सिमा नाका पूर्ण रुपमा ठप्प

२०७२ कार्तिक २१ गते, शनिबार

काठमाडौं, २१ कार्तिक । भारतले सिमा नाका ठप्प परेको छ । भारतले प्रमुख व्यापारिक नाकाहरुबाट मालबाहक सबारी साधन नेपाल पठाउन झन् कडाई गरेको छ । केही नाकाबाट सिमित परिमाणमा मालबाहक गाडी भित्रिएपनि भारतीय डिपोहरुले कम इन्धन दिनुका साथै नाकामै आइसकेका ट्याङ्करहरुलाई पनि सहज प्रवेश नदिंदा पेट्रोलियम पदार्थको आयात ठप्प भएको हो । पूर्वको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट शुक्रबार इन्धन बाहेकका ३३ वटा मालबाहक ट्रक मात्रै नेपाल भित्रिएको मेची भंसार कार्यालयले जनाएको छ ।
भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने मालबाहक सबारी साधनको चेक जांचमा निक्कै लामो समय लगाउने गरेका छन् । पानीट्याङ्की नाकामा ६ सयभन्दा बढी मालबाहक ट्रक र पेट्रोलियम पदार्थ बोकेका ३५ वटा ट्याङ्कर रोकिएका छन् ।
बिराटनगर–जोगबनी नाकाबाट पनि शुक्रबार इन्धन बोकेका एउटा पनि गाडी नेपाल प्रवेश गरेन । यो नाका भएर शुक्रबार मालबाहक ट्रक पनि निक्कै कम मात्रामा नेपाल प्रवेश गरेको छ । भारतीय सुरक्षा बलले नाकामै आइसकेका इन्धनका गाडी पठाउन निक्कै कडाई गरेको बिराटनगर भंसार कार्यालयले जनाएको छ ।
नेपालगञ्ज–रुपैडिहा नाकाबाट शुक्रबार एक दर्जन मात्र मालबाहक ट्रक मात्र नेपाल भित्रिएका छन् । सो नाकामा पेट्रोलियम पदार्थका २५ वटा ट्याङ्कर र डेढ सयको हाराहारीमा मालबाहक ट्रक रोकिएका छन् । भैरहवा–सुनौली नाकाबाट शुक्रबार इन्धन बाहेकका २५ वटा गाडी मात्र नेपाल भित्रिएका छन् ।
यो नाकामा डेढ हजार मालबाहक गाडी र पेट्रोलियम पदार्थका ट्याङ्कर रोकिएका छन् । वीरगन्जमा मधेसी मोर्चाका कार्याकर्ताहरुले भने मितेरी पुलमा धर्ना कायमै राखेका छन् । बीरगञ्ज–रक्सौल नाका भने पूर्ण रुपमा ठप्प छन् ।

प्रतिक्रियाहरु