खतरामा नेपाली स्वाधीनता – पृथीछक वुढा मगर

२०७२ चैत्र २७ गते, शनिबार

समस्या छ, दुःख छ । पीडा छ । निरासा छ । समग्रमा यहि भनौं, समस्या, दुःख, पीडा र निरासाको एक मुष्ठ नाम हो, नेपाल । यही लाग्छ । आज यही शब्दहरुको पर्याबाची बनेको छ मेरो देश । यही शब्दहरुको बीचमा म मेरो देश खोजिरहेको छु । लाग्छ, यो कतै न कतै हराइरहेको छ । कतै न कतैबाट अपहरण भइरहेको छ । कतै यो राजाहरुको नामबाट अपहरण हुन्छ । कतै यो पन्चेहरुको नामबाट अपहरण हुन्छ । कतै यो बहुदलहरुको नामबाट अपहरण हुन्छ । आज सतहमा आएको कुराचाहिँ, मेरो देश त बिदेशीहरुले अपहरण गर्ने दुष्प्रयास गरिरहेका रहेछन् । आज यो चरितार्थ भएर आएको छ । भाइ फुटे गवार लुटे, आज टुटफुट र गुटबन्दीमा हामी अल्झिरहेका छौँ । स्वार्थमा अल्झिरहेका छौँ । हाम्रै अगाडि देशको अस्मिता धरापमा परिरहेको छ । नेपाल र नेपालीको सार्बभौम खतरामा परिरहेको छ । अब देशको स्वार्थलाई प्राथमिकतामा राख्ने बेला आएको छ । त्यसमा कुनै शंका छैन । आमसच्चा नेपालीहरुले छातीमा हात राखेर गम्भीर भएर सोच्ने बेला आएको छ ।
७ सालको क्रान्तिकालदेखि आजको मधेस आन्दोलनसम्मको कडीहरुलाई नजिकबाट अध्ययन गरेर हेरियो भने कुनै न कुनै रुपमा भारतको भूमिका रहँदै आइरहेको छ । चाहे त्यो सात सालको क्रान्तिलाई उचाई दिने काममा होस्, चाहे त्यो १७ सालको कुरा होस्, चाहे त्यो ४६ सालको कुरा होस्, चाहे त्यो ६२–६३ को जनआन्दोलको परिघटना होस्, कुनै न कुनै रुपमा भारत आफ्नो भूमिका खोज्दै आइरहेको छ । विभिन्न अबरोधका बाबजुद पनि जब संविधानसभाबाट संविधान घोषणा भयो, तब भारत चिढियो । किनभने उसले खोजेको जस्तो भूमिका पाएन । सानोतिनो कुनै पनि परिवर्तनमा पनि उ आफ्नो भूमिका रहेको भन्ने भान पार्न चाहन्छ । भारत यही सोचिरहेको छ, मानौं, नेपाली जनतालाई आफ्नो देशको बारेमा निर्णय गर्ने अधिकार छैन । भारत यही चाहेको होइन ? के भारतले नेपाललाई आफ्नो औपनिबेश बनाउन चाहेको हो ? के भारत नेपाललाई भुटान बनाउन चाहेकै हो ? के भारत नेपाललाई सिक्किम बनाउन खोजेको हो ? यही प्रश्नहरुलाई गम्भीर भएर अध्ययन गर्ने हो भने हामी प्रष्टसँग भन्न सक्छौं, हो भारत नेपाललाई आफ्नो वसमा राख्न चाहेको हो । नेपाल राष्ट्रको अस्मिता खतम बनाउनै चाहेको हो । उसको हर्कतले यही निष्कर्ष दिन्छ । उसको कदमले यही प्रमाणित गर्छ । इतिहास यही बोलिरहेको छ । जनताले कहिले यसको लेखाजोखा गर्छ ?
नेपालको आन्तरिक बिषयलाई लिएर भारत बेलाबेलामा बोलिरहेको छ । चाहे नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताबमा होस्, चाहे त्यो बिकासको कुरामा होस्, चाहे त्यो संविधान बनाउने कुरामा होस्, उ नेपालमा प्रतिकुल अबस्था सिर्जना गर्न किन चाहन्छ ? नेपाल शान्ती क्षेत्र घोषणा भएको खण्डमा भारतलाई के फरक पर्छ ? चिनले नेपालमा फास्ट ट्र्याकको रेल भित्र्यायो भने उसलाई के फरक पर्छ ? नेपालमा संविधान घोषणा भयो त्यसले उसलाई के फरक पर्छ ? के उसलाई नेपाल भित्रको आफ्नो एक छत्र दादागिरि समाप्त हुन्छ कि भन्ने पिरलो लागेको होइन ? कतिपय भारतीय मिडियालगायत नेपाल मामिलाको बिज्ञ मानिने प्राध्यापक एसडी मुनिको लेखले त्यही कुराको प्रमाणित गर्छ । त्यसैले हामी भन्न सक्छौं, हाम्रो दक्षिणको छिमेकी भारतले नेपाल समृद्धि होस् भनेर कहिलै चाहँदैन । नेपाल परतन्त्र रहिरहोस् भन्ने चाहन्छ । नेपाली जनता भिखारी भइरहोस् भन्ने चाहन्छ । बरु नेपाललाई कङ्गाल बनाउन चाहन्छ । नेपालको स्रोत र साधनमा निर्वाद रुपमा भोगचलानी गर्न चाहन्छ । यसको उदाहरण गएको बिहारको चुनावी प्रचारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नदीबाट बिजुली निकालेर बिहार झिलिमिली बनाउने सपना बाधेका थिए । यस्तो लाग्छ, मानौँ, नेपाल राज्य भारतको कुनै यस्तो प्रान्त हो जहाँ भारतको प्रधानमन्त्रीले जे चाहन्छ त्यही गर्छ ।
आज भारत, नेपालसँग नैतिक रुपमा हारिसकेको छ । महिनौँ लामो नाकाबन्दीको बाबजुद पनि नेपाली जनतामा धैर्यता टुटेन । बरु नेपाली सर्बभौमको लागि खुट्टा नकमाउन देशका नेतृत्वहरुलाई खबरदारी गरे । उसलाई लागेको थियो । नेपाललाई नाकाबन्दी ग¥यो भने स्वतः त्यहाँ बिद्रोह उठ्ने छ । नेपालीको बिरुद्धमा नेपालीलाई प्रयोग गर्न सकिने छ भन्ने थियो । तर, जनतामा झन् भारतीय शासकको विरुद्ध घृणाको बीउ टुसाउन थाल्यो । उ असफल भयो । जब उ आफ्नो योजनामा स्खलित भयो तब उ फेरि विश्वसमुदायलाई गुहार मागिरहेको छ र नेपाल राष्ट्रमाथि दबाब दिन पछिल्लो चरणमा भारत इयुको संयुक्त बैठक पछि जारी ४० बुँदे बक्तब्यको १७ औं बुँदामा नेपालको संविधानको बारेमा उल्लेख हुनुले भारत पराजित भएको बिश्लेषण गर्न सकिन्छ ।
ठीक छ, तराईमा आन्दोलन छ । तराइको आन्दोलन जायज छ । यसमा सबैको ऐक्यबद्धता हुनुपर्छ । समर्थन हुनुपर्छ । त्यो नेपाली जनताको आन्दोलन हो । त्यो आन्दोलन नेपाल र नेपालीसङ्ग जोडिएको प्रश्न हो । तर त्यसमा भारतको टाउको किन दुख्छ ? त्यसमा भारत घुस्न किन खोज्छ ? रोटी बेटीको सम्बन्ध देखाएर भारतले तराईमा जुन रडाको मचाइरहेको छ यो कुनै सच्चा नेपालीको लागि सह्य हुने कुरा कदापी होइन । आन्दोलन सही थियो, वास्तविक जनताको माग जायज थियो । जब भारत त्यो आन्दोलन भित्र घुसपैठ गर्न थाल्यो तब वास्तविक जनताले मधेसको आन्दोलनको पृष्ठभूमि माथि नै प्रश्न खडा हुने स्थिति आएको छ । त्यसैले वास्तविक मधेसको मागहरु ओझेलमा पर्न गएका छन । त्यहाँ भारतको स्वार्थलाई प्राथमिकतामा राखेर आन्दोलन हुन थालेको छ ।
केही दिन पहिले मात्रै लैनचौरमा बोलाएर भारतिय राजदुत रन्जित रेले मधेसी दलका नेताहरुलाई आन्दोलन के हुँदै छ म ? भनी जिज्ञासा राखेका थिए । जुन देशमा बिदेशी राजदूतले देश भित्र आन्दोलन गर्न उस्काउँछ भने अब नेपाली स्वाधीनता कहाँ बच्यो ? प्रश्न सोध्ने कि नसोध्ने ? यसतर्फ सोच्ने कि नसोच्ने ? मधेसी आन्दोलन भित्र घुसपैठ भएको छ भन्न पाउने कि नपाउने ? यो आन्दोलनलाई बिखन्डनकारी आन्दोलन भन्ने कि नभन्ने ? केही बर्ष पहिले भारत, मधेसी दलका नेता र स्वातन्त्र तराईको लागि हतियार उठाउने चेतावनी दिइरहेकी डा. सिके रावतहरुको संयुक्त बैठकले बनाएको ‘ग्याम प्लान’ जुन हल्लाको रुपमा बाहिर पनि आयो, त्यो ‘ग्याम प्लान’ कतै साँचो हो कि भन्ने कुरामा पनि बल पुग्न जान्छ ।
अहिले भारत भित्र भित्रै गम्भीर खेल खेलिरहेको छ । केही दिन पहिले लैनचौरको चियापान पछि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवालको भिआईपी ग्रुप भारत पसेको हल्ला छ । उ भारत किन जान्छ ? कुनै कार्यक्रममा पुर्व राष्ट्र अध्यक्षको हैसियतले भारतले पुर्व राजा ज्ञानेन्द्रलाई विशेष निमन्त्रणा पठाएको छ भनिन्छ । हिजो आज कँग्रेस सभापति शेरबहादुर देउवा उसको पत्नी आरजु राणा देउवाको उपचारको निहुँ पारेर भारत छिरेका छन् । ती तमाम कुराहरुबाट के बुझ्न सकिन्छ भने भारत नेपालमा केही अनिष्ट ल्याउन चाहेको छ । यस्तो अबस्थामा नेपालमा नेपालीको विरुद्ध नेपाली नै प्रयोग हुँदै आइरहेको बिगतका तितो सत्यलाई स्मरण गर्दै फेरि त्यही इतिहास नेपालमा दोहरिने छ भन्ने कुरा आमदेशभक्त नेपालीहरुले बुझ्न जरुरी छ ।
त्यसैले देश दुखिरहेको बेला, देश डुविरहेको बेला, देश रोईरहेको बेला, देश चिच्याइरहेको बेला अब देश भित्रका सम्पूर्ण दक्षिण र उत्तरपन्थी भनिएका दल र दलका नेतृत्वहरु एकपटक फेरि भबिष्यको भयानक षड्यन्त्रको सामना गर्न आआफ्नो निजीवाद, तन्त्र, स्वार्थलाई त्यागेर नेपाली सार्बभौम र स्वाभिमानको रक्षाको लागि एकजुट भएर उभिने समय आएको छ । नेपाली जनता आफ्नो लागि आफैँ निर्णय गर्न सक्षम छ भन्ने सन्देस बिश्व समुदायलाई प्रमाणित गरेर देखाउने चुनौती इतिहासले फेरि एक पटक हाम्रो काँधमा ल्याएर जिम्मा दिएको छ । जसलाई हामीले मन र कर्मले प्रमाणित गरेर देखाउन सक्नु पर्छ, तब नेपाली हामी नेपाली भएर बाच्न सक्ने छौँ । नत्र निकै ढिलो हुने निश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु