जनयुद्धको सबै जिम्मेवारी लिन तयार छु : दाहाल

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौं, ३१ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू तत्कालीन विद्रोही सेना र पार्टीको प्रमुख भएकाले युद्धकालका सबै घटनाको जिम्मेवारी लिने’ बताउँदै ‘पार्टी एकता हुन्छ भने सरकार छाड्न पनि तयार’ रहेको बताएका छन् । बृहत् शान्ति–सम्झौता र युद्धकालीन मुद्दा विषयक अन्तरक्रियामा सो कुरा बताएका हुन् । अन्तरक्रियामा उनले बृहत् शान्ति–सम्झौता कार्यान्वयन नभएपनि प्रक्रियामा रहेको बताए ।
सोहि कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संक्रमणकालीन न्यायको सिद्धान्तले राजनीतिक परिर्वतनलाई आत्मसात् गर्न नसक्नुले ठूलो समस्या खडा गरेको भन्दै समस्या समाधान गर्न सबै पक्षबीच नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताए । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै वैद्यले त्यसका लागि कमी–कमजारीको समीक्षा जरुरी भएको बताए ।
कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाइँलगायतले सत्तारुढ दुईघटक एमाले र एमाओवादीबीच भएको ९ बुँदे सहमतिले न्याय पाउने द्वन्द्वपीडितको अभिलाषामा तुषरापात् गरेको टिप्पणी गरे ।
पाँचओटै माओवादी घटकले आयोजना गरेको कार्यक्रममा माओवादी नेता–कार्यकर्ताका साथै मानवअधिकारकर्मीहरुको पनि सहभागिता थियो । अरु धेरैजसो वक्ताले छिन्न–भिन्न भएका माओवादीलाई अस्तित्व जोगाउनकै लागि भएपनि एक हुन आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु