पशुपती क्षेत्रका कुकूरको बन्ध्याकरण गरिदै

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं, ११ फागुन । यस बर्ष महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा छाडा कुकूरको जोखिम नहुने भएकोछ । पशुपतिनाथ मन्दिर परिसरमा रहेका करिब २ सय पचास भन्दा बढी छाडा छोडिएका कुकूरहरु अहिले स्वस्थ हुँदै छन । अहिले पशुपति मन्दिरस्थित पशुपति वृद्धाश्रममा एक प्राविधिक टोली, शिवीर खडा गरी तीन दिनदेखि छाडा छोडिएका कुकूरहरुको स्वास्थ्यको लागि खटिएको छ । सो टोलीले छाडा कुकूरहरुलाई पशुपति वृद्धाश्रमभित्र ल्याइ रेविज विरुद्धको खोप र बन्ध्याकरण गर्ने अभियान चलाउँदै आएको छ । टोलीले भाले र पोथी दुवै प्रकारका कुकूरहरुलाई बन्ध्याकरण गर्दै आइरहेको छ । कार्यक्रमका आयोजक हाडकोर संस्थाका निर्देशक एवं कार्यक्रम संयोजक खगेश्वर भट्टराइले भने, सो कार्यक्रमको मुख्य उद्देश्य भनेको पशुपति मन्दिर क्षेत्रभित्र भ्रमणमा आउने दर्शनार्थी तथा पर्यटकहरुलाई सडक कुकूरसंगको भयबाट मुक्त गर्नु हो । नजिकिँदो महाशिवरात्रीमा लाखौ दर्शनार्थीहरुको घुइचो लाग्ने पशुपति क्षेत्रमा छाडा कुकूरको टोकाइ र यसबाट हुने जोखिम न्यूनीकरणका लागि अहिलेदेखि नै यो अभियान सञ्चालन गरिएको भट्टराइले बताए । उनका अनुसार पशुपति क्षेत्रमा रहेका सडक कुकूरको संख्या न्युनीकरण गर्न नसकिएपनि ती कुकूरहरुलाई स्वस्थ बनाइ त्यहाँको वातावरण स्वस्थ र सुरक्षित राख्नका लागि सो कार्यक्रम एक सुरुवात हो ।
शनिबारबाट सुरु भएको सो कार्यक्रमले पाँच दिनसम्म सो अभियान सञ्चालन गर्नेछ । आज सोमबारसम्म आउँदा करीब ६६ सडक कुकूरलाई स्वस्थ र निरोगी पारिसकेको कार्यक्रमले कुल दुइ सय पचास छाडा कुकूरको बन्ध्याकरण गर्ने र खोप दिने लक्ष्य लिएको छ । सो कार्यक्रम पशुपति क्षेत्र विकास कोषको सहयोगमा हिमालयन एनिमल रेस्क्यू ट्रष्ट, एनएडब्लुआरसी, स्ट्याम्प, एचपिसिए तथा एनिमल नेपालको संयुक्त सहकार्यमा भैरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु