हामीले युद्धको होईन मुक्तिको कुरा गरेको हो : विप्लव

२०७३ जेष्ठ १२ गते, बुधबार

हामी सहिद बन्न तयार छौं तर कसैसँग झुक्ने छैनौँ । लोकतन्त्रका नाममा देशमा दलालतन्त्र हावी छ । हाम्रो घरमा म्याद टाँसेको भोलिपल्ट केपी ओलीको घरमा पनि म्याद टाँसिन्छ । हाम्रा साथीहरुबाट हामीबाट गुम्दा पीडाहरु छन् । तर, क्रान्ति एउटा मूल्यसहित सम्पन्न हुने परिघट्ना हो । जनताको बिजय एउटा निश्चित मूल्यबाट प्राप्त हुने परिघटना हो । २०५२ साल फागुन १ गते तपाई–हामी सबैले एउटा प्रण गरेर सहभागी भएका थियौँ, सहिद हुन पाऔँ भनेर हामी तयार भएका थियौं । जनताको मुक्तिको लागि, देशको स्वाधिनताको लागि नयाँ पुस्ताको लागि, विश्वमा श्रमिक बर्गको लागि आवश्यक पर्दा सहिद हुन पाऔं भन्ने इच्छा बोकेर हामी सहभागी भएका थियौं । लड्दै हामी यहाँसम्म आइपुगेका छौं । यसक्रममा थुप्रै योद्धाहरु, जनमुक्तिसेनाका साथीहरु सहिद हुनु भएको छ । यो देशमा सहिद, बेपत्ता र घाइते अपाङ्गहरुको के हुन्छ भनेर चासो राख्दै आउनु भएको छ । यो देशमा स्वाधिनताको लागि बलिदान गुर्न हाम्रो गल्ती थिएन, नौ जवानहरुको नयाँ भविष्य सुनिश्चिताको निम्ति नयाँ जनवादी क्रान्तिमा होमिएर बलिदान गर्नु कुनै गल्ती थिएन, त्यो गौरवको कुरा थियो । तर, आज सबैमा एउटा पीडा छ, बलिदान गर्ने सहिदको परिवारमा, बेपत्ता, योद्धाहरुको परिवारमा, माओवादी आन्दोलनमा गोलबद्ध तपाईहरुको मनमा एउटा पीडा छ कि, शहिद र बेपत्ताहरुको मूल्य के हो ? हाम्रा अपेक्षाहरु थिए, हामीले चाहेका थियौं, कि बालुवाटार र सिंहदरबारले सहिदको रगतको अवमूल्यन गर्ने छैन, आईसिसी भवनले बेपत्ता योद्धाहरुको भवनाको अवमूल्यन गर्नेछैन । यहाँका राजनीतिक दलहरु र अन्तर्राष्ट्रिय शक्तिहरुले हाम्रा बलिदानहरुको अवमूल्यन गर्ने छैनन्, हामीलाई आशा थियो । त्यसबीचमा मेहनत पनि ग¥यौं । १० बर्ष गुजार्दै गर्दा शान्ति प्रक्रियाका पार गर्दा बालुवाटार, सिंहदरबार र आईसीसी (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र– संसद) ले हाम्रो रगतको उपहास गरेको छ । दलका नेताहरुले बिस्तृत शान्ति सम्झौताको अपमान गरेका छन् । जनताले यो कुरा बिर्सेका छैनन्, हामीले यो कुरा बिर्सेका छैनौं । तिमीहरुले जनताको अपेक्षा पुरा गर्दैनौं भने यसको मतलव यो होइन कि हाम्रा सहिदहरु, बेपत्ता परिवारहरु अपमानित हुन्छन्, एक दिन सबैले क्रान्ति स्वीकार गर्न र सहिद, बेपत्ता र योद्धाहरुको मूल्य मान्यतालाई स्थापित हुनेछन् । आज शहिद, बेपत्ता र योद्धाहरुको रगतलाई भ¥याङ बनाएर तपाईंहरु सत्तामा पुग्नु भएको छ । नेपाली काँग्रेस राजतन्त्रको जेलभित्र जानेवाला थियो, गिरिजाप्रसाद कोइराला र आसेपासेहरुको जीवन ज्ञानेन्द्र शाहको जेलभित्र बित्नेवाला थियो । गाउँबाट जनताले लखेटेका थिए र शहरबाट राजतन्त्रले सखाप पारेको अवस्था थियो । एमालेको जीवन जेलभित्र थियो । माधव नेपाल र केपी ओली र माधव नेपालहरुको हात र खट्टामा नेल थिए, तिम्रा हातको हत्कडी फुत्काउने काम तिमीहरुको पार्टीले गरेको होइन, जनमुक्ति योद्धाहरुले गरेका हो, नेपालको माओवादी आन्दोलनले गरेको हो । तिमीहरुले आज अपमान गर्न खोज्दैछौं ।
विभिन्न बिदेशी शक्तिहरुको इशारामा माओवादी मूल्य, मान्यता र आन्दोलनलाई बद्नाम गर्न खोज्दैछौं । सहिद, बेपत्ताहरुको किनबेच भएको जस्तो मूल्यहीन हुन पुगेको छ । उल्टो अहिले बलिदान गर्ने, लड्ने, वीरतापूर्वक सामना गर्ने मानिसलाई आज जेलमा सडाउने प्रयत्न भइरहेको छ । मुद्दा लगाईदैछ, सर्वोच्च अदालत भनाउँदो एउटा प्रतिक्रियावादीहरुको अड्डाले जनताको विरुद्धमा फैसला गर्ने दुस्साहस पनि गर्दैछ । हामी हेरिरहेका छौं, यो संक्रमणकालको फाइदा उठाएर नेपाली जनताको अवमूल्यन गर्ने, अपमान गर्ने प्रयत्न भइरहेको छ । हामी चुनौति दिन चाहन्छौं । नेपालको माओवादीले यो बलिदान नगरेको भए, आज नेपाल यहाँ हुने थिएन । आज सहिद बेपत्ताहरुको बलिदानलाई बेचेर खाने काम भएको छ । मलाई कस्तो अनुभूति भइरहेको छ भने मिल्ने भए, यिनीहरुले शहिदहरु फाँसीमा चढाउँथे होलान् । बेपत्ताहरुलाई जेल हाल्थे होलान् । किनभने राज्य अहिले जिल्ला–जिल्लाबाट खवर आइरहेका छन्, माओवादीका घरमा हिजोको मुद्दाका म्याद टाँसिन थालेका छन् । प्रचण्ड आफैँ सरकारमा छन्, अनि आफै रुँदै सरकारसँग वार्ता भनिरहेछन् । हामीलाई पनि छलफलमा बोलाईयो । हामीले भनेक छौं, हाम्रो घरमा म्याद टाँसिएको भोलिपल्ट केपी ओलीको घरमा पनि म्याद टाँसिन्छ । यो कुनै लुकाई छिपाई वा धम्कीको कुरा होइन । हाम्रा योद्धाहरु गिरफ्तार भएको दिन, हिजोको जनयुद्धमा दमन गर्नेहरुलाई पनि गिरफ्तार गरिन्छ । त्यसको बदला हामी लिन्छौं । ति जनमुक्ति आन्दोलनमा बलिदान गर्ने सहिद र बेपत्ताहरुको मूल्य यो देशको श्रेष्ठ मूल्य हो । सहिद, बेपत्ता योद्धाहरुको रगत मेट्न चाहनेहरु, माओवादी आन्दोलन मेट्न चाहने शक्तिहरु यो धर्तीबाट मेटिने कुरामा कसैले शंका गर्नु पर्दैन ।
लेनिनले भन्नु भएको थियो– कम्युनिष्टहरुले चिन्ता मात्रै गर्ने होइन, चिन्तन पनि गर्नुपर्दछ । यो देशलाई कसरी पार लगाउने ? देश यतिबेला चौरमा छोडेको बस्तुजस्तो भएको छ । कसैले जिम्मा नलिने, देश असरल्ल परेको छ । हामी माओवादीहरु निराश हुन मिल्दैन । प्रतिक्रियावादी राज्यसत्ताले जनतामाथि गरेको सबै प्रकारका व्यवहारको हिसाब हुन्छ । यो देशमा कालो सपना देख्नेहरुको सपना पुरा हुन सक्दैन । शहिद र बेपत्ता योद्धाहरुको परिवारलाई म आश्वस्त पार्न चाहन्छु, हामीले माओवादीमा एउटा विद्रोहको शंखघोष गरेको कुरा, हामीले यो देशमा एकीकृत जनक्रान्ति संश्लेषण गरेको कुरा कुनै पदको बार्गेनिङको लागि होइन, मन्त्री पदको लागि होइन, पद, कुर्सी, पैसा र सुविधाको लागि होइन । हाम्रो एउटा मात्रै संकल्प र प्रतिबद्धता छ, नेपालमा सामन्तहरुको राज्यसत्तालाई अन्त्य गर्ने, दलाल पुँजिपतिहरुको सत्ताको अन्त्य गर्ने, नेपालमा विदेशी तत्वहरुको चलखेललाई अन्त्य गर्ने, नौजवान युवाहरुको भविष्यलाई अन्धकारमा पार्ने र एउटा उज्वल नेपाल, स्वाधिन नेपाल, स्वतन्त्र नेपाल, मुक्त नेपाल, जनताको अधिकारसहितको नेपाल र आफ्नो खुट्टामा आफै उभिएको सम्पन्न देशको नेपाली नागरिक हुँ भन्ने हाम्रो एउटा सपना छ । त्यो सपनालाई आज घात गरिएको छ । त्यही सपनालाई पुरा गर्ने अठोटका साथ हामीले पार्टी पुनर्गठन गरेका हौं । त्यो सपना सहिद, बेपत्ता योद्धा, देशभक्त, मजदुर किसान सबैसँग जोडिएर आएको छ ।
तपाईंहरुले अहिले नै हामीलाई समर्थन गर्नुस्, यो पनि म भन्न चाहन्न । तपाईहरु यहाँ चौरमा पानीमा भिज्दै धेरै मानिसहरु सहभागी हुनु भएको छ । तपाईहरुलाई हामीले समर्थन गर्नुस भनौला, तर त्यसमा कुनै बाध्यता छैन । तपाईंलाई चित्त बुझ्दाका दिन मात्रै हामीलाई समर्थन गर्नुस् । तपाईलाई शंका लाग्दाका दिनसम्म हामीलाई औला ठड्याउनुस्, प्रश्न राख्नुस्, हामी त्यसको उत्तर दिन, परिक्षामा सहभागी हुन तयार छौं । हामी प्रतिक्रियावादीहरुको मात्रै होईन, जनताको बीचमा उठेर आएका प्रश्नहरुको पनि जवाफ दिन तयार छौं । हामी बरु, सहिद हुनेछौं, तर सहिदको सपनालाई खेर जान दिनेछैनौं । आज म फेरि दोहो¥याउन चाहन्छु, आज एउटा चर्चा पनि छ, माओवादीले १० हजार युवा भर्ती ग¥यो रे, १० हजार होइन, हामी १० लाख भर्ती गर्छौ यो देशमा । यो देशमा सहिद, बेपत्ता योद्धाहरुको सपना पूरा गरेरै छाड्ने संकल्प यहाँहरु समक्ष राख्न चाहन्छु ।
देशमा जटिल र संकटपूर्ण परिस्थितिमा नेपाली जनतालाई यहाँका बुद्धिजीवी, युवा, किसान मजदुर, किसान, महिला, मधेशी, जनजातिलाई हाम्रो दृष्टिकोण सुनाउन हामी यहाँ उपस्थित भएका छौं । काम कुरो एकातिर कुम्लोबोकी कुतितिर भने झै देशमा जनताको अवस्था बिजोग छ । हाम्रो देशमाथि थिचोमिचो गरिएको छ । जनताहरु गरिबीको रेखामुनी पिल्सिएका छन् । कुनै सुविधा छैन । पार्टीका नेताको भाषण सुन्नु भयो, भने नेताहरु अर्कोतिर डम्फु बजाउँदैछ । दैनिक नेताहरुको ध्याय, मन्त्री कसरी बन्ने, सरकारलाई कसरी ढाल्ने, कहिले आफैँ सत्तामा पुग्ने ध्याय देखिन्छ । घोक्रो फुलाई फुलाई भाषण देखिन्छ, नपाउँने रोएको छ, पाउने घाँटी फुलाएर बसेको अवस्था छ । टेलिभिजन, रेडियो, पत्रपत्रिका हेर्दा एउटा नौटंकी जस्तो देखिन्छ । सबैतिर सरकारमा बसेर कसरी लुट्ने र लुट्न नपाएकाहरु सरकारमा कसरी पुग्ने भन्ने मात्रै देखिन्छ । जनता कहाँ छन्, देश कहाँ छन् केही मतलव देखिँदैन । सबैको जिज्ञाशा छ, माओवादीले के गर्छ ? देशमा बढेको भ्रष्टाचार अराजकता, अस्थिरताको अन्त्यको लागि जनताको कुरा सुन्ने, बोल्ने जनताको नेतृत्व गर्ने एउटा शक्ति चाहियो भनिरहेका छन् । जनताको त्यो भावनासहित हामी अगाडि बढ्न खोजिरहेका छौं । हिजो हामीले भन्दै आएको कुरा माओवादीलाई शान्ति प्रक्रियाबाट बाहिर राखेर जरबजस्ती अघि बढ्न खोजियो ।
माओवादीलाई सत्तामा सहभागी गराउने भनेका पार्टीले जनयुद्धमा अघि सारेका किसानका मुद्दाहरु हुन् । हामीलाई पद चाहिएको छैन । तर, हाम्रा मुद्दा सम्बोधन हुनुप¥यो । काँग्रेसको नेतृत्वमा सहमतिहरु उल्टाउँदै गर्दा हामीले त्यसो नगर्नुस्, शान्ति आउँदैन भनेरभन्दा मान्नु भएन, हामीले विद्रोह ग¥यौँ । आज एक थान संविधान जारी गर्दा नेपालमा आर्थिक बृद्धिदर २ अंकको हुन्छ भनियो । त्यसो भन्नेमा बाबुराम भट्टराई पनि हो, एमाले पनि हो । हामीले त्यो सम्भव छैन, यसबाट हुँदैन भन्दा पनि माओवादीबिना नै नयाँ संविधान जारी गरियो । माओवादी नामका प्रचण्ड त, त्यहाँ थिए, तर पहेलो हुने बित्तिकै सुन हुँदैन पित्तल पनि हुन सक्छ । तपाईहरुले नयाँ संविधान जारी गरेपछि सबै ठिक हुन्छ भनियो, के भयो त ? नेपालमा लोकतन्त्र आयो त ? माओवादी बिनाको सत्ताले जनतालाई प्रजातन्त्र दिन सक्दैन ।
हिजो हामीमाथि प्रजातन्त्र भाँड्ने माओवादी, उग्रवादी माओवादी भनेर आरोप लगाइयो । संविधान बनेपछि सबै ठिक हुन्छ भनियो, संविधान बनेपछि एउटा हड्डीमा कुकुरले झगडा गरे झै झगडा गर्ने तपाईहरु होइन ? एउटा हड्डीमा प्रचण्ड र केपी ओली लड्नु भयो, एउटा हड्डीमा कांग्रेस एमाओवादी र केपी ओली लडिराख्नु भएको छ । नेपालमा हामीले हे¥यौं, यहाँ प्रजातन्त्र नै आएन । यहाँ त जनताको प्रजातन्त्रको ठाउँमा दलालतन्त्र आयो । नेपालमा अराजकतातन्त्र आएको छ, भ्रष्टाचारतन्त्र आएको छ, तस्करी र कमिशनखोरहरुको तन्त्र आएको छ । जनतााई दलालतन्त्र, भ्रष्टाचारतन्त्र, कमिशनखोरतन्त्रले चुसिरहेको छ । हामीले देखेको कुरा यही हो । शान्ति हुन्छ, शान्ति भयो त ? हामीले देख्यौं माओवादीले गर्दा होइन, उहाँहरुका विवादले गर्दा संविधान नबन्दै दर्जनौं मानिसको रगत बढेको छ । संविधान बनेपछि हिंसा छ, अराजकता बढेको छ ।
संविधानपछि भारतले नाकाबन्दी ग¥यो । यहाँ कुरा भारतको नाकाबन्दीको मात्रै होइन, यो दलाल सत्ताको पनि दोष छ । नेपालमा महँगी अति बढ्यो । आर्थिक बृद्धिदर शून्यमा झ¥यो । दलालहरुका कारण उद्योगपतिहरु उद्योगबाट सडकमा पुग्ने अवस्थामा पुगेका छन् । विदेशी दलालहरु रातारात अर्बपति बनेर पलायन भएको अवस्था र केही गरांै भन्ने राष्ट्रवादीहरु सडकमा पुग्ने अवस्था सिर्जना हुन पुग्यो । कालोबजारी ३ अंकमा बढेको छ, मूल्यबृद्धि ३ अंकमा बढेको छ । तस्करी, भ्रष्टाचार मात्रै होइन, नदिनाला बेच्ने, सार्वजनिक सम्पत्ति बेच्ने दलालहरुको जगजगि हुन पुगेको छ । संविधान बनेपछि सबै ठिक हुन्छ भनेकोमा सबै बिपरित भएको छ । राष्ट्रिय स्वाधिनता बलियो हुनुको सट्टाका यहाँका दलका नेताहरु विदेशीको गोटी बन्न पुगेका छन् ।
दलका नेताहरु बाहिर बाहिर स्वाधिनताको कुरा गर्छन, भित्रभित्रै लैनचौरमा लम्पसार पर्ने गरेका छन् । दिल्लीमा पुगेर कमिशन र सत्ताको बार्गेनिङ गरिरहेको छ । एकदिन एउटा मानिसले एउटा सत्ताको कुरा गरिरहेको हुन्छ भने अर्को दिन अर्को सत्ताको कुरा गरिरहेको हुन्छ । च्याँखे थाप्ने, दाउ हान्ने स्वाधिनताको मामिलालाई जुवाडेहरुको दाउ हान्ने काम भएको छ नेपालमा । संविधान बनेपछि पनि राष्ट्रिय स्वाधिनता आएन । बरु उल्टै पराधिनता आइरहेका छ । देशमा बिदेशीहरुको चलखेल अत्याधिक बढेको देखेका छौं । दैनिक ठूलो मात्रामा युवाहरु विदेशिन बाध्य छन् । यही सत्ता रहँदासम्म नेपालीहरु स्वरोजगार हुनेछैनन् । बरु दिन प्रतिदिन किसानहरुले जमिन बेच्नुपर्ने, मजदुरहरु जागिरबाट निकालिने अवस्था आउँदैछ । युवाहरु बेरोजगार हुने स्थिति आउँदैछ । देश उद्योगतितिर गइरहेको छ ।
देशको अवस्था यस्तो हुनुमा धेरै कारणहरु छन् । नेपालमा दलालतन्त्र, दलालबर्ग हावी हुने मुख्य कारण हो । राज्यसत्तामा दलाल र विदेशीहरुको हैकम चल्दासम्म यो समस्या हल हुनेवाला छैन । राजनीतिमा बन्दै गरेको परिवेशमा यो राज्यसत्ताको विरुद्धमा माओवादीले अर्को सत्ता बनाउँछ । यो कानुनको सट्टामा माओवादीले अर्को कानुन बनाउँछ । यो सरकारविरुद्ध माओवादीले अर्को सरकार बनाउँछ । जुन दिन यो देशमा प्रतिक्रियावादी संविधान बन्यो, जुन दिन यो देशमा केपी ओलीको सरकार बन्यो हामीले पनि रत्नपार्कबाट घोषणा गरेका छौं, यो देशमा एउटा मात्रै संविधान छैन । यो देशमा एउटा मात्रै सरकार छैन । कसैलाई भ्रम नपरोस्, लेनिनले भन्नु भएको छ, जब पुरानो सत्तामा बसेकाहरुले जनतालाई उपहास गर्दछन्, त्यसले नयाँ सत्ता जन्माउँदछ ।
हामीले कुनै अन्य बार्गेनिङ होइन, माओवादी बिनाको संविधान बनाउने कार्य हामीलाई स्वीकार्य छैन भनेर भनेको कुरालाई अस्वीकार गरेपछि यो देशमा जनताको आफ्नै संविधान र सरकार पनि छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्दछ । यो देशमा शेर बहादुर र प्रचण्डजीले लागू गर्ने संविधान मात्रै होईन, दुई वटा संविधान छन् । यो देशमा किसान र मजदुरले लागू गर्ने अर्को संविधान पनि छ भन्ने कुरा सबैले हक्का राख्नुपर्दछ । हिजो प्रचण्डले भन्दै हुनुहुन्थ्यो, एक नम्बरमा स्थानीय निकायको चुनावमा जाने । हाम्रो पनि योजना एक नम्बरमा स्थानीय सत्ता तलबाट बनाएर ल्याउने हाम्रो पनि योजना छ । यो देशमा प्रतिक्रियावादी संसदीय संविधान हामी बाँच्दासम्म लागू हुनेछैन । त्यो सम्भव छैन । जनताको संविधान पनि कार्यान्वयन पनि सँगसँगै कार्यान्वयन हुनेछ । यो देशमा प्रतिनिधिसभा र संसद पनि एउटा मात्रै छैन । एउटा संसद् आईसीसी भवनमा चल्छ, अर्को जनप्रतिनिधि संसद जनताको बीचमा चल्छ ।
यो देशमा जनप्रतिनिधिसभा हामीसँग पनि छ । त्यति मात्रै होइन, यहाँ केपी ओली प्रधानमन्त्री भएको सत्ता पनि छ र यहाँ सन्तोष बुढा प्रमुख भएको अर्को सरकार पनि छ देशमा । जनतासँग अर्को संरचना पनि छ, सुशिला कार्की प्रधानन्यायाधिश भएको सर्वोच्च अदालत छ, तपाई मात्रै होईन प्रधानन्यायाधिश यहाँ जनताको अदालत पनि आउँदैछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । तपाईहरु हाम्रो कुरा सुन्नुहुन्न भने यो आउँछ, आइरहन्छ । स्थानीय निकायको चुनाव गर्ने कुरा आएको छ, स्थानीय सत्ता मात्रै होइन, यहाँ फ्याक्ट्री फ्याक्ट्रीमा मजदुरको सत्ता छ । हामी यो सत्तासँग हरेक कुरामा प्रतिस्पर्धा गर्न तयार छौं । बिप्लव भूमिगत भयो भन्ने पनि सुनियो । यो पञ्चायती कुरा भयो । अहिले हामी जनताको बीचमा गएको मात्रै हो । हामी काठमाडौंमा पनि लड्ने हो, थवाङमा पनि लड्ने । हामी सिन्धुली, मुस्ताङ, ताप्लेजुङ वा जनकपुर सबै ठाउँमा लड्ने हो । तिमीहरुले जनयुद्धमा हामीलाई हराएको हुन्थ्यो भने हामी सहिद हुन्थ्यौं, हामीलाई भन्नु केही हुने थिएन । लडाईमा हामी पनि आँटेर नै गएको हो । तपाईहरु पनि तयार भएर आएको हो भने हामी तयार । तर कुर्सीमा लगेर एक–दुईजना बद्नाम माओवादीलाई किनेर, पैसाका लोभीहरुलाई घेरा हालेर, दुई–चार करोडमा किनेर सत्ता टिकाउने जो सपना देखेका छौं, हेरौं प्रतिस्पर्धा गरौं, फेरि लडाई भयो र हामीले हारेछौं भने कति चलाउँछौं, चलाऊ सत्ता ।
त्यसमा नेपाली सेना नै आउँछ भने पनि हामी छाती थापेर लड्न तयार छौं । तर, नेपाली सेनाले कसलाई साथ दिने हो ? नेपाल प्रहरी यो देशका दलाललाई साथ दिने कि जनतालाई साथ दिने रोज्ने बेला आएको छ । नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी सामू गम्भिर प्रश्न उब्जेको छ । तिमीहरुले देश बेचेर खाने दलालहरुलाई साथ दिने कि जनतालाई ? नदि नाला बेचेर खानेलाई दिने ? तीन पुस्तासम्म शासन गर्नेलाई साथ दिने कि जनतालाई ? चप्पल पनि लाउन नपाएकालाई साथ दिने कि भुँडी पनि पल्टाउन नसक्नेलाई साथ दिने ? एक छाक खान नपाउने मजदुरलाई साथ दिने कि ? पैसाको हिसाब गर्न नसक्नेलाई साथ दिने ? बिदेशिने नौजवानलाई साथ दिने कि दलालहरुलाई साथ दिने प्रहरी र सेनाले पनि सोच्ने बेला आएको छ ।
यहाँ एउटा चर्चा छ, बिप्लव माओवादी युद्ध गर्न लाग्यो रे । हामीले युद्ध लड्ने कुरा गरेको होईन । हामीले मुक्तिको कुरा गरेको हो । स्वाधिनताको कुरा गरेको हो । तर, न्यायलाई बन्दुकले दवाउन खोजियो भने, मुक्तिलाई बन्दुकले दवाउन खोजियो भने, नेपाली जनताका भावनालाई बुटले दवाउन खोजियो भने, विदेशीको इसारामा नेपाली जनतामाथि बुटले दवाउन खोजियो भने हामीले प्रतिरोध युद्ध लड्नेछौं । जनताको विरुद्धमा युद्ध लड्ने अधिकार प्रतिक्रियावादीलाई छ भने, विदेशीहरुलाई छ भने अन्यायपूर्ण, विध्वंसकारी युद्धका विरुद्धमा लालयुद्ध गर्ने अधिकार जनतालाई छ ।
देशभक्तहरुले अब बोल्नुपर्दछ, हामीले किन नलड्ने भनेर भारतीय सुरक्षाकर्मीहरु एके–४७ सहित नेपाल छिरेका छन् । केपी ओलीको सरकारले भारतसँग झुकेर नेपाल छिरेका भारतीय प्रहरीलाई कारवाही गर्नुको साटो लुत्रुक्क परेर दिल्लीलाई बुझाउँछन् । देशको गृहमन्त्री शक्ति बहादुर बस्नेत छन्, हिजो सँगै हिडेको, उहाँको पारा देखेर टिठ पनि लाग्छ, हात जोडेर भारतीय प्रहरी भारतलाई बुझाउने ? यो जुन परिस्थिति बनेको छ, तपाई सेना प्रहरीका कर्मचारी, देशभक्तहरुले भन्नुपर्दछ । विदेशीहरुले दिनदहाडै काठमाडौंमा आएर हाम्रो प्रहरीलाई हेप्दा, हाम्रो प्रहरीलाई हेप्दा तपाईहरुलाई बोल्नै नदिने यो सत्तासँग लड्ने कि नलड्ने ? हाम्रो सशस्त्र प्रहरीका भाइहरुलाई बोर्डरमा गोद्ने विरुद्ध हामीले लड्ने कि नलड्ने ? देशभक्त साथीहरु तपाईहरु जहाँ भए पनि सोच्ने बेला आएको छ । तपाईहरुसँग हाम्रो सहकार्य गर्ने नीति छ । उद्योगपति साथीहरु तपाईहरुसँग सहकार्य गर्ने हाम्रो चाहना छ । यो नेपाललाई साँच्चै केही गरेर देखाउने हाम्रो इच्छा छ । अधिकार सम्पन्न नागरिक, अधिकार सम्पन्न किसानलाई साँच्चै नागरिकको अनभूति गराउने उद्देश्य छ । यतिबेला नेपालका युवाहरुलाई आधुनिक गुलाम बनाइएको छ । नेपालीहरुलाई अलिकति पैसाले बाँधेर बिदेश पु¥याएर गुलाम बनाइएको छ ।
आज साम्राज्यवादले जातिवाद र धर्मवाद हुलेर नेपाललाई तहस नहस बनाउन खोजिरहेको छ । नेपाली जनताको एकतालाई फुटाउने प्रयास भइरहेको छ । राजनीतिमा माओवादीसँग प्रतिस्पर्धा गर्न नसकेपछि साम्राज्यवादीहरुले धर्म हुलेका छन् । धर्मको नाममा जनतालाई लडाउने, भिडाउने प्रयास भइरहेको छ । कसैले धर्ममा आस्था राख्छ, हामीलाई भन्नु केही छैन । यो भगवानले भाग्य बनाईदिने भए, दुःख गर्ने नेपालीहरुको भाग्य सबैभन्दा राम्रो हुने थियो । भगवान, अल्लाह, इसामसिह, राम कृष्णहरुले हेर्ने भएको हाम्रो हालत यस्तो हुने थिएन । परम्परादेखि मान्दै आएको धर्म मान्नुस्, हाम्रो अबरोध हुदैन तर धर्ममा लड्नु हुँदैन ।
नेपाल प्रहरी र नेपाली सेनाले पनि सोचोस्, तपाईहरुले जनता विरुद्धको युद्धमा कहिले पनि जित्नु भएको छैन । केपी ओलीको सरकारले गनसिप ल्याउँछ रे । भूकम्पमा जनताले बास र गास पाएका छैनन्, अनि त्यो ल्याउन लागिएको गनशिप ल्याउने ? भारतसँग लड्न हो ? चाइनासँग लड्न हो ? माओवादीलाई मनोबैज्ञानिक रुपमा कमजोर बनाउने काम भइरहेको छ । गनशिल ल्याइँदैछ, पख्लास् भन्या होला, गनसिप वा तोपसिप हामीलाई केही मतलव छैन । नेपाली सेनाले बुझ्नु पर्दछ, आकाश र जमिनबाट भुट्छौं भन्ने सोचेका हौला । केही हुनेवाला छैन । जनता उठे भने इतिहास जनताले निर्माण गर्ने हो बन्दुकले निर्माण गर्ने होईन । प्रतिक्रियावादीहरुको बन्दुकले इतिहास निर्माण गर्न सक्दैन ।
हामीले तीन वटा कुरा अघि सारेका छौं । पहिलो भ्रष्टाचारीहरुलाई चारैतिरबाट घेरा हालेर तिनका विरुद्धमा संघर्ष छेड्नु पर्दछ । हामीलाई के विश्वास छैन भने लोकमान सिंह कार्कीको टंगालस्थित कार्यालयबाट फर्मान जारी गरेकै भरमा भ्रष्टाचार निर्मूल हुनेवाला छैन । बरु चोरमाथिको चण्डाल हुनेवाला छ । साना भ्रष्टाचारलाई देखाएर ठूला भ्रष्टाचारी उम्कने खतरा यहाँ छ । उही लोकमानले भ्रष्टाचार गर्ने र उही लोकमानको बिशेष अदालतले फुकुवा गर्न बेर छैन यहाँ । हामीले भ्रष्टाचारविरुद्धको संघर्षमा जोडतोडका साथ जनतालाई साथ लिएर अघि बढ्नुपर्दछ । यहाँ कालोबजारी छ । कालोबजारीमा ठूला नेताहरु, मन्त्री, तस्कर र कर्मचारीहरु समेत छन् । ठूलो ठूला तस्करीले सेटिङ गरेर रातारात करोडौं, अर्बौ कमाउनेहरु सक्रिय छन् । विद्यार्थी, मजदुरलाई कुनै सुविधा छैन । जनजीविकाको बारेमा संघर्ष अघि बढाउन जरुरी छ ।
अर्को राष्ट्रियताको बारेमा पनि संघर्ष अघि बढाउनु पर्ने आवश्यकता छ । अपर कर्णाली, कोशी उच्च बाँध, अरुण तेस्रो, फास्ट ट्रयाक यी सबैको कुरा आएको छ । अपर कर्णालीबाट नेताहरुले घुस खाएका छन्, त्यो बारेमा कुनै नेताहरु, काँग्रेस, एमाले र एमाओवादीका नेताहरु बोल्दैनन्, मुखमा पैसाको बुझो लगाएर राष्ट्रिय स्वाधिनतामाथि घात गरेका छन् । अपर कर्णालीको कम्पनीलाई कुनै पनि हालतमा खारेज गरेर नेपाली जनताको पक्षमा रहने उपयुक्त कम्पनी छनौट गरी निर्माण गर्नुपर्दछ हामीले भनेका छौं । त्यही कुरा अरुण ३ मा पनि लागू हुन्छ । अरुण ३ बाट बिजुली निकालेर पट्ना लैजान पाइदैन । त्यो बिजुली यही उपभोग गर्नपर्दछ । कोशी हाईड्याम पनि त्यही हो । फास्ट ट्रयाकको बिषयमा शेर बहादुर एउटाले लज्जास्पद भाषण गरेका छन् । काँग्रेसलाई पनि लाज लाग्नु पर्ने हो । फास्ट ट्रयाकलाई भारतलाई नै दिनुपर्दछ भन्ने अभिव्यक्ति दिएका छन् । उनलाई देखेर लाग्छ, पद पाएपछि देशै पनि बेचेर हिड्छन् । फास्ट ट्रयाकमा एउटा कुनै विदेशी कम्पनीर्लाइ कर तिर्नको लागि फास्ट ट्रयाक निर्माण गर्न कुनै पनि हालतमा दिँदैनौं । उपयुक्त विधि खोज्नुपर्दछ । असमान सन्धी सम्झौताहरु खारेज गरिनुपर्दछ, त्यो मात्रै होइन, नेपाल–भारतको सीमामा नियमन गर्नुपर्दछ । केही दिन अघि मात्रै पनि रौतहटमा ४ बिघा जमिन खाएको अवस्था छ । बाँकेको अवस्था त्यस्तै छ ।
सीमानामा नेपालका प्रहरी सुरक्षाकर्मीमाथि भारतीय सुरक्षाकर्मीको ज्यादती अन्त्य गर्न पनि एउटा राष्ट्रिय सीमा सुरक्षा बल बनाएर त्यहाँ राखिनुपर्दछ । नेपालमा आएर विदेशीले पैसा निकालेर भाग्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । कैयौं बिदेशी दलाल पुँजिपतिहरुले नेपाली जग्गा नेपालको बैंकमा राखेर एक सातामा काम फत्ते गरेर भागेको अवस्था छ । त्यसकारण पुँजिको ठीक ढंगले परिचालन गर्न जरुरी छ । हामी यो प्रतिक्रियावादी सत्तालाई खारेज गर्दै जनगणतन्त्र नेपालको निर्माणको दिशामा अघि बढ्दैछौं । संसदीय सत्तालाई खारेज नगरेसम्म हामीले कुनै पनि दिन आराम गर्ने छैनौं र जनवादी सत्ता स्थापना गरेरै छोड्नेछौं ।
नेपालमा दुई वटा खतराबाट हामी बच्नुपर्दछ । एउटा धार्मिक युद्ध लडाउने खतरा छ, अर्को जातिय युद्ध लडाउने खतरा छ । त्यहीभित्र साम्राज्यवादीहरु घुस्ने खतरा छ । त्योबाट हाम्रा जनतालाई टुक्रा टुक्रा पार्ने, हाम्रो स्वाभिमान र स्वाधिनतालाई निलिदिने एउटा चुनौति हाम्रो अगाडि आएको छ । त्यसकारण यहाँ मधेशी, पहाडि जनजाति, क्षेत्रीबाहुनको कुरा होइन, उत्पीडनमा परेका जनतालाई मुक्त गर्नुे मुख्य कुरा हो । मधेशी, जनजाति, पहाडी, पूर्व, पश्चिम, पहाड, तराईका हामी सबै एक भएर दलाल पुँजिपतिहरुको सत्तालाई उल्टाउने हो र नेपालमा जनताको सत्ता स्थापना गर्ने हो । कुनै पनि मूल्यमा हामीले पहाडिया समुदायको विरुद्धमा मधेशी वा मधेशीका विरुद्धमा पहाडिया हुन दिनु हुँदैन । त्यसो गर्नु पनि हुँदैन ।
मधेशका जनतालाई म भन्छु, तपाईहरु भ्रममा नपर्नु होला । मधेश पहाड होईन, भारतले मधेशलाई साथ दिन्छ भन्ने जो भ्रम छ, त्यो केवल दिवा भ्रम हो । केही पनि होइन त्यो । दिल्लीको नीति भनेको काठमाडौंलाई नियन्त्रण गर्ने नीति हो । दिल्लीको नीति भनेको छिमेकीहरुलाई नियन्त्रण गर्ने, खाने नीति हो । तपाईहरुले मधेशीहरुलाई दिल्लीले माया गर्छ कि भन्ने ठान्नु भयो भने त्यो पुरै गलत दृष्टिकोण हो । दिल्लीले माया गर्ने भनेको दलाल, सामन्त र पुजिपतिहरुलाई हो । अनि उसको सामू लम्पसार पर्ने नोकरचाकरहरुलाई हो । नेपाली जनतालाई कहिले पनि गर्दैन । यो भ्रम कसैले नपाले हुन्छ । त्यही बिहारमा यादव, तेली, महतो अनि पासवानहरु छन् । के दिल्लीले बिहारका जनतालाई स्वतन्त्रता दिएको छ ? त्यहाँका किसानहरुले चलाएको आन्दोलनमा, माओवादीले चलाएको आन्दोलनमा दिल्लीले दिनहुँ यावदहरुलाई मारिरहेको छ । दिनदिने पासवान, महतोहरु मारिहेका छन् । यतापट्टिका यादवहरुलाई दिल्लीले माया गर्ने र उताका यादवहरुलाई मार्ने हुनसक्दैन । त्यहाँ एउटा दृष्टिकोण छ, नेपालको कुनै यादव माओवादी भयो, भने दिल्लीले पहाडियालाई होइन, सबैभन्दा पहिला त्यो यावदलाई मार्नेवाला छ । यो कुरा तपाईहरु सबैले बुझ्न जरुरी छ । पासवान, महतोहरु नेपालका माओवादी भए भने यहाँका पहाडियाहरुलाई च्यापेर यादव, पासवान र महतोलाई मार्न आदेश दिनेवाला छ । त्यसैले हामीले के भ्रम पाल्नु हुँदैन भने भारतले मधेशीलाई संरक्षण गर्न र पहाडियाहरुलाई गर्दैन यो हुँदै होइन ।
एक मधेश एक प्रदेश भनेर जबरजस्त लाद्न खोज्ने दिल्ली ? अरु कुरा छोडौं नेपाली भाषीहरुले माग गरेको गोर्खाल्याण्ड, एउटा सानो गोर्खाल्याण्ड राज्य चाहियो भने दार्जलिङका नेपाली भाषीहरुले आन्दोलन गर्न थालेको कति बर्ष भयो ? दशकौं बितिसक्यो । दिल्लीले नेपाली भाषीमाथि दमन गर्छ । अनि त्यसले दिन्छ मधेशलाई मुक्ति ? आफ्नै देशका नागरिकमाथि दमन गर्ने भारतले, अहिले दार्जलिङ जेसुकै भएपनि भारतकै अन्तर्गत रहेपनि दार्जलिङमाथि दमन गर्ने दिल्लीले नेपालका मधेशी दाजुभाइहरुलाई अधिकार दिन्छ भन्ने भ्रम पालेको हो भने त्यो सम्भव छैन । हामी यही दुई वटा कुराबाट मुलुकलाई बचाउनु पर्दछ । क्षेत्रियता र जातियताबाट मुलुकलाई बचाउन सक्नुपर्दछ ।
(नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्दले जेठ ७ गते राजधानीको खुलामञ्चमा आयोजित जनसभामा दिएको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु