सुरु भयो क्रान्तिकारी ध्रुबीकरण – खेम थपलिया

२०७३ जेष्ठ १० गते, सोमबार

‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रिया वादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन’ भन्ने प्रतिवद्धताका साथ सुरु भएको जनयुद्धको मुल नेतृत्व प्रचण्डले यतिखेर आफैँले ती प्रतिवद्धतालाई धुजा धुजा पारेर सडकमा असरल्ल पारेर फ्याँकि दिएका छन् र कम्मर कसेर त्यही ससद्वादलाई सुदृढ गर्न लागेका छन् ।
नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादमा जानु माओवादीको अहिलेको कार्यभार हो । साम्यवादसम्म पुग्नु माओवादीको अधिकतम लक्ष्य हो । माओले भनेका छन्– “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनै पर्छ, क्रान्तिकारी पार्टी बिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टी बिना, साम्राज्य वाद तथा यसका दलाललाई पराजित गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।” त्यसैगरी स्टालिनले पनि भनेका छन्– “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्य वादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकत्व कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।” माओ र स्तालिनले माथि भने जस्तै नेपाली क्रान्तिको निम्ति अब त्यो आँट गर्नै पर्छ । नेकपा माओवादी आफुलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक तथा सैद्धान्तिक रूपमा एकतावद्ध पारेर पार्टीलाई जनवादी क्रान्तिमा होमिइ सकेको छ ।
विश्व कम्युनिस्ट इतिहासमा एउटा प्रसिद्ध भनाइ छ– “क्रान्तिको प्राधिकार र जनमतको प्राधिकार एक–आपसमा बाझियो भने अन्ततः कम्युनिस्टले क्रान्तिको प्राधिकार रोज्नु पर्छ ।” नेपालको राजनीतिमा कमरेड नेत्र विक्रम चन्द ‘विप्लव’ को नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी त्यही क्रान्तिको प्राधिकारको रोजाइ हो ।

क्रान्ति, जनमत र ऐतिहासिक तथ्यलाई फ्याँकेर जो कोही पनि अघि बढ्छ भने त्यस्तो नेतृत्व र व्यक्तिलाई जनताको आन्दोलनले फ्याँकि दिनेछन् । यो कुरा प्रचण्डको पछिल्लो राजनीतिक अवस्थाले पुष्टि गरेको पनि छ ।
क्रान्तिकारी शक्तिको नेतृत्वमा जनताले सङ्घर्षको मोर्चा सम्हाल्नु पर्ने हुन्छ । जनमुक्तिको महाअभियानमा भएको महान् बलिदानबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्दै लक्षित गन्तव्यमा पुग्न सच्चा माओवादीहरू एक ढिक्का भएर अगाडि बढ्नुको कुनै विकल्प छैन । हिजो महान् जनयुद्धको नेतृत्व गरेर आएका शीर्षस्थ नेताहरूमा आएको भयानक विचलन, प्रतिक्रिया वादीहरूको माओवादी विरुद्धको घेराबन्दी तथा सही क्रान्तिकारीहरूको नयाँ क्रान्तिकारी पहलकदमीलाई हेर्दा नेपाली राजनीतिका आगामी दिनहरू भयङ्कर उथुल पुथलकारी हुने कुरामा कुनै शङ्का छैन ।
माओले आफ्नो देशमा भइरहेको क्रान्तिको सन्दर्भ भनेका छन् “अहिले विश्वमा दुई किसिमका हावा चलेका छन्– एउटा पुर्वेली हावा र अर्को पश्चिमी हावा । चिनियाँ कथन अनुसार कि त पूर्वको हावाले पश्चिमको हावालाई पराजित गर्छ, कि त पश्चिमको हावाले पूर्वको हावालाई पराजित गर्छ । मेरो विचारमा वर्तमान परिस्थितिको चरित्र हेर्दा पूर्वको हावाले पश्चिमको हावामाथि विजय प्राप्त गरि सकेको छ ।”
प्रचण्डहरूमा आएको वैचारिक तथा राजनीतिक विचलनका कारण प्रतिक्रान्ति हावी भएको छ । अस्थायी रूपमै भए पनि दक्षिणपन्थी हावी भएको छ । तिनका विरुद्ध जनताले सशक्त प्रतिरोधी सङ्घर्ष गर्नुको कुनै विकल्प हुँदैन । त्यसैले अब नेपाली राजनीतिको पछिल्लो नकारात्मक विरासतलाई उल्ट्याउँदै प्रतिरोध सङ्घर्षलाई माथि उठाउन आवश्यक रहेको छ ।
क्रान्ति भनेको मनोवैज्ञानिक कुरा पनि हो । जो मानसिक रूपमा दुश्मनका विरुद्ध लड्न तयार हुन्छ । ऊ कहिल्यै पनि पराजित बन्न सक्तैन । माक्र्सले भने जस्तै विश्वको व्याख्या मात्रै ठूलो कुरा होइन, बदल्नु चाहिँ ठूलो कुरा हो ।
ठोस परिस्थितिको ठोस विश्लेषण गर्दा मालेमावादको जगमा उभिएको नेपाली समाजको पछिल्लो विशेषतामा आधारित ‘एकीकृत जनक्रान्ति’ को प्रस्तावनाले नेपालमा जनवादी क्रान्तिको कार्यभार पुरा हुने विश्वास व्यापक बन्दै गएको छ । नेपाली जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने गरी कोरिएको ‘एकीकृत जनक्रान्ति’ सिद्धान्तले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत सकारात्मक प्रभाव पार्दै गएको छ ।
हाम्रा प्रहारका निशाना माओवादी आवरणका प्रतिक्रिया वादी शिविरतिर सोझ्याउनुपर्दछ । परिवर्तनकारीहरू, क्रान्तिकारीहरू वैचारिक बहसदेखि कहिल्यै पनि डराउँदैनन् । उनीहरू भौतिक, मानसिक तथा वैचारिक रूपमा दुश्मनका विरुद्ध लड्न सदैव तयार हुन्छन् ।
माओले सिकाएका छन्– “पार्टी भनेको सर्वहारा वर्गको अग्रदस्ता हो र सर्वहारावादी सङ्गठनको उच्चतम रूप हो । यसले अरू सबै सङ्गठनहरूलाई नेतृत्व गर्नु पर्दछ– जस्तो सेना, सरकार र जनसङ्गठनहरू । पार्टीले सर्वहारा वर्गका अन्य सबै सङ्गठनहरूलाई नेतृत्व गर्नु पर्दछ । यसो नगरे सर्वहारावर्गको सङ्घर्ष विजयी बन्न सक्दैन ।”
त्यसैले एक पटक प्रतिक्रान्ति र राष्ट्रघातका विरुद्ध प्रतिरोध सङ्घर्ष गर्न तयार होऔँ । प्रतिरोध सङ्घर्षलाई माथि उठाऔँ । सबैभन्दा भ्रष्टाचार विरोधी, सबैभन्दा सामुहिकतावादी, सबैभन्दा खुला र स्पष्ट, सबैभन्दा भौतिकवादी भन्ने कम्युनिस्ट विचार र नीति हो तर आज प्रचण्डको नेतृत्वमा कम्युनिस्ट नेताहरू नै सबैभन्दा भ्रष्टाचारी, सबैभन्दा व्यक्तिवादी, सबभन्दा साँघुरा, सबभन्दा अस्पष्ट छन् । नेपालका कम्युनिस्टहरू गैर–कम्युनिस्टहरूले पनि नगर्ने काम गर्न समेत थालेका छन् ।
माओवादी आन्दोलनको यो नयाँ कडीमा माओवादी विचार, सिद्धान्त, दर्शन र व्यवहारका आधारमा उच्चता बोध गराउनु पर्ने आजको आवश्यकता हो । त्यसकारण आजको आवश्यकता भनेको वास्तविक कम्युनिस्ट अर्थात् माओवादी बन्ने र बनाउने अभियानको थालनी पनि हो ।
अन्तमा यति मात्र भनौँ– जाग ! आफ्ना मोह र निद्राहरू त्याग ! जोसित तिमी यस अँध्यारो घडीमा मार्ग दर्शनको अपेक्षा राखेका छौ, त्यसको हातमा विचारको मसाल छैन । क्रान्तिको मसाल छैन । केवल निभिसकेर अलि अलि पुत्ताइरहेको अगुल्टो मात्र छ । सबै सबै रित्तिकै गएको यति बेला कोही कोही आत्म प्रशंसामा रमाइरहेका छन् । वास्तवमा ऊ मरिसकेको छ । जोसित तिमी जीवन, सङ्घर्ष र सिर्जनका ऋचाहरू सुन्न चाहन्छौै । ऊ त केवल ङारङार र ङुरङुर गर्न मात्र सक्तछ । जोसित तिमी नयाँ सङ्घर्षको आह्वानको आशा गरिरहेका छौ । जसमाथि निस्क्रिय र गतिहीन विचारका लासहरू कुहिरहन्छन् । यसबाट सकारात्मक अपेक्षा गर्नु बेकार छ । जनताका त्याग, बलिदान र सौर्यको गीत गाऊ । राजनीतिक व्यापारीलाई विचारको मोलतोल गर्नबाट रोक । एकीकृत जनक्रान्तिले व्यापक रूपमा विश्वास आर्जन गर्दै गएको यति बेला कथित माओवादी एकता भनेको दक्षिणपन्थी हावाहुरी बाहेक अरू केही होइन भन्ने कुरा सुपष्ट नै छ । सच्चा क्रान्तिकारी कम्युनिस्टहरूका बिच ध्रुबीकरण आजको आवश्यकता हो । वर्ग पक्षधरता र वर्ग दृष्टिकोणमा स्पष्ट भएर क्रान्तिकारी आशावादका साथ अघि पढौँ ।
नेपालमा पुनः एक पटक क्रान्तिकारी ध्रुबीकरण सुरु भएको छ । हिजो मात्र नेकपा माओवादीका महासचिव कमरेड विप्लव, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियसका संयोजक हेमन्त प्रकाश ओलीले एक संयुक्त वक्तव्य जारी गर्दै नेपालको माओवादी राजनीतिको पछिल्लो अवस्थाबारे स्पष्ट पारेका छन् । यसले नेपालमा क्रान्तिकारी ध्रुबीकरणको तीब्रतालाई स्पष्ट रूपमा संकेत गरेको छ ।
विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादीले यही जेठ ७ गते काठमाडौंमा रहेको खल्लामञ्चमा गरेको भव्य र विशाल आमसभाले क्रान्तिकारी ध्रुबीकरणको सुस्पष्ट सङ्केत गरेको छैन र !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु