झुटो मुद्दा लगाउनेलाई अदालतबाट जरिवाना

२०७३ बैशाख १० गते, शुक्रबार

काठमाडौं, १० वैशाख । झापा जिल्ला अदालतले झुटो मुद्दा लगाएको अभियोगमा पहिलोपटक शान्तिनगरकी एक महिलालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतले चोरीको झुटा आरोप लागेका झापा शान्तिनगरका १७ वर्षीय विशाल साँवा लिम्बूलाई निर्दोष साबित गर्दै रु पाँच हजार क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले साँवालाई निर्दोष साबित गर्दै रु पाँच हजार क्षतिपूर्ति भराउने निर्णय गरेको हो । झुटा मुद्दामा उजुरीकर्तालाई जरिवाना तिराइएको झापा जिल्ला मै पहिलो हो । अदालतले झुटा जाहेरी दिई अनाहकमा अदालतको समय बर्बाद गरेको भन्दै झापा शान्तिनगर–१ की सुकमाया थाम्सुहाङलाई रु तीन हजार जरिवाना र पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको झापा जिल्ला अदालतका स्रेस्तेदार नवराज आचार्यले जनकारी दिए ।
सुकमायाले २०७२ पुस २२ गते राति साँवाले आफ्नो घरबाट रु १६ हजार मूल्यको मोबाइल, नगद १६ हजार, कुवेती ६ रुपैयाँसहित रु १ लाख ५७ हजार ३०० मूल्य बराबरको चोरी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
उनको जाहेरीलगत्तै प्रहरीले पुस २७ गते साँवालाई पक्राउ गरेको थियो । चोरीको आरोप लागेका साँवाले थुनछेकको आदेशमा रु १८ हजार धरौटी बुझाउन नसक्दा फैसला नहुन्जेलसम्म थुनामा बस्नु परेको थियो । फैसला भएपछि उनी कारागारबाट रिहा भएका छन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु