भैरहवामा शक्तिशाली बम विस्फोट

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौं, २१ असोज । भैरहवाको गौतमबुद्ध विमानस्थल नजिकै बिहीबार बिहान शक्तिशाली विस्फोटक पदार्थसहितको बम विस्फोट भएको छ । विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा बिहान २ः ३० बजे पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर विस्फोट गराइएको रुपन्देही प्रहरीले जनाएको छ । विस्फोटको आवाज तीन÷चार किलोमिटर वरपरसम्म सुनिएको स्थानीयवासीले बताएका छन् । विस्फोटबाट स्थानीयवासीमा त्रास उत्पन्न भएको छ ।
विस्फोट किन र कसले गरायो भन्ने यकिन नभए पनि जनतालाई आतङ्कित पार्ने उद्देश्यले यो घटना घटाइएको हुनसक्ने रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङको अनुमान छ । विस्फोटक पदार्थ ठूलो आवाज आउने किसिमको भए पनि त्यसले कुनै पनि मानवीय तथा भौतिक क्षति नगराएको प्रहरीले जनाएको छ ।
विस्फोट भएलगत्तै नेपाली सेना र नेपाल प्रहरी घटनास्थल पुगेको थियो । अहिले भने त्यहाँको स्थिति सामान्य बनेको प्रहरीको भनाइ छ । यसअघि पनि घाग्रा खोला नजिकै शक्तिशाली विस्फोटन गराइएको थियो । आफ्ना माग जसरी पनि पूरा गराउनुपर्छ भन्ने उद्देश्यले दुई महिनादेखि आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले विगत केही दिनदेखि सीमा नाकाहरुमा अवरोध गर्दै आएको छ । जसले तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु