शंका र भ्रमले लाग्छ मनोरोग

२०७३ बैशाख १२ गते, आईतवार

काठमाडौं, १२ बैशाख । चितवन दिव्यनगरकी ४५ वर्षीया एक महिलाको आँगनमा चिप्लिएर हात भाँचियो । त्यसपछि उनले झारफुक गरेर झाँक्रीले भनेको पत्याएर जडीबुटीका लहराले बाँधेर राखिन् । त्यसपछि उनले नमस्कार गर्दा हात लुकाउने, पछौराले छोप्ने, कुनै कार्यक्रम गर्दा नजाने गर्न थालिन् । एकाएक उनको जीवनमा परिवर्तन आयो । पहिले हँसिली ती महिला पछि बोल्नै छाडिन् । एक त आर्थिक अवस्था कमजोर अर्काे भाँचिएको हातमा लहरा बाँधेकाले जिस्काउला भन्ने डर उनमा पैदा भयो ।
त्यसैले लुकेर हिँड्न थालिन्, स्थानीय मनोविमर्शकर्ता आरती विकले भन्नु भयो, “हाम्रो त वरिपरि नै पर्न छाडिन् ।” यो कुरा आरतीले गाउँमा बनेको मनोसामाजिक सहयोग समितिमा राखिन् । समूहमा सिकेको कुरा लागू गर्न केही महिला तम्सिए । बाटो काट्ने बेलामा उनको घरमा पस्ने नबोले पनि बोलाउने गर्नुपर्छ भनेर केही महिला कस्सिए । त्यो क्रम केही दिन चल्यो । बिस्तारै गाउँलेले उनलाई नजिक बनाए । त्यसपछि उनी खुल्न थालिन् । हात देखाउने भइन् । “हात लामो समय सफा नगर्दा मयलले भरिएको र हात नै बाँगोजस्तो भइरहेको रहेछ”, मनोसामाजिक परामर्शदाता राधा अर्यालले भन्नु भयो ।
उनलाई हामीले नै पैसा उठाएर उपचार गरायौँ । अहिले उनको जीवन पुनः पुरानै अवस्थामा आएको छ । “त्यो दिदीलाई देख्दा मनमा शान्ति पाएपछि त्यसै चमक देखिँदो रहेछ भन्ने लाग्छ”, आरतीले भन्नु भयो । गाउँकै ६५ वर्षीया वृद्धले श्रीमती कोहीसँग बोल्दा पनि झगडा हुने अवस्था आयो । अर्कैसँग लागि भनेर रिस गर्न थाले । श्रीमानले हेराउन जाँदा झाँक्रीले फुकेको सुपारी खुवाउन सल्लाह दिएछन् । तर नमान्दा परिवारमा कलह बढ्यो । श्रीमानकै भनाइअनुसार फुकेको सुपारी दिन मनोविमर्शकर्ता तयार भए । “तर त्यो सुपारीमा कुनै विषादी पनि हुन सक्छ भनेर हामीले सुपारी परिवर्तन गरेर खान दियौँ त्यसपछि सबै समस्या हल भयो,” आरतीले भन्नु भयो । उनको मनको सन्तोषका लागि सुपारी दिनुपरेको स्थानीयवासी बताउँछन् ।
यसरी गाउँमा आठ वटा समूहका १८० जना स्थानीयवासीलाई मनोविमर्श सेवा दिइएको थियो । त्यसमध्ये ११ जनामा समस्या देखिएको मनोविमर्शकर्ता राधा अर्यालले बताउनुभयो । सात जनाको गाउँमा मनोसामाजिक सहयोग समितिमार्फत समस्या समाधान भयो । अन्य चार जनालाई अलि गम्भीर भएकाले उपचारका लागि सिफारिस गरिएको स्थानीयवासी टीकाप्रसाद अधिकारीले बताउनु भयो । टिपिओ नेपालले स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा गाउँमा गम्भीर मनोरोगीको उपचार गर्ने र सेवा दिने गर्दै आएको छ । अन्य सामान्य मनोरोग गाउँलेले नै समाधान गर्ने गरेका छन् ।
अहिले झगडा प¥यो भने गाउँले चौकी जाँदैनन् , पहिले समितिमा आउँछन् । स्थानीयवासी टीकाप्रसाद अधिकारी मानिसमा उब्जने भ्रमले मनोसामाजिक समस्या हुने बताउनु हुन्छ । बेलामै यस्ता विषयमा ध्यान दिए मनोरोग नलाग्ने चिकित्सकले बताएका छन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु