सप्तरी विहानैदेखि तनावग्रस्त

२०७२ मंसिर ७ गते, सोमबार

काठमाडौं, ७ मंसिर । हिजो देखि तनाबग्रस्त रहेको सप्तरी आज बिहानैदेखि पुन तनावग्रस्त बनेको छ । हिजो प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि
मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि स्थानीय प्रशासनले लगाएको कर्फ्युको उलंघन गरेर सदरमुकाम राजबिराज, रुपनी, भारदहसहित गाउँ गाउँमा प्रदर्शन चर्काएका छन् । प्रदर्शनकारीले सप्तरीको कोबरसाइन प्रहरी चौकीमा आइतबार राति आगजनी गरेपछि प्रहरी भागेर सदरमुकाम पुगेका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेर घरेलु हतियारसहित प्रदर्शन गरिरहेका छन् । जिल्ला सदरमुकाम र राजमार्गमा भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
शनिबार राति प्रहरीको गोली लागि रुपनीमा नागेश्वर यादव, भारदहमा बिरेन्द्र राम तथा धरानमा उपचारको क्रममा हटियाका दिलिप साहको मृत्यु भएको थियो ।
आइतबार नै जिल्ला प्रशासन कार्यालय अगाडि लगाइएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर पर्साहीका शिवशंकर दासको मृत्यु भएको थियो ।
स्थानीय प्रशासनले आइतबार बिहान ६ बजेदेखि सप्तरीको तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले भारदह र रुपनीको पाँचसय मिटर आसपास र सरकारी कार्यालयहरु रहेको राजबिराजको अदालत रोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो । यात्रुबाहक बसको एस्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारी प्रहरीमाथि नै जाइलागेपछि घटेको घटनाबाट अहिले पूरै जिल्ला आक्रान्त बनेको छ ।
यसैबीच , गृह मन्त्रालयले भने घटनामा राम्रो समन्वय गर्न नसकेको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिल मण्डललाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु