दश बर्षे जनयुद्द,बितेका १२ बर्ष र थाकेका अगुवाहरु – रत्न तामांग

२०७३ बैशाख ७ गते, मंगलवार

संसदिय गोलचक्करबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई मुक्त पारेर परिबर्तनको महान दिशामा मोर्चाबद्द भएर अघि बढ्न २०५२ सालमा महान जनयुद्दको थालनी भएको थियो । यो रहर वा करकापको कुरा थिएन । बरु महान उद्देश्य प्राप्तिको लागि रोजिएको बलिदानको महान अभियान थियो । १० बर्षको छोटो अबधिमै रक्षा‚ सन्तुलन र रणनैतिक प्रत्याक्रमणको चरण पार गरेर नया उचाईमा पुगेको नेपालको माओबादी आन्दोलन शान्ति प्रकृया हुँदै यहाँसम्म आईपुग्दा बिघटनको रातो घेराभित्र कैद हुनेछ भनेर सायद कसैले सोचेको थिएन । अब बिश्वबाटै “साम्यबाद” को अन्त्य भयो । मार्क्सबाद को ‌औचित्य सकियो भन्ने साम्राज्यबादी होहल्लाकै बिच नेपालमा माओबादी जनयुद्द छालमय रुपमा अगाडी बढ्दै थियो । देशी बिदेशी प्रतिकृयाबादी शक्तिहरु नेपाली जनयुद्द बिरुद्द एकसाथ आक्रमणमा उत्रिएको बेला बिश्वभरका न्यायप्रेमी जनताहरु जनयुद्दको पक्षमा उभिएको थियो । “क्रान्ति मुख मुख त प्रतिक्रान्ति घाँटी घाँटी” भनेझै जनयुद्दको बिकाश सँगै पार्टीभित्र दक्षिणपन्थी अबसरबाद को चलखेल तिब्र बन्दै गयो । ठिक त्यही समय भारतको पटनामा क्रान्तिकारीहरुको ठुलो समुह एकसाथ गिरफ्तार भयो । पार्टीभित्रका दक्षिणपन्थी संसोधनबाद र भारतिय बिस्तारबाद साँठगाँठमा माओबादी भित्र क्रान्तिकारी धारलाई कमजोर पार्ने योजनाबद्दताकै उपज थियो पट्ना र सिलिगुडीको गिरफ्तारी र सिलीगुडीमा केन्द्रिय सचिबालय सदस्य क. किरण को गिरफ्तारी पछि क्रान्तिकारी धार कमजोर बन्यो । पार्टी भित्र शत्रुतापुर्ण अन्तरसंघर्ष बढ्दै गएको बेला राजा बिरेन्द्रको बंश नाश गरी सत्तामा पुगेको ज्ञानेन्द्रले संसदबादी पार्टीहरुलाई असक्षम घवषणा गर्दै शासन सत्ता आफ्नो हातमा लियो । यता माओबादी पार्टी चुनबाङ बैठकको तयारीमा जुट्यो । बिषेशत पार्टीभित्र दुई लाईन संघर्ष चर्कदै गर्दा सिलिगुडीमा क. किरणको रहस्यमय गिरफ्तारी भएको थियो भने पटनाको घटनामा पनि पार्टी भित्रका दक्षिणी हावा लागेका मान्छेहरुको नाम जोडिएको थियो । त्यसपश्चात पार्टीभित्रका क्रान्तिकारी धार निकै कमजोर हुन पुग्यो । त्यही मौकामा भारतीय बिस्तारबादले दक्षिणपन्थी संसोधनबादको बुई चढेर पार्टी हेर्डक्वाटर माथि नै हमला सुरु गर्यो । क्रान्तिकारीहरुको योजनाबद्द गिरफ्तारी पछि दक्षिणतिर भने चमकढमक बढेको थियो । यसले चुनबाङ बैठकको आधारभुमि तयार पार्यो । चुनबाङ बैठकले परिस्थिती फेरिएको निष्कर्ष सहित लोकतान्त्रिक गणतन्त्रको कार्यनिति मार्फत सडकमा अलाप बिलाप गरीरहेको संसदबादीहरु सँग सहकार्य गर्ने निर्णय गर्यो र बाह्र बुँदे दिल्ली सम्झौता भयो । माओबादी पार्टी फौजी कारबाही अघोषित रुपमा स्थगित गर्दै जनआन्दोन तिर केन्द्रित हुन थाल्यो । जनआन्दोलनको राप र तापले राजतन्त्रले घुँडा टेक्न बाध्य भयो र देश लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्यो । जनयुद्दकालमा ठुलो सहयोग गरेका बिश्वभरका भाईचारा पार्टीहरुले शान्तिप्रकृया प्रबेश गरेसँगै बिभिन्न माध्यमबाट आशंका ब्यक्त गर्न थाले । सुरुमा आन्तरिक छलफल चलाएको भा.क.पा. माओबादीले चित्त बुझ्दो जवाफ नआएपछि खुल्ला बहश अघि बढाए । नेपाली क्रान्ति प्रति चिन्ता गर्दै बहस गर्नेमा भाकपा माओबादी अग्रपंतिमा देखिन्छन । शान्ति प्रकृया प्रबेश सँगै कम्पोसा र रिम सँगको दुरी बढ्दै गयो । यसै सिलसिलामा भाकपा माओबादीले खुल्लापत्र मार्फत “शहर छाडेर आधार ईलाका सुद्दृढ गर” भन्ने सुझाब समेत दिएका थिए । नेपाली जनयुद्दको बिषयमा आफ्नो पार्टीको मुखपत्र “पिपुल्स मार्च” भाकपा माओबादी प्रबक्ता क. आजाद ले नेपालको माओबादी आन्दोलन अब कि त संसदबादमा फस्नेछ या त प्रतिकृयाबादी सत्ताको नरसंहारमा पर्नेछ भनेका थिए । प्रचण्ड बाबुरामहरु जनयुद्दलाई नयाँ ढंगले बिकाश गर्ने भन्दा कुनै न कुनै बहानामा जनयुद्दको अन्त्य गरेर संसदिय राजनितिमा फर्कन चाहन्थ्यो । शान्ति प्रकृयामा प्रबेश गरेसँगै माओबादी आन्दोलनभित्र जनयुद्दकाल देखि नै सुक्ष्म ढंगले बिकाश हुदै गएको बिभिन्न खाले बिकृतिहरु सतहमै देखिन थाले । साँस्कृतिक बिचलन र आर्थिक अराजकताले सिंगो पार्टी पंति बदनाम हुदै गए । अर्कोतर्फ घरेलु प्रतिकृयाबादी र बिस्तारबादी तथा साम्राज्यबादिहरुको घेराबन्दीमा माओबादी पार्टी फस्दै गए । प्रतिकृयाबादीहरु माओबादी आन्दोलनलाई सके बैचारिक रुपमा नसके सिद्धयाउन चाहन्थ्यो । जनयुद्दको बिधिवत अन्त्यको घोषणा जनसत्ता बिघटन र जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा कैद गरेपछि माओबादी पार्टी पुर्ण रुपमा प्रतिकृयाबादीहरुको पञ्जामा परिसकेको थियो । त्यसपश्चात संबिधान सभा निर्बाचनको घोषणा भयो । पहिलो संबिधान सभा निर्बाचनमा माओबादी पार्टी पहिलो शक्तिको रुपमा उदय भयो । दश बर्ष सम्म नयाँ जनबादी राज्यको स्थापनाको खातिर जनयुद्द लडेकोमाओबादी उच्च नेत्रृत्व नै संसदिय पुरानो सत्ता अन्तर्गत सरकारको नेत्रृत्व लिन तयार भयो । माओबादी पार्टी प्रति ठुलो जनअपेक्षा थियो ।
संसद र सरकारमा माओबादी पार्टी सहभागि बन्यो । बिडम्बना न त संबिधानसभा भित्र प्रभाबकारी भुमिका खेल्न सक्यो न त सरकारमा बसेर नै जनपक्षिय काम गर्न सक्यो । अन्तत प्रचण्ड नेत्रृत्वको सरकार कटवाल प्रकरणबाट लज्जासपद रुपमा बाहिरिनुपर्यो । पार्टीको सम्पुर्ण ध्यान सरकार र संसदमा केन्द्रित हुँदै सडक संघर्ष सुन्यतामा झर्यो । यसरी सडक सदन र सरकार तिनवटै मोर्चामा पार्टी निकम्मा बन्दै गयो । जनयुद्दबाट आर्जित सबै आदर्श र मुल्यहरु बाट पार्टी च्युत हुन थाल्यो अर्थात जुन कुरालाई हामी जनयुद्दको प्राप्ति भनेर गर्ब गर्यौ त्यी सबै उपलब्धिहरु एकपछि अर्को गर्दै दुश्मनलाई बुझाउन थाल्यो । खुङखार सामन्त बिनयध्वज चन्द सँग हेलिकप्टरमा सवार भएर हिजो आफैले कब्जा गराएर बसाएको सुकुम्बासी बस्ती उठाउन समेत पछि परेनन् । बैचारिक राजनितिक र साँस्कृतिक क्षेत्रमा महा बिचलनको स्थिति देखापर्यो ।
यतिमात्र होईन माओ बिचारधाराको नाममा माओबाद र माओकै योगदान बिरुद्द आक्रमण सुरु गर्यो । अब माओबाद पुच्छर भयो यसलाई छाड्नुपर्छ भन्दै नाङगो रुपमा माओबाद बिरुद्द बाबुरामा मण्डली देखापर्यो । राजनैतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्ने जस्ता खतरनाक कुराहरु पार्टी नेत्रृत्वबाटै हुन थाल्यो । यतिले मात्र नपुगेर ट्राटस्कीको फेर समातेर क्रान्तीलाई कहिल्यै सम्पन्न नहुने कार्यमा परिभाषित गर्न थालियो । ठीक त्यहीबेला पार्टीभित्र दुई लाईन संघर्ष निर्णायक मोडमा पुग्यो । जनत्ता बिघटन‚ जनसेनाको जबरजस्त आत्मसमर्पण गराईसकेपछि शान्तिप्रकृयाको महत्वपुर्ण कार्यभार पुरा भएको निष्कर्ष थियो प्रचण्डहरुको । करिब चार बर्षको अन्तरसंघर्ष पश्चात प्रचण्ड बाबुराम समुह नब संसोधनबादी कित्तामा उभिएपछि नेपाली क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने प्रतिबद्धताका साथ क. किरणको नेत्रृत्वमा बौद्धको राष्ट्रिय भेला मार्फत नयाँ पार्टी बन्यो । निराशा र चिन्तित बनेको पार्टीभित्रको ठुलो पंति नेकपा – माओबादीको गठन सँगै उत्साहित बनेका थिए । बिशेषत युवाहरुमा नयाँ रक्त सञ्चार पैदा भएको थियो । बिडम्बना पार्टी गठन भएको दुई बर्ष बितिसक्दा समेत कृयात्मक आन्दोलन बाहेक बर्ग संघर्षको ठोस योजना ल्याउन सकेन । अन्तत नयाँ पार्टी पनि अकर्मण्यताको सिकार बन्न पुग्यो ।
अकर्मण्यताको भुमरीमा बैद्य माओबादी
१० बर्ष सम्म जनयुद्द गरेका पार्टीको मुल नेत्रृत्व नै संसोधनबादी कित्तामा पतन भएपछि क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने प्रतिबद्धताका साथ नेकपा –माओबादी गठन भएको थियो । बौद्धो राष्ट्रिय भेला सँगै पार्टीभित्र मुख्यत ३ वटा प्रबृतिको प्रबेश भएको देखिन्छ ।
१. नयाँ पार्टी निर्माण पश्चात बर्गसंघर्षको तयारीमा जुट्न नभई संसदिय ब्यबस्था उपयोगको नाममा रमाउन चाहन्थ्यो ।
दोश्रो प्रबृत्ति – क्रान्तिकारि बन्न चाहने तर बर्गसंघर्षको तयारीमा पनि नजुट्ने र संसदमा पनि नजाने । अर्थात संसोधनबादी नबन्ने तर क्रान्तिका लागि जोखिम मोल्न पनि तयार नहुने । यद्यपि पार्टीभित्रको एउटा हिस्सा यथास्थितिको क्रमभंग सहित योजनाबद्ध रुपमा बर्गसंघर्षको जुट्नुपर्छ भन्ने पक्षमा उभियो । नया पार्टी गठन सँगै बिशेषत युवा पुस्तामा नया उत्साह पैदा भएको थियो । बिडम्बना पार्टी गठन पश्चात बर्गसंघर्षको तयारीमा सिङगो पार्टी पंति जुट्नुपर्ने बेला नबप्रतिकृयाबादी कित्तामा पतन भईसकेको प्रचण्ड – बाबुरामा समुहसँग कहिले एकता त कहिले पुनर्गठन भन्दै समय बिताउन थाल्यो । दोश्रो संबिधान निर्बाचन सम्म आईपुग्दा पार्टी नेत्रृत्व बाह्य प्रतिकृयाबादीको घेराबन्दी र आन्तरिक रुपमा चरम अबसरबादीहरुको घेराबन्दीमा फस्यो । फासीबादी सैलीमा सडकमा सेना उतारेर हुन लागेको चुनाब उपयोग गर्ने कि बहिष्कार भन्ने बिषयमा समेत गम्भिर मतभेद बढ्दै गयो । पार्टीभित्रको चरम अबसरबादी गुट थोरै फेस सेभिङ गरेर चुनाबमा सहभागी हुन चाहन्थ्यो । तलको नेता कार्यकर्ताको चर्को दबाब र देशी बिदेशी शक्तिकेन्द्रहरुको साँठगाठका कारण सम्पुर्ण पार्टी पंति चुनाब बहिष्कारको पक्षमा उभिनु पर्ने अबस्था आयो । चुनाब बहिष्कारको निर्णयले क्रान्तिकारीहरु उत्साहित बनेका थिए । चुनाब बहिष्कार सँगै पार्टीले बर्गसंघर्षलाई नयाँ उचाईमा उठाउन क्रान्तिकारी तयारीमा जुट्यो । यता पार्टीभित्रका अबसरबादीहरु यो निर्णयले बेचैन भएको थियो । पार्टी पंति बर्ग संघर्षको तयारीमा जुट्दै गर्दा पार्टीभित्रका अबसरबादीहरु भने चुनाबि भोट बिक्री पट्टाको धन्दामा लिप्त हुन थाले । ताम्सालिङ र नेवा राज्य समितिमा पैसा खाएर भोट बेचेको तथ्यहरु सार्बजनिक भए एकातिर चुनाब बहिष्कार क्रममा थुप्रै साथीहरु घाईते भएका थिए । कैयौ साथीहरुले आफ्नो अंग गुमाउनु परेको थियो । भने अर्कोतिर त्यहि चुनाबमा काङग्रेस एमाले र राप्रपा को पैसा खाएर भोट बिक्रि गर्ने अपराधिहरु सानका साथ हिडिरहेका थिए । एकैसाथ यि दुबै दृष्यहरु हेर्दा अत्यन्तै पिडाबोध हुन्थ्यो । दोश्रो संबिधान सभा चुनाब सकिए लगत्तै पार्टीभित्र अन्तरसंघर्ष बढ्दै गयो । फरक मत राख्नेहरुमाथि पार्टी नेतृत्व असहिष्णु र हिटलरी सैलीमा उत्रन थाल्यो । बिरही कार्बाही प्रकरण यसैका उदाहरण हुन । पार्टीभित्रको बिकृति बिरुद्ध आवाज उठाउनेहरुलाई जुनसुकै बेला अनुशासनको डण्डा बर्साउन थाल्यो । पार्टीभित्र अन्तरसंघर्ष बढ्दै जाँदा पोलिटब्युरो बैठकमा पार्टी सचिब क. बिप्लवले फरक दस्ताबेज पेश गरेपछि पार्टीभित्र नयाँ तरङग पैदा भयो । पार्टी हेर्डक्वार्टर जिम्मेवार नेताहरु नै बिप्लवलाई नङ्ग्याउनु पर्छ भन्दै प्रशिक्षण दिन थाले । पार्टी नेत्रृत्व फरक मत वालाहरुलाई समेटेर लैजाने कुरामा जिम्मेवार हुन सकेन । पार्टी हेर्डक्वार्टरलाई घेराबन्दी गरिरहेको चरमा अबसरबादी गुट क्रान्तिकारीहरुको बहिर्गमन चाहन्थ्यो । अबसरबादीहरुको यस्तो रबैया प्रति पार्टी अध्यक्ष पनि निरिह बन्न पुग्यो । नभन्दै शिबगडीमा राष्ट्रिय भेलाको आयोजना गर्दै बिप्लवको नेत्रृत्वमा क्रान्तिकारीहरुको टिम पार्टीबाट बाहिरयो । र ने.क.पा. माओबादी गठन गर्यो । क. बिप्लवको नेत्रृत्वमा पार्टीभित्रको ठुलो समुह पार्टी बाट बाहिरिएपछि बैद्य माओबादी झन अकर्मण्यतामा फस्यो । यहि मौकामा पार्टीभित्रका अबसरबादी गुटले पार्टी हेर्डक्वार्टर कब्जा गर्यो । क. किरण सेरेमोनियल अध्यक्ष बन्न पुगे । यतिबेला बादल लगायतका चरम अबसरबादी गुट जुनसुकै हालतमा प्रचण्ड सामु आत्मसमर्पण गर्न चाहन्छ । उनिहरुमा देखिएको छटपटाहट र बेचैन बढेको छ । यिनै बादल हुन जसले नयाँबजारको एक होटलको प्रशिक्षणमा “प्रचण्डहरुले गद्धार गरे हामी त्यसको एक एक हिसाब चुक्ता गर्नेछौ । तपाईहरु लड्न तयार हुनुहोस । पार्टी रिस्क लिन तयार छ” समेत भनेका थिए ।
