पत्रकार सम्मेलनमा कुकुर !

२०७२ चैत्र ११ गते, बिहीबार

काठमाडौं, ११ चैत । बेलायती संचारमाध्यमहरुमा एउटा कुकुरले राम्रै स्थान पाएको छ । वियोगमा रहेको उक्त कुकुरका बारेमा अधिकांश बेलायती संचारमाध्यमले समाचार प्रकाशित गरेका छन् । रोब र भिक्टोरिया दम्पत्तीले पाल्दै आएको सो कुकुरले वियोग सामना गरिरहेको छ । ती दम्पत्तीले पत्रकार सम्मेलन गर्दै उक्त कुकुरका पीडा सार्वजनिक गरेका हुन् । ६ हप्ता उमेरको सो कुकुरसहित एकै बेतका पाँच कुकुर चोरी भएका थिए । तीमध्ये एउटा फेला परेको छ । बाँकी चार कुकुर अझै बेपत्ता छन् । जसले गर्दा फेला परेको उक्त कुकुरले पनि एक्लो महसुस गरिरहेको हो । पत्रकार सम्मेलनमा ती दम्पत्तीले हालै फेला परेको उक्त कुकुरलाई पनि सामेल गरेका थिए ।
रोबले पत्रकार सम्मेलनमा भने, ‘६ हप्ताको कुकुर आफ्नो आमासँग बिछोडिएर बस्न सक्दैन, एउटा कुकुरका लागि आमासँग बिछोडिने समय त्यो होइन ।’ उनले कुकुर चोरी भएको घटना आफूहरुका लागि निकै पिडादायी भएको बताए । फ्रेङ्की नाम दिइएको सो कुकुर पत्रकार सम्मेलनमा निकै गम्भीर मुद्रामा सहभागी भएको थियो । फ्रेन्च बुलडग जातको बेपत्ता अन्य चार कुकुरको व्यापक खोजी भइरहेको छ ।
प्रहरीले चोरीमा संलग्न भएको आरोपमा संदिग्ध दुईजनालाई गिरफ्तार गरी सोधपुछ गरिरहेको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु