सार्वजनिक पार्कमा विस्फोट , ६९ जनाको मत्यु

२०७२ चैत्र १५ गते, सोमबार

काठमाडौं, १५ चैत । पाकिस्तानको लाहोरस्थित एक सार्वजनिक पार्कमा विस्फोट हुँदा ६९ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन सयभन्दा धेरै घाइते भएको सरकारी अधिकारीले जनाएका छन् । पञ्जाव प्रान्तको राजधानी लाहोरको गुलशन इकबाल पार्कको गेटनजिक मानिसहरुको भीड भएको स्थलमा हिजो साँझ विस्फोट गराइएको हो । बिदा मनाउन मानिसहरु भेला भएको स्थानमा विस्फोट गराउँदा मारिनेमा महिला र बालबालिका धेरै छन् ।
पाकिस्तानस्थित तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । लाहोर शहरको बीच भागमा रहेको पार्कमा आइतबार सार्वजनिक बिदा भएकाले धेरै परिवार आफ्ना बालबालिकासहित त्यहाँ पुगेका थिए । आत्मघाती विस्फोटमा सातदेखि १० किलो विस्फोटक पदार्थ प्रयोग गरिएको प्रहरीले जनाएको छ । विस्फोट लगत्तै भागदौड मच्चिँदा धेरै बालबालिका आफ्ना आमाबाबुबाट छुट्टिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
पाकिस्तानका राष्ट्रपति मम्नून हुसैनले घटनाको भत्र्सना गरेका छन् । पञ्जाब राज्य सरकारले तीन दिने शोकको घोषणा गरेको छ । घटनालगत्तै पार्क क्षेत्रमा भीड नियन्त्रण तथा सुरक्षाका लागि सेना परिचालन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु