भारतलाई अन्तर्राष्ट्रियरुपमा नङ्ग्याउ – राजेन्द्र चिमौरिया

२०७२ आश्विन २४ गते, आईतवार

भारतले नेपालविरुद्ध गरेको अघोषित नाकाबन्दीले दुई साता नाघेको छ । भारतले नाकाबन्दीमा शिखण्डी रुप अपनाएको छ । उसले अन्तर्राष्ट्रिय सन्धि सम्झौता उल्लंघन गरेको नदेखाउन घोषितरुपमै नाकाबन्दी भने गर्न सकेको छैन । नाका क्षेत्रमा मधेशी दलका नेता, कार्यकर्तालाई धर्ना बस्न लगाएर नेपाली सीमा क्षेत्र असुरक्षित रहेको देखाउने र नेपालविरुद्ध अघोषित नाकाबन्दी गर्ने भारतको कुकार्य अन्तर्राष्ट्रिय जगतमा छर्लङ्ग भइसकेको छ । नेपालमा आफ्नो स्वार्थ लाद्न भारतले बिगतदेखि नै पटक–पटक नाकाबन्दी लगाउँदै आएको छ । उसले २०४५ सालमा नेपालविरुद्ध तेह्र महिनाभन्दा बढी समय घोषित नाकाबन्दी नै लगाइएको थियो । त्यस बखत नेपालले आफ्नो देशलाई अन्तर्राष्ट्रिय समुदायसामु ‘शान्ति क्षेत्र’को प्रस्ताव गरेपछि भारतले आफ्नो देशलाई नसोधेर यस्तो गतिविधि गर्न नहुने भन्दै नाकाबन्दी गरेको थियो । यो कुरा देखावटी रुपमा भए पनि भारतले आफ्नो स्वार्थअनुकूल नेपाल नचल्दा नै त्यतिबेला नाकाबन्दी गरेको थियो । अहिले पनि नेपालले नयाँ संविधान भारतअनुकुल नबनाएको झोकमा उसले नाकाबन्दी गरेको छ । अहिले घोषित रुपमा नाकाबन्दी गर्दा अन्तर्राष्ट्रियस्तरको चर्काे बिरोधको सामना गर्नुपर्ने भएकोले उसले अघोषितरुपमा नाकाबन्दी गरिरहेको छ । भारतले बिगतदेखि नै आफ्नो स्वार्थमा बाधा पुग्नेबित्तिकै जतिबेला पनि नेपाललाई दुःख दिने गरेको छ । त्यसैले भारतको यो अघोषित नाकाबन्दीको जनस्तरबाट समेत तीव्र बिरोध शुरु भइसकेको छ । नेपाल भूपरिवेष्ठित देश हो, यसको पनि आफ्नो छुट्टै हक र अधिकार छ । भारतको बाटो हुँदै विदेशी सामान नेपाल आउन दिनु भारतले हामीप्रति देखाएको दया माया र निगाहा होइन, यो हाम्रो विशेष अधिकार हो । विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुले हामीलाई यस्तो अधिकार दिएको छ । हामीले आफ्नो अधिकार प्रयोग गर्नका लागि यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु आबस्यक छ । सरकार अब यस दिशामा अगाडी बद्नै पर्छ । भारतले नेपालप्रति गरेको दादागिरिलाई अन्तर्राष्ट्रिय रुपमा नङ्ग्याउँदै उसलाई पाठ पढाउनै पर्छ । यो समयको माग आजको आवश्यकता र आमजनताको चाहना पनि हो, चेतना भया…. ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु