दसैँमा सुनचाँदी कारोबार न्युन

२०७२ कार्तिक ६ गते, शुक्रबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भएको भए पनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई बिक्रीमा कमी आएको स्वीकारे ।
भूकम्पका कारण सुन तथा गरगहनाको कारोवार ह्वात्तै घटेको भए पनि विस्तारै विवाह, ब्रतबन्ध तथा तिजलगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको थियो । तर विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठ्न सकेको छैन । नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनका अनुसार अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेको छ ।
महर्जनले सुनले नगदकारुपमा मान्यता पाउने हुँदा सर्वसाधारण मानिसले समेत दसैँमा धेरै थोरै गरगहना जोहो गर्ने परम्परा रहेको बताउँदै सुनको मूल्य उच्च हुनु, पैसाको क्रय शक्ति घट्नु, सुन लगाउँदा असुरक्षासमेत हुनेजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै जान थालेको बताए ।
अन्तर्राष्ट्रिय मुद्रा तथा डलरमा सुनको कारोवार र खरिद बिक्री हुने गर्दछ । आवश्यक पर्दा सन्चय गरेको सुन तथा गहना बिक्री गरी विभिन्न काम चलाउनेसमेत गरिन्छ ।

प्रतिक्रियाहरु