जनचाहनालाई उपेक्षा नगर

२०७३ जेष्ठ ९ गते, आईतवार

नेकपा माओवादीले गत शुक्रबार राजधानीको खुलामञ्चमा विशाल विरोध प्रदर्शन तथा जनसभा सम्पन्न गरेको छ । माओवादीले दस वर्षे जनयुद्धको उपलब्धि गुमेको भन्दै सो विरोध प्रदर्शन तथा जनसभा प्रदर्शन गरेको बताएको छ । जनसभामार्फत उसले यदि १० वर्षे जनयुद्धको उपलब्धि नामेट पार्न सत्तासीन दलहरुले सोचेको हो भने अर्को जनयुद्ध हुने उद्घोषसमेत गरेको छ । यसैगरी, देशको वर्तमान संकटको निकास वर्तमान संविधानले दिन नसक्ने भन्दै मधेशवादी दललगायत २९ दलीय संघीय गठबन्धनले पनि संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन चर्काइरहेको छ । यसरी देशका अधिकांश दल र आमजनता आफ्नो हक र अधिकारको लागि सडक तताइरहँदा सरकार भने मौन बसेको छ । यसरी जनता सडकमा ओर्लंदा उनीहरुको मागको सुनुवाई गर्न छोडी सरकार कानमा तेल हालेर बस्नु पक्कै सुखद संकेत होइन । सरकारको यो कार्यशैलीले देश द्वन्द्वमा जाने र जनताले फेरि सकस व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । तसर्थ, सरकारले तुरुन्त नेकपा माओवादीलगायतका दलहरुले उठाएको मागको सम्बोधन गर्नुपर्छ । देश र जनताको माग र चाहनामाथि खेलबाड गर्ने सरकार, दल र नेतामाथि नेपाली जनताले खबरदारी सुरु गरिसकेका छन् । तसर्थ, जनताको माग समयमै सुनुवाइ होस् अन्यथा स्थिति भयावह हुन सक्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु