भारत अन्तर्राष्ट्रिय जगतमै नाङ्गिदै

२०७२ आश्विन २३ गते, शनिबार

नेपालमा अघोषित नाकाबन्दी गरेपछि भारतको छबि अन्तर्राष्ट्रिय जगतमै धुमिल बन्दै गएको छ । नेपाल र भारत दुवै विश्व व्यापार संगठन, साफ्टा र आर्थिक तथा प्राविधिक विकासका लागि बङ्गालको खाडीको पहल (बिम्स्टेक) का सदस्य हुन् । डब्लूटीओअन्तर्गत वस्तु व्यापारसम्बन्धी सम्झौता (ग्याट) को दफा ५ मा भूपरिवेष्ठित राष्ट्रका लागि तेस्रो मुलुकबाट आउने सामानलाई सम्बन्धित देशले रोक्न नपाउने उल्लेख छ । उक्त व्यापारसम्बन्धी सम्झौताको दफा अनुसार ट्रान्जिटमा रहेका सामानमा अनावश्यक ढिलाइ र अवरोध सिर्जना गर्न पाइने छैन । जब कि भारतले तेस्रो मुलुकबाट आउने सामानमा समेत अवरोध र ढिलाइ दुवै गरिरहेको छ । यसरी भारतले नेपालबीच भएका सम्झौतासँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय सन्धिको समेत उल्लंघन गर्दै तीन सातादेखि अघोषित नाकाबन्दी गरे पछि उसको छबि अन्तर्राष्ट्रिय जगतमै नाङ्गिएको छ । भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालतर्फको पारवहनमा मात्र नभई दुई देशबीचको व्यापारमा समेत उसले रोकावट गरिरहेको छ । उसले अन्तर्राष्ट्रिय जगत्लाई देखाउन केही ट्रक छोडे पनि समग्रमा व्यापारलाई अवरोध पु¥याइरहेको छ, जुन कुरा अहिले अन्तर्राष्ट्रिय जगतमा छताछुल्ल भइसकेको छ ।
भारतले दुई देशबीचको पारवहन सन्धिको दफा ६ को पनि उल्लंघन गरेको छ । यस दफाअनुसार तेस्रो मुलुकबाट आएका कुनै पनि सामानलाई बाटोमा अवरोध पु¥याउन पाइने छैन । सोही सम्झौताको दफा २ को ‘ख’मा सुरक्षाको विषय उल्लेख छ । ‘ट्रान्जिटमा भएका सामानले भारतको सुरक्षामा समस्या भए मात्र रोक्न सक्नेछ,’ उक्त दफामा भनिएको छ । तेस्रो मुलुकबाट आउने सामानले भारतलाई कुनै सुरक्षा खतरा छैन । भारतले नेपालमा असुरक्षा भन्दै सामान रोकिरहेको छ । जुन सन्धिको मर्मविपरीत हो । यसले पनि नेपालप्रतिको उसको दुर्नियत अन्तर्राष्ट्रिय जगतमा छताछुल्ल भइसकेको छ ।
संयुक्त राष्ट्रसंघको समुद्रसम्मको पहुँचसम्बन्धी सन्धिले पनि नेपालजस्तो भूपरिवेष्ठित मुलुकलाई समुद्रसम्म पहुँच दिलाउनुपर्ने उल्लेख छ । यसमा समेत भारतले रोकतोक गरेकोले उसको नेपालप्रतिको दादागिरि अन्तर्राष्ट्रिय जगतमा उजागर भएको छ । यसकारण अब भारतले जति दिन नेपाललाई नाकाबन्दी गरिरहन्छ उसको छबि अन्तर्राष्ट्रिय जगतमा त्यति नै गिर्दै जाने निश्चित देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु