जनसेनाका क्यान्टोनमेन्टभित्र भएका भ्रष्टाचार र ज्यादतीको कथा – विवशकुमार सेजुवाल

२०७२ चैत्र २८ गते, आईतवार

समय बदलिएको छ । सन्दर्भहरु फरक भएका छन् । युग बदल्ने, जीवन फेर्ने र विश्वमा नयाँ व्यवस्था स्थापित गर्ने उद्घोषसहित थालिएको हाम्रो हाम्रो महान् यात्रा बीचमै धर्मराएको छ । हाम्रो महान् विरासत इतिहासमा परिणत हुनै लाग्दा पनि यो संगीन घडीमा कोही ब्यूझिसकेका छैनन् कि भन्ने अनुभूति भएको छ । नसोचेका, कल्पना नगरेका र अनपेक्षित घटनाक्रमहरुबाट आज यो जीवन गुज्रिनुपरिरहेको छ । एउटा सुन्दर समाजको परिकल्पनासहित त्यो समय म एउटा महाअभियानमा संलग्न भएको थिए । बाटो निकै कठिन थियो । यात्रा निकै लामो थियो । जीवनलाई खुकुरीको धारमा राखेर असाध्यै कष्टकर त्यो बाटो सगर्व स्वीकार गरेर म हिडेको थिए । आफ्ना व्यक्तिगत कुनै कुरा थिएनन् । व्यक्तिगत कुन्ठा थिएन । व्यक्तिगत स्वार्थ थिएन । न त थियो कुनै लोभ, लालच वा अहंकार । थियो त केवल मुक्ति या मृत्युको प्रतिवद्धता । नयाँ सुन्दर संसार रचना गर्ने सपना । वर्गीय विभेदहरु सबै मेटिएको, जातीय, लैङ्गिक तथा कुनै पनि प्रकारका भेदभावहरु नभएको भूगोलका पर्खालहरु समेत सबै भत्काएर तेरो वा मेरो नभई सबै हामी सबैको हुने महान् साम्यवादी व्यवस्थाको परिकल्पना ।
तर, आज यात्रामा ठूला अवरोधहरु तेर्सिएका छन् । आजभन्दा डेढ दशक अघि हो मैले यो जीवनलाई युद्धको तातो रापिलो भट्टीमा होमेको थिए । कैयौं अँधेरी रातहरुमा म मृत्युको नजिक नजिकबाट गुज्र्रिको थिए । गन्तव्य पहिल्याउनका लागि अनेकौं हन्डर ठक्कर खाँदै आँशु, हाँसो र हर्षकाबीच यात्रालाई अगाडि बढाएको थिए ।
आज म जहाँ छु, यो सोच्दै सोचेको थिएन । यो होला भन्ने कुनै कल्पना नै गरिएको थिएन । आज म जस्तै हजारौ साथीहरु मरुभूमीको बालुवामाथि आलिसान महलको सपना बुनिरहेका होलान । बाध्यतावस अस्तित्वको एउटा रोजाई हो यो । यस्तो अवस्थामा पनि महासमरमा होमिएका ती मान्छेहरुले हिजोका केही कटु सत्यहरुलाई भने बाहिर ल्याउने हिम्मत गरेका छैनन । अनौठो लाग्छ । समय कहाँ पुगिसक्यो तर हामीले त्यसलाई सबैका सामु प्रस्तुत गर्ने हिम्मत गर्न सकिरहेका छैनौं । आज इमानदार भनिएकाहरु आधुनिक जेलको पर्खाल तोडेर मरुभूमीको अत्यास लाग्दो घाममा आफ्नो पसिनाको मुल्य खोजिरहेका छन् । किन ? खोलिएको छैन बन्द आकाशको बुलन्द आवाज । किन राजनैतिक भाषाको प्रयोग गरी प्रचण्ड र बाबुरामलाई सम्मानित बनाइदैछ ? अब कसैले सत्य ठानुन् या गलत, सोचुन मेरो मुक्ति र समुन्नत समाज परिवर्तनको निम्ति अघि बढाइएका मेरा पाइलाहरु र भौतिक जीवनलाई असाध्यै कहालीलाग्दो कष्टकर र पीडायुक्त आधुनिक जेलको बन्द कोठामा सुकाइदा कस्तो निर्मम यातनाको भागेदारी भयो होला । मेरो यो पिँढी यो वास्तविकतालाई बुझ्न किन कसैले हिम्मत गर्न सकिरहेका छैनन् । यो एउटा आधुनिक जेल भित्रको कारुणिक कथा हो ।
यतिबेला भोग, रोग र शोकको कुनै मुल्य थिएन । मुल्य थियो त केवल त्याग तपस्या र बलिदानको थियो । मैले इतिहासबाट गहिरिएर राम्रो शिक्षा लिएको छु । चीनमा क. माओले लम्बे अभियानको बेला खेप्नु परेको सास्ती र पीडायुक्त कहालीलाग्दो कथा । निकारागुवा बोलिभियाको कठिन परिस्थितिमा पनि नझुकेका ती लाल सिपाहीको अदम्य साहस र सौर्यबाट म असाध्यै प्रभावित बनेको छु । भियतनामको क्रान्ति पछिका कठिन परिस्थिति सामना गर्नुपरेका ती अतितलाई मैले गहिरोसँग बुझेको छु । अन्तर्राष्ट्रिय कम्युनिस्टहरु जुन लक्ष्य बोकेर निरन्तर प्रक्रियामा छन् । यो मेरो गहिरो जीवन्त अनुभूति सबै मैले महासमरको रणभूमीमै गरेका जीवन्त अनुभूति हुन् । अब आउने दिनहरुमा यी सपनाहरुले सत्यताको बाटो रोज्दै गर्दा गद्दारीको कालो इतिहासलाई फेरि एकचोटी प्रलयको घडी सिर्जना गर्न सक्छन् या सक्दैनन् यो घडी लाल योद्धाहरुको निम्ति अग्निपरीक्षाको रुपमा आएको छ । त्यसैले दबिएका आवाजहरुलाई बदलिएको युगसँग बोल्ने हिम्मत किन गर्न सक्दैनन ।
इतिहासले हामीलाई अहिले सरापिरहेको छ । तत्कालीन महान्् जनयुद्धका नायक भनेर सम्मान गरिएका प्रचण्डलाई हिजो विश्वासको नाममा अतिरञ्जित तरिकाले बुझ्ने र विश्वास गर्ने गरेका रहेछौ । यो पछुतो मैले होइन, वर्तमानले गरिरहेको छ । यसमा म र मेरो पुस्ताको कमजोरीलाई इतिहासले फैसला गर्नेछ । आजाद संसारको सपना बोकेर हिँडेका योद्धाहरुलाई पिँजडाको सुगा झै अरुले जे भन्यो त्यही भन्नुपर्ने त्यो मेरो पुस्ताको विवशताको अध्ययन हुनेछ । न बोल्ने स्वतन्त्रताको हक, न त अन्यायको निम्ति आवाज उठाउने परिवेश नै थियो । यो प्रचण्ड बाबुराम परिवेश भित्रको म मेरो पुस्ताको आरोपित प्रतिनिधि पात्र हुँ ।
माफ गर्नुहोला, मलाई तिथि र मिति याद भएन, जुन दिन एउटै लुंगी र एउटै पछ्यौरी ओढेका मेरो नायक भनिने प्रचण्ड–बाबुराम पहिलो दिन बालुवाटार प्रवेश गरे, त्यहीबाट गडबडी सुरु भएको थियो । हामी जनमुक्ति सेनाका सिपाहीहरुको निम्ति त्यही दिनदेखि छद्मभेषी तरिकाले हाम्रो भौतिक जीवनलाई काँढेतार भित्र सढाउने खेल सुरु भयो । कसैले भन्नै सक्दैन, त्यो आधुनिक जेल भित्रका लाल योद्धाहरु माथि प्रचण्डका जर्णेलहरुले दिएको सास्ती । उनीहरुको कारुणिक अनुभूति वर्णन गरेर साध्य नै छैन ।
म कुनै सम्पन्न परिवारमा जन्मेको थिइन । म गरिब हुनु र गरिब भएर बाँच्नुमा मेरो आफ्नो कुनै दोष होइन । गरिब भएर जीवन जिउनुको दोष अरुलाई पनि म दिन चाहन्न । किनकि मेरो पुर्खाले गाउँको साहु महाजन, ठालु र मुखियाको हेपाईमा आफ्नो जीवनको दैनिक गुजारा चलाइराखे । तर, मैले मेरो बाबु–बाजेको त्यो विरासतलाई हेर्न सकिन । मैले त्यसलाई परिवर्तन गर्न चाहे । त्यसैले मुक्ति यात्राको महाअभियानमा आफ्नो भौतिक जीवनलाई आवद्ध गरे । पुरातनवादबाट ग्रसित मेरो बाबुबाजेको विरासतलाई बदल्ने अवसर पाउनु म आफै भाग्यमानी पनि ठान्छु । त्यो संघर्षको बीचबाट मैले मेरो यही यात्रा रोजे ।
प्रसंग कैलालीको तालबन्दमा रहेको सैन्य क्याम्पभित्रको आधुनिक बन्दी जीवनको अनुभूति हो । सुरुमा समुन्नत समाज वा सुशासनका निम्ति र अत्याचारका विरुद्ध लड्नको निम्ति तयार पारिएको जनमुक्ति सेनालाई एकाएक काँढेतार भित्र कैद गर्ने निर्णयले हामीमा कुनै बहार आएको थिएन । बरु एउटा चिन्ताले वार पार पिरोलेर मुटुमा विचार उत्तेजक भक्कानो फुटिरहन्थ्यो । हाम्रो त्यो रक्तिम इतिहासलाई विश्वले त्यो बेला मुक्त कण्ठले प्रशंसा गरिरहेको थियो । नेपालमा परिवर्तनको हिस्सेदार भनेकै माओवादी जनमुक्ति सेना हो भनेर हामीले कसैलाई चिनाई राख्न परेको थिएन । तर, आज त्यो महान् इतिहासलाई बेचेर आफ्नो पेट पाल्ने मेसोमा बदलिएको छ । यो देख्दा म आफै एउटा इतिहासको रक्षक भएको हैसियतले कस्तो पत्याउनै गाह्रो परिरहेको छ ।
२०६३ सालको मध्यतिर हामी (जनमुक्ति सेना)लाई काँडेतारको बीचमा राख्ने निश्चित भइसकेपछि महान् जनयुद्धका तत्कालीन नायक तथा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रचण्ड र उनका जर्णेलहरुले हामीलाई गहिरोसँग प्रशिक्षण दिएका थिए । त्यो कुरा अहिले पनि मेरो मन मस्तिस्कमा ताजा छ । त्यो त्यागको कुराले सबैभन्दा बढी मलाई सशंकित बनाएको थियो । प्रचण्डले घनघोर जंगलका बीच रहेको तालबन्द क्याम्पका लाल बन्दीहरु सामु भनेका शब्दहरु अहिले पनि ताजै जस्तो लाग्छ ।
उनले भनेका थिए, ‘कमरेडहरु ! देशको परिवर्तनका निम्ति बलिदान हुन तयार महान्् विचारले संश्लेषित योद्धाहरु आज फेरि एकचोटी परिवर्तनका निम्ति आधुनिक जेल बस्न किन नहुने ।’ त्यतिबेला प्रचण्डले भनेको यही शब्दले मेरो मनलाई छोएको थियो । उनले किन त्यस्तो भने भन्ने धेरैपछिसम्म मनमा घोचेको थियो मलाई । मनभित्र धेरै दिनसम्म यही कुरा खेलेको थियो । तर, आज बुझ्छु कि उनले हामीलाई फकाउँदै फकाउँदै आधुनिक जेलको बन्दी बनाएका रहेछन् । त्यो उनको योजनावद्ध चालवाजी रहेछ । हामीले देशको माटोेको निम्ति र नेपाल आमाको अस्तित्व रक्षाको निम्ति आफ्नो उर्जाशिल समय खर्च ग¥यौं । भौतिक जीवनलाई मृत्युपथमा कुदायौ । यही देश भनेर आफ्नो भौतिक जीवनको कुनै प्रवाह गरेनौं । फेरि यही देशको निम्ति आधुनिक जेल होइन, प्रतिक्रियावादी सत्ताको यातनामय जेलका पीडा खेप्न तयार योद्धाहरुलाई सुविधा सम्पन्न कमाण्डरले पठाएको आधुनिक जेल बस्न किन नहुने भनेर मन चित्त बुझायौं । तर, कुरा अर्कै रहेछ । नायक भनिने हाम्रा कमाण्डरले विश्वासघात गरेर हाम्रा सबै सबै सपनाहरुलाई पैसासँग साटेका रहेछन् । हामीलाई बेचेका रहेछन् । हामीलाई दास युगिन मानव पो बनाइएको रहेछ ।
यस्तो थियो ब्यारेकको दैनिकी
परिवर्तनका निम्ति भौतिक जीवन सुम्पेको कुनै पनि योद्धाका निम्ति आफूले खर्चेको समय गौरवमय हुन्छ । अध्यारो रातका बीच यात्रा जारी राख्नु र बन्दीगृहमा समेत परिवर्तनका आवाज आगो जस्तै रापिलो स्वरले बुलन्द गर्नु देशभक्त सिपाहीको निम्ति प्रिय हुन्छ । त्यो जस्तो सुखानुभूति अरु केही हुन सक्दैन । तर, जेल खुल्ला होस वा बन्द त्यहाँ भित्रको भौतिक वातावरण खराब भयो भने, गलत नियतले कसैलाई राखिन्छ भने त्यो कठोर हुन्छ । हाम्रो ब्यारेकको सुरुवात पनि त्यसरी नै भयो । युद्धका मोर्चामा कहीकतै नडगमगाएका लाल योद्धाका निम्ति ब्यारेकको सुरुवात जब भयो, त्यसपछि नारकीय दिनगन्ती सुरु भयो । सुरु–सुरुमा डिभिजन कार्यालयमा हप्ताको एउटा खसी काटिन्थ्यो । तर, त्यो चुल्होमा एउटा सामान्य सिपाहीले सहभागी त के हेर्न पनि पाउँदैन्थ्यो । जहाँ खसी काटिने चुल्हो हुन्थ्यो, त्यसको दुई मिटर नजिक एक जना सिपाहीको सेन्ट्री पोष्ट राखिएको थियो । प्रचण्डका जर्णेलहरु आफ्नो खुसी खसीको मासुसँग साटिरहेका हुन्थे । तर, त्यो पोष्टमा बस्ने सिपाही भने हेरेको हेर्यौ हुन्थ्यो । सेन्ट्री पोष्टको त्यो सिपाही भने आँशुसँग भयानक भावनाका पोकाहरु बाँधेर जर्णेलको जीवन रक्षाको निम्ति इमानदारिता प्रकट गरिरहेको हुन्थ्यो । सच्चा सिपाहीको निम्ति यातनाको सुरुवात यो त्यस्तै अध्यायबाट सुरु भएको थियो ।
जब देशैभरिका जनमुक्ति सेनालाई नेपाल सरकार र प्रचण्डले सम्झौता गरेर मासिक ३,५००।– दिने निर्णय गरे । तर, यसमा प्रचण्ड, बाबुराम, अनन्त, प्रभाकरहरुले कालो दृष्टि राखे । उनीहरुकै निर्देशनमा ब्यारेकहरुमा प्रतिव्यक्ति २,०००।– लेबी लिने गरियो । त्यो काँडेतार भित्र कैद गरिएका कैयौ योद्धाहरुको क्रान्तिमा लाग्दा लाग्दै घरका आलीहरु भत्किएका थिए । कैयौका जीवनसाथी तथा परिवार गुमेका थिए । कैयौ अपाङ्ग भएर घाइते शरिरसँग ब्यारेकमा छटपटाइरहेका थिए । तिनका भावना, तिनका आकांक्षातर्फ साना जर्णेलहरुले सोच्दै सोचेनन् । उनीहरुले ती राता योद्धाहरुलाई विचारबाट गलाउन त सकेनन् तर पैसाको चाँजोपाँजो मिलाई गलाउने खेल सुरु गरे । समय बदलियो, दुई हजार लेवी लिने प्रचण्डका जर्णेलहरुले आफ्नै सहयोद्धाका घर भत्किएको देख्दै देखेनन् । उनीहरुले सुनाएका अप्ठेरा, बाध्यता, आवश्यकता, इच्छा चाहनाहरुलाई जबरजस्त दबाइए । सरकारले दिएको ३५०० मध्येबाट २००० नलुटिएको भए उनीहरुले अलिकति भए पनि आफ्नो घाइते शरिरको उपचार गर्न पाउँथे । भत्किएको घरको पर्खाल मर्मत गर्न सक्थे । तर, आफ्नै सहयोद्धाहरुको मुटुमा प्रहार गर्ने ती साना जर्णेलहरुले त्यो सोचेनन् । लुट्न थाले मनपरि । ब्यारेकभित्र त्यतिबेलाको त्यो कहालीलाग्दो अवस्थाका बारेमा कसैले बोल्न सक्ने हिक्मत गर्न सकेनन् । अहिले पनि सकेका छैनन् । तर, अब भने बोल्नै पर्छ ।
त्यतिबेला केन्द्रमा सरकार परिवर्तनको खेल हुँदै गर्दा ब्यारेकमा पनि लाल योद्धाहरुको दैनिकी फेरबदल हुँदै गयो । विभेदका पर्खालहरु चुलिँदै गए । युद्धभन्दा शान्तिका दिनहरु बिताउन असाध्यै कठिन हुन थाल्यो । प्रतिक्रियावादी सत्ताको जेलभन्दा प्रचण्डको आधुनिक जेलको यातना बेसी लाग्न थाल्यो । जब बाबुराम सरकारमा पुगे, जनमुक्ति सेनाको मासिक भत्तामा थोरै भए पनि फेरबदल गरे । ३५०० बाट १५०० थपेर ५००० बनाए । तर, त्यो हर्ष पनि क्षणिक भयो । बाबुरामको निर्णय सुनेर थोरै राहत पाएको मनमा केही दिनमै अर्को बज्रपात थपियो । फेरि अर्को काण्ड सुरु भयो ।
बाबुरामले गरेको त्यो निर्णयपछि त ब्यारेकमा सिपाहीहरुमाथिको चन्दा लेबी झन् बढाइयो । एउटा सामान्य सिपाहीको मासिक ५,००० बाट २५०० लेबी असुल्न थालियो । तर, विडम्वना त्यसरी उठाइने रकम कहाँ के के लागि जान्छ भन्ने कुरा कसैलाई केही भनिएन । त्यो सबै रकमको कुनै लेखाजोखा रहेन । यसका बारेमा केही समय साथीहरुले कुरा उठाउन थाले । विरोध बढ्न पनि थाल्यो । ब्यारेकभित्र यसरी विरोध हुन थालेपछि प्रचण्ड र प्रभाकर नै हाम्रो तालबन्द ब्यारेकमा पुगे । तालबन्द पुगेर उनीहरुले फेरि घुमाउरो पाराले धम्की दिए । उनीहरुले हामीलाई घुमाउरो पाराले मानसिक यातना दिएको मलाई अहिले पनि याद छ ।
प्रचण्डले त्यो बेला तालबन्द ब्यारेकमा पुगेर भने, ‘कमरेडहरु तपाईहरुलाई ब्यारेकमा हामीले त्यत्तिकै राखेका होइनौ । आरामको लागि बसालेका छौ । क्रान्ति सिद्धिएको छैन । अब नयाँ क्रान्तिको लागि नयाँ हतियारको खाँचो छ । नयाँ युद्ध लड्नको लागि तपाईहरुको प्रत्येक महिनाको २५०० लिने गरेका छौ । दुःख नमान्नु होला ।’ प्रचण्डले ठ्याक्कै यही शब्दमा हामीलाई फकाएजस्तो धम्क्याएजस्तो गरे । रोचक कुरो त के भने युद्धको स्मरण गर्दै प्रचण्डले धम्की दिन पनि पछि परेनन् । प्रचण्डले भने, ‘कमरेडहरु हामी जनयुद्धमा हुँदा मासिक ५०० ले पनि हाम्रो व्यक्तिगत जीवन सम्पन्न भएकै थियो । अहिले नयाँ युद्धको तयारी गर्नकै लागि तपाईहरुको २५०० पार्टीले लिँदा पार्टीले किन खायो भनेर प्रश्न गर्ने ?’
त्यो बेला उनले ‘खबरदार ! म जस्तो त्यागी कमाण्डरलाई तपाईहरुले शंकाको दृष्टिमा हेर्ने ?’ भनेर धम्की दिएको जस्तो लाग्यो । भाषणकै बीचमा प्रचण्ड एकचोटी झोक्किएर आगोको लाभा जस्तै बने । यस्ता सन्दर्भविहीन नाटकका हरफहरु बोल्न प्रचण्ड अति नै सिपालु लाग्यो । प्रचण्ड र प्रचण्डका जर्णेलहरुको दैनिकी दिनानु दिन बदलिँदै थियो । जसको ओठमा मात्र क्रान्ति थियो तर हृदयमा भने क्रान्तिका सपना बोक्ने नायकहरु प्रचण्डका जर्णेलहरुको दबाबमा प्रतिबन्धित थिए । उनीहरुको विद्रोही आवाजलाई दबाइएको थियो । त्यो आवाज बाहिर फुट्न दिइएको थिएन । जब ब्यारेकका दुई वसन्त पूरा भए, त्यसपछि नवधनाढ्यहरुको जंगी शासन चल्न थाल्यो । अनि सुरु भए सच्चा सिपाहीका निम्ति असाध्यै कठिन र नारकीय दिनहरु । नयाँ खेलको अभ्यास सुरु भयो । पालको छानोमा आफ्नो कठिन जीवन सुन्दर सपनाका निम्ति पर्खाइरहेकाहरुको जीवन जस्ताको त्यस्तै भयो । तर, प्रचण्डका पिछलग्गु मनुवाहरु भ्ने तिनै इमानदार योद्धाहरुको पसिना चुसेर पत्येक योद्धाको २५०० लेवीमाथि भ्रष्टाचार गर्ने खेलतिर लागे । एउटा भयानक विभेद सुरु गरियो । ब्यारेकमा एउटा नयाँ निर्णय गरियो । हिजो एउटै थालीमा भात खाएको एउटै सपनाको निम्ति भनेर एउटै ओछ्यानमा सुतेको, सँगै युद्ध मैदानमा लडेका साथीहरुबीच बरियता छुट्याइयो । बरियता अनुसारको थप भत्ता दिने निर्णय गरियो ।
यसरी गरियो ब्यारेकमा उठेको रकमको दामासाही वितरणः
१. डिभिजन कमाण्डर ः रु. ३०,००० (तीस हजार) प्रतिमहिनाको सञ्चार खर्च ।
२. डिभिजन सहकमाण्डरः रु. २५००० (पच्चीस हजार) प्रतिमहिनाको सञ्चार खर्च ।
३. ब्रिगेड कमाण्डर ः २०, ००० (बीस हजार । प्रतिमहिनाको सञ्चार खर्च ।
४. ब्रिगेड सहकमाण्डर ः १५,००० (पन्ध्र हजार) प्रतिमहिनाको सञ्चार खर्च ।
५ बटालियन कमाण्डर (१०,०००) दस हजार । प्रतिसञ्चार सञ्चार खर्च ।
तालबन्द ब्यारेकमा माथि उल्लेखित श्रेणीसम्मका कमाण्डरले मात्र यो खर्च पाए । अरु सबै अवाक भएर बसे । जब यो निर्णय सुनियो, त्यसपछि हामी छाँगाबाट खसेको जस्तै भयौ । समानताका खातिर जीवन युद्धमा समर्पित गरेका लाल योद्धाहरुका बीचमै यस्तो विभेद थोपरिदा पनि सबै मौन भए । विरोध गर्ने त के बोल्ने स्थिति पनि थिएन । जसले केही विरोध गर्यो, उसमाथि पत्याउनै नसक्ने संगीन आरोप लगाएर गुमान पारिने ।
जीवनमा चुनौती आउँछन् र जान्छन् तर कतिपय जीवनका परिघटनाले अमिट छाप छोड्दा रहेछन् । म मेरो आमा विरामी हुँदा घर भेटघाटको लागि डिभिजन कार्यालयमा छुट्टी माग्न गए । घरमा जाँदा ५००० पाउथे । तर, विडम्वना त्यो भत्तामा पनि २५०० लेवी दिनुपर्ने भयो । आमा विरामी हुनुहुन्थ्यो । त्यो २५०० भएको भए केही हदसम्म समस्या हल त हुन्थ्यो । तर लेबी काटेर मेरो समस्यामाथि समस्या सिर्जना गरियो । घरखर्च नपुग्ने भएपछि मैले रु. १०,००० ऋण लिए । त्यही ऋण लिएकै कारण पछि मलाई एक वर्षसम्म मेरो तलब मेरो हातमा पर्न दिइएन । तपाई कल्पना गर्नुस् कतिसम्म मैले यो आधुनिक जेलभित्रको निरङकुशता सहेर बसे होला । यो बर्बर दमनको सत्य आरोपी म एउटा प्रतिनिधि पात्र हुँ ।
दिनहरु बित्दै गए । ब्यारेक भित्रका क्रुर नियमहरु पालना गर्नुपर्ने एउटा सच्चा सिपाहीको जीवन्त अनुभूति यो सबैलाई मैले छातीमा हात राखेर भन्नै पर्छ । परिवर्तनको लक्ष्य बोकेर हिडेको एउटा योद्धा अझ त्यसभित्र पनि कर्णालीको छोरो आफ्नै भनिनेहरुबाट मानसिक यातनाका पीडाहरु खेप्न कतिसम्म संघर्ष गर्नुपर्यो भन्ने मैले पाठकलाई स्पष्ट पार्नैपर्छ । ती अझ चर्का पीडा कुनै बेला अझै फुकाऔँला । प्रचण्ड र बाबुराम हाम्रो सपनाको हत्यारा हुन भनेर पटक पटक भनेको छु । यो मेरो सत्य भोगाई हो । प्रचण्ड बाबुराम नव धनाढ्य र नव संशोधनवादी धारका प्रतिनिधि पात्र हुन् । म कल्पना गर्छु मैले प्रचण्डको आधुनिक जेलमा निर्मम यातनाहरु भेगिरहँदा पूर्वी चितवनको एउटा जंगलबाट मेरो प्यारो इमानदार कमाण्डर क. दिपक चलाउनेले विद्रोहको आवाज नउठाएको भए, राजनैतिक हिसाबले प्रचण्डका विरुद्ध विप्लवले भीषण वैचारिक युद्ध नलडेको भए मैले अझ कति निर्ममता सहनुपर्ने थियो । त्यो त भन्नै सकिन्न । त्यसरी हामीमाथि अझै कति लुटिन्थ्यो भन्ने अहिले कल्पना मात्र गर्न सकिन्छ । उनीहरु वर्षौ वर्ष आधुनिक लाल बन्दीगृहहरु थापेर ती लालबन्दीहरुको पसिना लुटिरहन्थे । उनीहरुलाई देखाएर कति लुटपाट गरिन्थ्यो होला । तर, क. दिपकले ब्यारेकभित्रै लडेको लडाइँ र क. विप्लवले पार्टीमा लडेको वैचारिक लडाइँका कारण उनीहरुले लामो समय लुटिरहन सक्ने स्थिति देखेनन् । ब्यारेकमा विष्फोट आफ्ना लागि घातक बन्ने देखेर हतार हतार ब्यारेकलाई सिध्याउने खेलतिर लागे । अपमानित गराएर सेना समायोजन गराउन आफै हतारिए । उनीहरुलाई इतिहासले शान्त मनले बाँच्न कहिल्यै दिने छैन ।
२०६८ मा म मेरो पुस्तकको काममा काठमाडौं गए । तत्कालीन (माओवादी) का वरिष्ठ उपाध्यक्ष क. किरणलाई भेटे । पछिल्लो राजनैतिक घटनाक्रम र मेरो पुस्तकको बारेमा छलफल गर्दै गर्दा पार्टी भित्रको अन्तरसंघर्षका पाटाहरु बाहिर आइसकेका थिए । काठमाडौं बसिरहँदा क. करिण र मेरो दोस्रो भेट एउटा साहित्यिक कार्यक्रममा भयो । त्यहाँ पत्रकारहरुको ठूलो जमात थियो । तर, त्यतिबेला प्रचण्डका भ्रष्ट जर्नेलहरुले मेरो पिछा गरेका रहेछन् । मलाई को कोसँग भेट्छ, कता कता जान्छ भन्ने चियोचर्चो गरिरहेका रहेछन् । जुन कुरा मलाई पत्तो नै भएन । जब म काठमाडौंबाट ब्यारेकमा फर्के । त्यसपछि थाहा भयो उनीहरुले मलाई ब्यारेकबाट हिडेदेखि नै पिछा गरेका रहेछन् । को को नेताहरुसँग भेट गर्यो भन्ने सबै दृष्य उनीहरुले नै फुकाए । अनि चर्को मानसिक यातना दिन थाले । क. किरणलाई भेटेकै निहुमा म सम्पूर्ण हैसियतबाट तीन महिना कारवाहीको भागेदार भए ।
समयले आफ्नो रफ्तार बदल्दै गयो । समयको रफ्तारसँगै हामी पनि बग्दै थियौं । सँगै खाएका सँगै लडेका हिजो एउटउै ओछ्यानमा रात बिताएका केही साथीहरु हाम्रा जेल जर्नेल भएर हप्की र धम्की दिँदै हिडिरहेका थिन् । म आफै अचम्मित भएको थिए । ब्यारेकमा जो जो ले प्रचण्डका बारेमा अन्धाधुन्ध बढाइचढाइ गरेर गुणगान गाउथे, उनीहरुलाई भने मस्ती थियो । उनीहरुले जे चाह्यो त्यो गर्थे । तर, पार्टी, क्रान्ति, विचारका कुरा जो जो ले गथ्र्यो ती सबै मानसिक यातनाका शिकार हुन्थे । उनीहरुमाथि नाकाबन्दी लगाइन्थ्यो । उनीहरुमाथि निगरानी राखिन्थ्यो । उनीहरुलाई घेराबन्दी गरिन्थ्यो । यतिसम्म कि उनीहरुको भौतिक जीवनलाई ने अन्तिम धरापमा पर्ने खतरानाक खेल खेलिन्थ्यो । तर, हामी गलेनौ । दुईवटै खुट्टा गुमाएका घाइते योद्धा पर्वत जस्ताको अन्तिम संघर्षले हाम्रो विचारलाई मार्ने हिम्मत गर्न सकेनन । त्यस्ता मानसिक यातनाले उनलाई छोएन । उनी अडिग रहे । हामी सबै अडिग रह्यौ । ब्यारेकमा भएको भ्रष्टाचार, ब्यारेकमा हुने अवैध धन्धाको मैले एक एक हिसाब राखेको छु । कुनै दिन त्यो म सार्वजनिक गर्नेछु ।
खेल अन्तिममा पुग्यो । महान् जनमुक्ति सेनाको इतिहास मेटाउन प्रचण्डहरु लागिपरेकै थिए । जब युएनले अन्तिम इच्छाशक्तिको बारेमा सोध्न थाल्यो । अनि क्रान्ति पक्षधर सिपाहीमा ह्वीप जारी भयो । ह्वीप जारी गर्दै तत्कालीन डिभिजनका जर्नेलहरुले आफ्नो धम्कीयुक्त कासन सुरु गर्न थाले । ‘सबैले समायोजन रोज्नुपर्छ । कोही पनि यो सेनाको घेराबाट बाहिर जान पाउँदैन ।’ भनेर धम्की दिन थाले । तर, यस्ता कासनको हामीले कुनै वास्ता गरेनौ । हामीले क्रान्तिको झण्डालाई सगरमाथाको देशमा फहराइ छाड्ने लक्ष्यका साथ आफ्नो अस्तित्वको लडाई सुरु गर्यौ । क्रान्तिको यात्रा रोजेकै कारण म लगायत १३ जना योद्धालाई चार घन्टा फेरि बन्दी बनाइयो । समायोजन रोज्न बाध्यकारी फरमान जारी गरियो । अहिले नै नाम नखोलौं । प्रचण्डका एक जर्नेल, कुनै समय मेरा हितैसी मित्र, मेरा पूर्व प्रिय कमरेड, जो अहिले नेपाली सेनाको मेजर भएर जीवन धानिरहेका छन्, ले त्यस्ता फरमान र धम्की जारी गरिरहे । यद्यपी म उनको व्यक्तिगत जीवनमा असर पुर्याउन चाहन्न । उनको त्यो ह्वीप, फरमान र धम्कीका अगाडि हामी डराएनौ । उनीहरुले निरन्तर मानसिक यातना दिए तर वर्गमुक्तिको निम्ति हिडेका हामी सिपाहीका निम्ति त्यस्ता वेमौसमी फरमानहरुले असर गरेन ।
लाजिम्पाट र कोटेश्वरका आलिशान महलहरु त्यसै बनेका होइनन् । त्यतिकै फोडिएका होइनन् चुनावी अभियानमा ह्वीस्की र बियरका बोतलहरु । त्यो सबै सबै एउटा सच्चा सिपाहीलाई पाँच वर्ष ब्यारेक रुपी आधुनिक जेलमा बसालेर उनीहरुलाई बेचेर लुटिएको हो । मैले हिसाब राखेको छु कि त्यतिबेला एक जना सिपाही बराबर १,२६,००० (एक लाख छब्बीस हजार) लेवी भनेर लुटिएको रकम हो त्यो । त्यसको सत्यता खोज्न किन प्रयास गरिदैन ? एउटा क्रान्ति समर्थक योद्धाको यो आवाज नसुनिएको हो कि नबुझेझै गरिएको हो । यसको निसाफ खोज्न म मेरो पुस्ताको निम्ति निरन्तर लडिरहने छु ।
अन्तमा, अन्यायले पिल्सिएको मेरो आत्मा स्वतन्त्र रोजाईको बाटोमा जाँदै गर्दा कति रातहरु कष्ठकर भए । कति साथहरु विछोडिए । मेरो मनले हार्न मानेको छैन । मेरो सहयात्रीले फेरि एउटा नयाँ क्रान्तिको थालनी गरिसकेका छन् । त्यसको बाटोमा तालबन्दका बन्दी सिपाहीले हिड्नै पर्नेछ । एकीकृत क्रान्तिको झण्डालाई सगरमाथामा अवश्य पुर्याइनेछ । यो म मात्र बोलेको होइन । मेरो पुस्ता बोली हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु