घोडेपानीमा अत्याधुनिक ‘वेदर स्टेसन’ स्थापना

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौ, २२ बैशाख । म्याग्दीको घार गाविस–१ घोडेपानीमा मौसमी अवस्थाको जानकारी दिने अत्याधुनिक उपकरण जडित ‘वेदर स्टेसन’ स्थापना भएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानी डाँडाको एक घरमा जोमसोमतर्फ फर्काएर राखिएको स्वचालित क्यामेराले खिचेको दृष्य इन्टरनेटमार्फत अवलोकन गर्न सकिने भएको छ ।
तारा एयर प्रालिले पोखरा–जोमसोम हवाईमार्गमा पर्ने घोडेपानी क्षेत्रको मौसमी अवस्थाको बारेमा जानकारी प्राप्त गर्न दुई हप्ताअघि वेदर स्टेसन स्थापना गरेको हो । सो प्रविधिमार्फत पोखरा, जोमसोम, काठमाडौँमा बसेरै घोडेपानी क्षेत्रको मौसमको अवस्था अवलोकन गर्न सकिने तारा एयरका प्रबन्धक भीमराज राईले बताउनुभयो ।
उहाँका अनुसार पोखरा–जोमसोम हवाई यात्रालाई सुरक्षित बनाउन तथा उडानका लागि सावधानी अपनाउन जापानको ‘वेदर न्युज’ संस्थाको सहयोगमा प्रविधि जडान गरिएको हो । “पोखरा–जोमसोम उडानका लागि घोडेपानी क्षेत्रको आकाशमा मौसमको अवस्था कस्तो छ भनेर जानकारी लिन प्रविधिले सहयोग गरेको छ”, राईले भन्नुभयो “त्यहाँको मौसमको बारेमा बुझेर मात्र उडान गर्न थालिएको छ ।”
कुहिरो लागेको, पानी परेको, आकाश खुले नखुलेको बारेमा तत्कालै सूचना पाउन सकिन्छ । घरको छतमा जडान भएको स्वचालित वेभ क्यामेराले खिचेका दृष्य प्रत्यक्ष देखिन्छ । पोखरा–जोमसोम हवाई यात्राका क्रममा म्याग्दीको घोडेपानीदेखि मुस्ताङको सिमानासम्मको मौसमको अवस्थाका बारेमा पूर्व जानकारी नहुँदा उडान भर्न समस्या हुने गरेको थियो ।
त्यस क्षेत्रको आकाशको मौसम छिटोछिटो परिवर्तन हुने गर्छ । चौबीसै घन्टा उपकरण चालु रहने व्यवस्था मिलाइएको घोडेपानीका बासिन्दा जुनबहादुर पुनले बताउनुभयो । जोमसोम र पोखरा विमानस्थलको टावरसँग सम्पर्क नहुने भएकाले १५ मिनेटको उडानमा जहाज घोडेपानीदेखि मुस्ताङको लेतेमाथिको आकाशमा नपुग्दासम्म पाँच मिनेट सम्र्पकविहीन हुने गर्छन् ।
२०७२ फागुन १२ गते पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान म्याग्दीको दाना गाविस–२ सोलीघोप्टेमा दुर्घटना भएको थियो । म्याग्दी र मुस्ताङ जिल्लाको सिमानामाथिको आकाशमा कुहिरो लागेको अवस्थामा पोखराबाट उडेको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । – सन्तोष गौतम/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु