इतिहासको कठघरामा मोहन वैद्य ‘किरण’ – पृथीछक वुढा मगर

२०७३ बैशाख ६ गते, सोमबार

फुट नेपाली कम्युनिष्टहरुको महा रोग हो । विश्व कम्युनिष्ट इतिहासमा साम्राज्यबादी शक्तिहरुले प्रत्यक्ष फौजी हस्तक्षेप गरेर कम्युनिष्टहरुलाई दमन गरेर तहसनहस पारेको ईतिहास छ तर नेपालमा भने प्रत्यक्ष रुपमा कहिलै कम्युनिष्ट बिरुद्ध बिदेशी सेना परिचालित हुन पाएन । बरु पार्टी भित्रै रहेका कतिपय नेतृत्वहरुको अन्तरघात र फुटले नेपाली कम्युनिष्टहरु सधैं कमजोर स्थितिमै रहिरहे । तहसनहस भईरहे ।
आज नेपाली धर्तीमा साम्यबादी दलहरुको बहुमत ६० प्रतिशत भन्दा बढी छ तर सत्तामा उनिहरुको उपस्थिती एकदम दयनिय छ । माक्सबादी धारणा अनुसार सत्ता भन्नाले एकाद कम्युनिष्टहरु मन्त्रि र प्रधानमन्त्री हुनुसङ्गको सम्बन्ध होइन । सत्ता भन्नाले सरकार, कर्मचारीतन्त्र, सेना र न्यायालयको एक मुष्ठ रुपलाई सत्ता भनेर बुझिन्छ । आज ती सत्ताका अङ्गहरुमा कम्युनिस्टहरुको पहुच कतिको छ ? धेरै टाडा गएर हेरिरहनु आबस्यक्ता छैन, तत्कालीन प्रधानमन्त्री प्रचन्डको सरकारले नेपाली सेनाको पुर्ब सेनापती रुक्माङ्गद कटुवाललाई निलम्बन गर्दाको परिणाम होओस अथवा पछिल्लो चरणमा आएर बृहद शान्ती सम्झौताको ठाडो उलङ्गघन गर्दै सर्बोच्च अदालतले द्वन्द्वकालका मुद्दाहरु एकतर्फी रुपमा उठाईरहेको सन्दर्भमा होओस यसले प्रष्ट गरिरहेको छ कि बास्तबमा नेपाली कम्युनिष्टहरुको वास्तविक धरातल कहाँ छ ? आजको गहन बहसको बिषय यो छ ।
ढिलै भए पनि यहि बिषयमा समीक्षा भईरहेको छ । बहस चलिरहेको छ । विशेषत: १० बर्ष युद्ध लडेर आएको माओवादी शक्तिहरुको बिचमा यो बहस छेडिएको छ र निकट भबिष्यमा क्रान्तिकारी एकीकरण र धुर्बिकरणको प्रकृया शुरु हुने पक्का देखिन्छ। यो हुनै पर्छ ।
बहसको केन्द्र अहिले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी भित्र बढी सतही रुपमा प्रकट भएको छ । चार बर्ष पहिले प्रचण्ड नेतृत्वको एनेकपा माओवादी पार्टीले क्रान्तीको बाकी कार्यभार पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै नयाँ जनबादी क्रान्ति पूरा गर्नको लागि भनी मोहन बैद्य किरणको नेतृत्वमा नेकपा-माओवादी पार्टीको गठन भयो । त्यस पछि पार्टी गठन भएको दुई बर्षसम्म पनि क्रान्तीको निम्ति कुनै पहलकदमी हुन नसके पछि लामो अन्तरसंघर्ष पछी फेरि बैद्य नेतृत्वको नेकपा-माओवादी नेतृत्व यथास्थिति भासमा फसेको र फुटको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेत्र बिक्रम चन्ड विप्लबको नेतृत्वमा फेरि अर्को नेकपा माओवादी पार्टी गठन भयो । त्यस पछि नेपालमा मुख्यत: दुईवटा माओवादीधारहरु सतहमा देखा परे । एउटा सदनमा रहेको प्रचन्ड नेतृत्वको एनेकपा माओवादी र अर्को सडकमा संघर्ष गरिरहेको बिप्लब नेतृत्वको नेकपा माओवादी । परिणामत: आज मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी इतिहासको सबै भन्दा संगिन मोडमा आईपुगेको छ ।
वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी भित्रको अन्तरसंघर्ष अहिले माओवादी धुर्बिकरण अभियानको रापमा जलिरहेको छ । कुनै समय प्रचन्डलाई गद्दार घोषणा गर्नु पर्छ भन्ने क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादल अहिले उनै प्रचन्डसङ्ग तत्कालै पार्टी एकता गर्नु पर्छ भनेर हस्ताक्षर संकलन अभियानमा लागेका छन भने केन्द्रिय समितिको बहुमत एमाओवादीसङ्ग पार्टी एकता गर्ने पक्षमा देखिएको छ । यसले अन्य नेता कार्यकर्ताहरुलाई उत्साह थपे पनि मोहन बैद्यलाई भने यो बहसले इतिहासकै गम्भीर संकटमा धकेलेको छ । यति बेला वैद्यलाई न तत्कालै पार्टी एकता गर्न सजिलो छ न क्रान्तिमा होमिन नै सजिलो छ ।
मोहन बैद्य पार्टी एकीकरणको बिपक्षमा भने छैनन् तर पार्टी एकताका लागि उनले सैद्दान्तिक बहस अगाडी सारेका छन् । त्यहि सैद्दान्तिक बहसकै कारणले अहिलेसम्म पार्टी एकीकरणको अभियानले मुर्त रुप लिन नसकेको हो । त्यसैले कुनै बेला प्रचण्डलाई गद्दार घोषणा गर्नु पर्छ भनि प्रस्ताब गरेका उही रामबहादुर थापा बादलले निसर्त एमाओवादीसंग पार्टी एकीकरण गर्नु पर्छ भनेर केन्द्रिय समितिमा हस्ताक्षर अभियान नै चलाईरहेको छ ।
एमाओवादीसंग पार्टी एकीकरणले रामबहादुर थापा बादललाई खासै केहि फरक पर्ने छैन तर क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यलाई भने नैतिक संकट अबस्य आउने छ । आफैले नवसंसोधनवादी भनि किटान गरेको दलसंग बिना सर्त पार्टी एकीकरण गर्दा जीवनको लामो समयसम्म स्वच्छ छवी र क्रान्तिकारी हार्ड लाइनरको छवी बनाएका बैद्यको नैतिक धरातल माथि प्रश्न चिन्ह अबस्य खडा हुने छ । त्यसैले आफ्नो नैतिकताको रक्षाको लागि भए पनि उनले पार्टी एकताको लागि केहि सैदान्तिक बहस अगाडी सारेको हुनु पर्छ ।
बैद्यले अघि सारेको सैद्दान्तिक बहस भित्र बिषयलाई गम्भीर भएर बिचार गर्ने हो भने त्यहाँ आकाश जमिनको फरक देख्न सकिन्छ । संबिधान सभाको चुनाव बहिस्कार गरेको बैद्य माओवादी, सेना परिचालन गरेर भए पनि संबिधान सभाको चुनाव गराएरै छाड्ने अडान राख्ने एमाओवादी, संबिधान सभाको बिघटन र गोलमेच सभाको माग गरेको बैद्य माओवादी र संबिधान सभाबाट संबिधान घोषणा गरेरै छाडेको एमाओवादी, संबिधान सभाबाट घोषित संबिधानलाई मान्यता नदीईरहेको बैद्य माओवादी र संविधानलाई कार्यन्वयन गर्न कम्मर कसिरहेको एमाओवादी विच सानो मतभेत पक्कै छैन । यी सबै त्यागेर एकताकै लागि भनि एमाओवादी पछाडी फर्किने कुनै सम्भाबना छैन ।
क्रान्तिकारी माओवादी भित्र एमाओवादीसंग एकताको लागि गरम बहस चल्नु, एमाओवादी कुनै नयाँ भएर आएकोले होइन, कार्यदिशामा परिमार्जन ल्याएकोले होइन, एमाओवादी त आफ्नो लक्षबाट एक इन्ची पछाडी हटेको छैन । बरु उ त आफ्नो गन्तव्यमा लम्किरहेको छ त्यसैले उसलाई तत्कालै पार्टी एकीकरण भन्दा पनि संबिधान कसरि कार्यन्वयन गर्ने पक्षमा बढी बिचार गरिरहेको छ । उसले यो संविधानलाई आफ्नो सन्तति ठान्छ जसलाई हत्या गरेर उ बैद्यलाई अंगाल्न चाहन्न । बैद्य आउछ त आफ्नो कार्यदिशा स्वीकार गरेर आउछ, आउदैन त बैद्यको कार्यदिशामा एमाओवादी पक्कै जाने छैन । यो कुरा राम्रोसंग बुझेका रामबहादुरले बहुमतको राग अलापेर बैद्यलाई निसर्त पार्टी एकीकरण गर्नु पर्छ भनि दबाब दिईरहेको कुरा बुझ्न सकिन्छ ।
यदि रामबहादुर थापाको दबाबमा परेर बैद्य माओवादी, एमाओवादीमा बिलय भयो भने संविधान सभामा एमाओवादीले भोग्नु परेको खराब पराजयको नैतिक जिम्मेवारी बैद्यको काधमा आउने निस्चित छ । जसले एमाओवादी पार्टीको इतिहासमा वैद्यको चरित्र माथि कहिलै नमेटीने दाग लाग्ने छ र इतिहासमा उ सबै भन्दा गलत मान्छे साबित हुने छ ।
यदि वैद्यले पछिसम्म अहिले भने जस्तो सैद्धान्तिक बिषयमा अडान राखिरह्यो भने पार्टी फुटाएर भए पनि बादलसंग रहेको ठुलो समूह एमाओवादीमा बिलय हुने छ । त्यस पछि बैद्यसंग बचेको एउटा सानो हिस्सा अहिले जस्तो स्थिर हुनु आफ्नै लागि खतरा हुने छ । तटस्थ क्रान्तीको लागि बाधा हो । यथास्थिती गतिशिलताको बोझ हो । क्रान्ती गतिशिल हुन्छ । बैद्यले गति लिनै पर्छ । उसले बाटो रोज्नु पर्छ । संसदीय धारको माओवादी अथवा संसदीय प्रणाली भन्दा वाहिरको माओवादी यी दुई सिविर मध्ये एकलाई रोज्नै पर्छ ।
यदि संसदीय धारको माओवादी भित्र आफुलाई बिलय बनायो भने यसको अर्थ बैद्यले इतिहासमा आफैले आफैलाई गरेको हत्या सावित हुने छ किनभने कुनै बेला त्यो शिविरबाट क्रान्ति सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेर बिद्रोह गरेको थियो । आज आफ्नो विद्रोहको औचित्य पुष्टि नगरी त्यहिँ फर्की जानु भनेको कुनै पनि क्रान्तिकारीहरुको लागि माननीय कुरा हुन सक्दैन । सवै भन्दा उचित, यदि संसद बाहिरको माओवादी सिविर भित्र आफुलाई समाहित गर्न सक्यो भने चाहे उ पराजित होओस तर उसको क्रान्तिकारी छवीमा कुनै आँच आउने छैन । त्यसैले यथास्थितिलाई टोडेर अब निर्णय लिनु पर्छ । यहि निर्णयले उनको राजनीतिक भविष्य निर्धारण हुने छ । मोहन बैद्य (किरण)को लागि यो एउटा ऐतिहासिक निर्णय हुने छ । आज उनी इतिहासको एउटा कठघरामा उभिएका छन् । हामी उनको निर्णय सुन्न कठघरातर्फ प्रतिक्षाले हेरिरहेका छौं । कुन निर्णय लिने हुन, जीवनको वा अवसानको ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु