लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

२०७२ चैत्र १८ गते, बिहीबार

काठमाडौं, १८ चैत । लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु समुद्री बाटो हुँदै डुंगा चढेर राजधानी त्रिपोली पुगेका हुन् ।
राजधानी त्रिपोली कब्जामा लिएर शासन गर्दै आएका खालिफा घवेलको समुहले पछिल्ला केही दिन त्यहाँको हवाई क्षेत्र बन्द गरिदिएपछि नेताहरु समुद्री बाटो हुँदै त्रिपोली पुगेका हुन् ।
पूर्व शाशक मुआमार गद्दाफीको पतनपछि गृहयुद्धमा फसेको लिबियाका विभिन्न शहर अहिले अलग अलग समुहको नियन्त्रणमा छन् । राजधानी त्रिपोली शक्तिशाली लडाकु समुहको नियन्त्रणमा छ भने तटीय शहर तोब्रुकमा अर्कै प्रशासन अस्तित्वमा छ ।
हिंसा अन्त्यको प्रयास स्वरुप संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गत डिसेम्बरमा संयुक्त सरकार बनाउने सहमती भएको थियो । सहमती अनुसार प्रधानमन्त्री फायज सराजको नेतृत्वमा ९ सदस्यीय राष्ट्रपतिय परिषद् गठन गरियो ।
अधिकांश विद्रोही समुहका नेताहरुले सहमति जनाएको उक्त सम्झौता कार्यान्वयनमा आउनुपुर्व नै केही लडाकु समुहले असन्तुष्टी जनाएका थिए । अहिले तीनै असन्तुष्ट पक्षलाई हटाएर प्रधनमन्त्री सराजको नेतृत्वमा रहेको परिषद्लाई लिबियाको प्रशासनिक जिम्मेवारी सुम्पिने प्रयास भइरहेको छ ।
समुद्री बाटो हुँदै त्रिपोली पुगेका प्रधनमन्त्री सराजको टोली जल सेनाको आधार शिविरमा बसीरहेको छ ।
उता त्रिपोलीको लडाकु समुहले भने राष्ट्रसंघको समर्थन प्राप्त सरकारका शीर्ष नेताहरुलाई आत्मसमर्पण गर्न वा जहाँबाट आएको हो, त्यही फर्किन चेतावनी दिएको छ । त्रिपोली कब्जा गर्ने प्रयासमा त्यहाँ हिंसा फैलिने सम्भावना बढ्दै गएको छ । – एजेन्सी

प्रतिक्रियाहरु