ ।
सरकारले ‘पपुलिष्ट’ बजेट ल्याउन लागेको र त्यसले मूल्यबृद्धि बढाउन सहयोग गर्ने भन्दै अर्थविद्हरुले पपुलिष्ट नभइ वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर बजेट ल्याउन सुझाव दिँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्दै आएको समुद्रमा नेपाली पानीजहाज चलाउने, हावाबाट विद्युत् उत्पादन गर्ने जस्ता महत्वांकाक्षी योजनाका सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गर्ने तयारी अर्थ मन्त्रालयको छ ।
सरकारले कृषिको आधुनिकीकरणका साथै उर्जा, पर्यटन, पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्ने जनाइएको छ ।
सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनालाई महत्व दिने छ भने मंसिरमा गर्ने भनिएको स्थानीय निकायको निर्वाचनका लागि पनि बजेट विनियोजन गर्ने तयारी अर्थ मन्त्रालयले गरेको बुझिएको छ ।

प्रतिक्रियाहरु