३. हिजो र आजको प्रचण्डमा के परिबर्तन आयो र बादलहरु प्रचण्डलाई क्रान्तिकारी देख्दैछन ॽ
बैद्य माओबादी भित्रका अर्को पक्ष पार्टी एकताका लागि प्रचण्डहरु सँग सैद्धान्तिक रुपमा कुरा मिल्नुपर्ने आबश्यक ठान्छन । संसदबाद अस्विकार त गर्छ तर बर्ग संघर्षको योजना सहित अगाडी बढ्ने हिम्मत गर्न सक्दैनन् । यी दुई पक्षको खिचातानीमा पार्टी चरम अकर्मण्यताको सिकार भईरहेको छ । बादल लगायतको एउटा अबसरबादी झुण्ड नै तत्काल प्रचण्डको नबप्रतिकृयाबादी समुहमा बिलय हुने निश्चित छ । यो सँगै दक्षिणपन्थीशरु ध्रुबिकृत हुनेछ । यसको बिरुद्ध हामीले क्रान्तिकारी ध्रुबिकरणको पहल कदमी लिन जरुरी छ । अन्यथा दक्षिणपन्थि अबसरबादी ग्रुप बलियो हुने र क्रान्तिकारी हरु असंगठित र छिन्नभिन्न र कमजोर बन्नेछ ।
अबको बाटो
यतिबेला प्रचण्ड / बाबुराम समुह महा गद्धारीको बाटोमा हिडिरहेको छ । महान जनयुद्दको बिशुद्दीकरण गर्ने कारक तत्व बनेका छन । अझै यिनिहरुबाट क्रान्ति र मुक्तिको आशा गर्नु भनेको बालुवामा पानी खन्याए सरह हो । प्रचण्ड/बाबुरामको अबको बाटो युरो कम्युनिजम तिरको हो । नबसंसोधनबाद हुदै प्रतिकृयाबादी कित्तामा पतन भैसकेको गुटसँग एकता गरेर क्रान्ति र मुक्तिको सपना देख्नु काम नभएकाहरुको दिमागको उपज मात्र हो । यस्तो हर्कत कुनै पनि आदर्ष र मुल्यभित्र पर्दैन । यतिखेर बैद्य माऔबादी भित्रका ईमान्दार क्रान्तिकारीहरु सामु गम्भिर प्रश्न उभिएको छ । गौरबपुर्ण ईतिहासप्रति बिष बमन गर्दै गद्दारहरुको पछि लागेर आत्मदाह गर्ने या शहिदहरुको सपना पुरा गर्न बर्ग संघर्षको मोर्चामा लामबद्द हुने ॽ
बिप्लव नेत्रृत्वको मादोबादीमा कार्यदिशामा प्रष्टता आबश्यक छ । यस्तो बिषम परिस्थितिमा सबै पक्ष खुल्ला हृदयले बहसको लागि तयार बनौ । खासगरी गतिलो बैचारिक अबिभाकको आबश्यकता छ बिप्लव माओबादीमा । यो बिषयमा किरण कमरेड गम्भिर हुन जरुरी छ । बिषेश गरी संघियताको बिषयमा पनि पार्टी गम्भिर हुन जरुरी छ । नेपाली समाज बर्गिय मात्र होईन जातिय उत्पिडनको समेत चपेटामा परेको यथार्थलाई बेवास्ता गर्न मिल्दैन । यसका बाबजुत यतिबेला बिप्लव नेत्रृत्वको ने.क.पा. माओबादी क्रान्तिकारी शक्तिको रुपमा उदय भएको छ । सम्पुर्ण न्यायप्रेमी नेपाली जनताहरु ने.क.पा. माओबादी प्रति आशाबादी भएको छ । यस्तो अबस्थामा एकिकृत जनक्रान्तिको कार्यदिशालाई बैचारिक बहस मार्फत थप समृद्ध पार्दै क्रान्तिकारीहरुलाई गोलबन्द गर्नुपर्छ । नेपाली क्रान्तिका नयाँ पुराना गद्दारहरुको पछि लागेर आत्मदाह गर्नुभन्दा बर्गसंघर्षको तयारीमा जुटौ । यहि नै शहितप्रतिको सम्मान हुनेछ । ईतिहासले हाम्रो काँधमा सुम्पेको जिम्मेवारी पनि यहि हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु